Comments Add Comment

कालीगण्डकीमा बनेको बञ्जी जम्पको सफल परीक्षण

१६ माघ, पर्वत । पर्वतको कुस्माबजार नजिक हुँदै बग्ने कालीगण्डकी नदीमाथि बनेको विश्वकै अग्लो बञ्जीजम्पको सफल परीक्षण भएको छ । पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिकाको बलेवा जोड्ने गरी कालीगण्डकीमाथि निर्माण भएको पुलबाट २२८ मिटर अग्लो बञ्जीजम्पको श्रीपञ्चमीको शुभसाईतमा बिहीबार सफल परीक्षण गरिएको हो ।

द क्लिफ नेपाल प्रालिले सञ्चालन गरेको बञ्जीमा यसअघि ड्रम पठाएर परीक्षण गरिँदै आएकामा बिहीबार मानिसले नै पहिलोपटक परीक्षण गरेका छन् । बञ्जीका सञ्चालक राजु कार्कीले बञ्जी गरेर परीक्षण गरेका हुन् । बञ्जीजम्प बढी उचाइका कारण बढी रोमाञ्च भएको कार्कीले बताए ।

भोटेकोशी बञ्जी जम्पमा लामो समय काम गरेका कार्कीले उचाई बढी र फराकिलो क्षेत्र भएका कारण कालीगण्डकीमा बञ्जी गर्नुको बेग्लै आनन्द प्राप्त भएको अनुभव सुनाए । कम्पनीले व्यावसायिक रुपमा बञ्जीजम्प खेलाउने काम भने नयाँ वर्षबाट गर्ने भएको छ । “केही कामहरु बाँकी रहेका कारण व्यावसायिक रुपमा जम्प गराउने काम नयाँ वर्षबाट मात्रै गछौँ”, सञ्चालक कार्कीले भने । प्राकृतिक पुलमा निर्माण भएको विश्वकै अग्लो बञ्जीजम्प भएको दाबी सञ्चालकको छ ।

मकाउमा दुई वटा घरका बीचमा गरिने बञ्जीलाई विश्वकै अग्लो मानिएको छ । कालीगण्डकी माथि ५२० मिटर लामो र २२८ मिटर उचाइको सिङ्गल स्पान झोङ्गगे पुल विश्वकै अग्लो र साहसिक पैदलयात्री पुल हो । यो पुलमा बनेको सबैभन्दा अग्लो बञ्जीजम्प, विश्वकै अग्लो लठ्ठामा खेलिने पिङ्ग (स्विङ्ग), विश्वकै अग्लो र नेपालकै एकमात्र तारमा खेलिने (स्काई साइक्लिङ) सञ्चालन गरिँदै छ । कालीगण्डकी पारी बलेवामा सुविधा सम्पन्न रिर्सोट निर्माणको काम भइरहेको छ बञ्जीजम्पमा आउने पर्यटकलाई ध्यानमा राखेर बागलुङको बलेवामा २५ रोपनी क्षेत्रफल जग्गामा ग्ल्याम्पिङ्ग रिसोर्ट सञ्चालनको लागि संरचना निर्माण काम भइरहेको छ ।

रिर्सोटमा सबै जसो कोठाहरु टेन्टबाट बनाइँदै छ । टेण्टबाट सबै बाहिरी दृश्य देखिने गरी निर्माण भइरहेको छ । १० वटा डिलक्स र १० वटा स्टान्र्डड टेण्ट बनाइएको छ । जसमा ६० जनासम्म पर्यटक बस्न सक्छन, खुल्ला चौरमा बस्नका लागि टेण्टहरु राख्ने र त्यसरी ३०० जनासम्म राख्न सकिने कार्कीको भनाइ छ । करिब २० करोडमा रिर्सोटसहितका संरचना सम्पन्न गर्ने लक्ष्य राखिएको सञ्चालक कार्कीले बताए । साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकलाई लक्ष्यित गरी बनाइएको बञ्जीजम्प पर्वतको चिनारी हुने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment