Comments Add Comment

सुदूरपश्चिममा हरेक तीन दिनमा चार जनाको आत्महत्या

१६ माघ, धनगढी । मंगलबार धनगढी उपमहानगरपालिका ३ चटकपुरस्थित माया मेट्रो अस्पतालमा कार्यरत स्टाफ नर्स आफ्नै डेरामा मृत भेटिइन् ।

दाङ घोराहीकी २३ बर्षकी स्टाफ नर्स देविका श्रेष्ठको मृत्युको यकीन कारण खुल्न सकेको छैन ।

गत पुस १३ गते पनि धनगढीमा एक जना स्टाफ नर्स मृत भेटिएकी थिइन् । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका १० कि २० बर्षीया सुनम ऐर धनगढी ५ तारा नगरमा आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी थिइन् ।

दुवै स्टाफ नर्सको मृत्युको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले आफूहरू अनुसन्धानमा रहेको बताए ।

‘मंगलबारको घटना आत्महत्या नै हो भन्ने प्रारम्भिक अनुसन्धानले देखिएको छ’ उनले भने, ‘पहिलेको घटना पनि त्यही प्रकृतिको छ । तर, अनुसन्धान जारी रहेको हुँदा केही भन्न सकिँदैन ।’

एक महिनाको अवधिमा धनगढीमै दुई जना स्टाफ नर्सको शव फेला पर्नु सामान्य विषय नरहेको सरोकारवाला बताउँछन् । प्रहरीका प्रारम्भिक अनुसन्धानले भने दुवै आत्महत्या भएको हुन सक्ने जनाएको छ ।

आत्महत्याको अत्यासलाग्दो आँकडा

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलको तथ्याङ्कअनुसार सुदूरपश्चिममा औसतमा प्रत्येक तीन दिनमा चार जनाले आत्महत्या गर्छन् ।

आर्थिक वर्ष २०७३÷०७४ मा चार सय ३२ जना, ०७४/०७५ मा चार सय ९९ र ०७५/०७६ मा पाँच सय तीन जनाले आत्महत्या गरेको तथ्याङ्क प्रदेश प्रहरी कार्यालयसँग छ।

चालु आर्थिक वर्षको हालसम्म दुई सय आठ जनाले आत्महत्या गरेका छन् । प्रदेशमा सबै भन्दा धेरै कैलाली जिल्लामा आत्महत्या हुने गरेको छ ।

चालू आर्थिक वर्षको हालसम्म ९३ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कैलाली जिल्लामा आर्थिक वर्ष २०७४/७५मा दुई सय २ जनाले आत्महत्या हत्या गरेका थिए । गत आर्थिक वर्षमा एक सय ४१ जनाले आत्महत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पछिल्लो छ महिनामा मात्र कैलालीमा ९३ जनाले आत्महत्या गरेको प्रवक्ता बस्नेतले बताए ।

कैलालीपछि कञ्चनपुरमा पछिल्लो छ महिनामा कञ्चनपुरमा ६६ जनाले आत्महत्या गरेका छन् । त्यस्तै बझाङमा १४, बाजुरा र बैतडीमा नौ÷नौ, अछाममा ६, डडेल्धुरामा पाँच र डोटीमा एकनाले आत्महत्या गरेका छन् ।

किन बढ्दै छ आत्महत्या ?

पछिल्लो समय कम उमेरमा पनि आत्महत्याको घटना बाहिर आउन थालेको प्रहरी प्रवक्ता बस्नेतले बताए । ‘कसैलाई धम्क्याउन देखाउनको लागि कम उमेरमा आत्महत्या गर्ने गरेको पाइएको छ’ उनले भने, ‘ती मध्ये केही बाचेका छन् । केहीको मृत्यु हुने गरेको छ ।’

पाको उमेरका मानिसहरूले पनि आत्महत्या गर्न थालेको प्रहरीको भनाइ । ‘विभिन्न समस्याहरूसँग जुध्न नसक्दा त्यस्ता मान्छेहरूले ज्यान गुमाउने गरेका छन्’ उनी भन्छन् ‘कैलालीमा ७० वर्ष उमेरका वृद्धहरूले पनि आत्महत्या गर्ने गरेको पाइएको छ ।’

गरिबी, पारिवारिक र सामाजिक सम्बन्धमा उतारचढाव तथा मानसिक समस्याका कारण आवेगमा आई आत्महत्या गर्ने बढ्दै गएको प्रवक्ता बस्नेतको भनाइ छ ।
आर्थिक, सामाजिक, पारिवारिक, सामाजिक सञ्जालको गलत प्रयोग, लागू औषधको प्रयोग लगायतले आत्महत्या बढाइरहेको कैलाली बहूमुखी क्याम्पसका समाज शास्त्रका प्राध्यापक तिलक बमले बताए ।

‘समाजशास्त्रले आत्महत्यामा व्यक्ति भन्दा पनि समाज दोषी देख्छ’ उनले भने, ‘पारिवारिक समस्याका कारण बढी आत्महत्या भएको पाइएको छ ।’

आत्महत्या न्यूनीकरण गर्न परिवारकै महत्वपूर्ण भूमिका रहने उनी बताउँछन् । त्योसँगै सामाजिक र आर्थिक विभेद अन्त्य, मानसिक समस्याको उपचार, जनचेतना, परामर्श, रोजगारी सिर्जना जस्ता कार्यक्रम ल्याउँदा पनि आत्महत्याको दर घटाउन सकिने उनको विश्वास छ ।

सूक्ष्म अध्ययन नगरेकाले यकीन कारण भन्न नसकिए पनि डिप्रेसनकै कारण आत्महत्या हुने गरेको चिकित्सकहरु बताउँछन् । मनोरोगका कारण आत्महत्या बढ्ने गरेका वरिष्ठ फिजिसियन डा. सुभेषराज कायस्थले बताए ।

‘आत्महत्या एउटा मनोरोग हो’ उनले भने, ‘स्वस्थ मानिसले आत्महत्याको परिकल्पना नै गर्दैन ।’

सामान्यतया डिप्रेसनकै कारण आत्महत्या बढ्ने गरेको उनी बताउँछन् । ‘सामान्य तनावहरू बढ्दै गएर उच्च बिन्दुमा पुगेपछि आत्महत्याको सोच आउने हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment