Comments Add Comment

वीरगञ्ज भन्सारबाट छुटेका दुईवटा गाडी धादिङबाट फिर्ता

१६ माघ, वीरगञ्ज । हङकङबाट आयात भएका दुईवटा साना गाडी धादिङबाट नियन्त्रणमा लिएर वीरगञ्ज भन्सार कार्यालय फिर्ता लगिएको छ । साउथ चाइना एक्जिम लिमिटेड वीरगञ्ज भन्सारबाट मंगलबार जाँचपास भएको गाडी धादिङको आदमघाटबाट नियन्त्रणमा लिई रिचेकमा हालिएको हो ।

भन्सारका अधिकारीहरुले गाडी रिचेकमा हाल्ने निधोमा पुगेपछि कर्मचारीले गाडी खोजेका थिए । गाडी नियन्त्रणमा लिन सुरुवातमा एजेन्टलाई सम्पर्क गरियो । उनी मार्फत गाडी ल्याउने कम्पनी श्रीमा डिष्ट्रिव्युशनका सञ्चालक ऋषिकुमार तुल्स्यानलाई सम्पर्कमा ल्याउन खोजिएको थियो ।

तर सम्पर्क कायम हुन नसकेपछि भन्सार कार्यालयले विकल्पको खोजी सुरु गर्‍यो । त्यसपछि सरकारले हालै लागु गरेको भेहिकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) को प्रयोग गरियो । त्यसबाट टेस्ला गाडी बोकेको एनएल ०१ जी ६४८८ नम्बरको भारतीय ट्रकलाई आदमघाटमा ट्रयाक गरेपछि सशस्त्र बललाई नियन्त्रणमा लिन आग्रह गरिएको थियो ।

भन्सार कार्यालयका अधिकारीका अनुसार भन्सार कार्यालयले प्रत्येक दिनको जाँचपासको भोलिपल्ट आन्तरिक लेखा परीक्षण गर्छ । त्यसक्रममा बुधबार टेस्ला गाडीलाई रिचेकमा हालौं न भन्ने निधो भयो । एजेन्टमार्फत आयातकर्ताको खोजी गर्दा गर्दै गाडी सहितको ट्रक वीरगञ्जबाट छुटिसकेको थियो ।

त्रुटि देखिएर नभइ नियमित दुईवटा गाडी रिचेकमा हालिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक ढुण्डी प्रसाद निरौलाले बताए । डकुमेन्टेसन र मुल्यको भेरिफिकेसनका लागि नियमित रिचेक गर्ने गरिएको तर्क उनले गरेता पनि गैरकानुनी रुपमा भित्रिएको आशंका गरिएको छ  ।

‘गाडी रिचेकका लागि कर्मचारी तोकेर काम अगाडि बढाएका छौं । डकुमेन्टेशन पुष्टी हुने आधार भएन भनिएको छ,’ उनले भने, ‘बाणिज्य मन्त्रालयबाट गाडी ल्याउन भनी अनुमति लिएको रहेछ । त्यसैलाई आधार मानेर जाँच पास भएको हो । डिलरको डकुमेन्ट हामीले हेर्दैछौं ।’

प्रमुख भन्सार प्रशासकले जाँचपास भएर एक्जीट हुने वित्तिकै पनि गाडी रिचेकमा हाल्न सक्ने व्यवस्था रहेको उनी बताउँछन् ।  हप्तामा एक/दुईवटा गाडी रिचेकमा हाल्ने गरिएको दाबी उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment