Comments Add Comment

राजाको महलबाट चोरिए ३६ घडी, मूल्य ८ करोड

कुनै राजमहलको सुरक्षा व्यवस्था निकै कडा हुनु स्वभाविकै हो । तर यस्तो कडा सुरक्षामा रहेको राजदरबारभित्रबाटै राजाका ३६ वटा घडी चोरी भए ।

यो घटना अफ्रिकी मुलुक मोरक्कोको हो । मोरक्कोका राजा मोहम्मद छैटौंका ३६ वटा घडी राजमहलबाटै चोरी भए ।

राजाका ती घडी कुनै चानचुने घडी थिएनन् । एउटा घडीको मूल्य २२ लाख रुपैयाँभन्दा धेरै पर्दछ ।

राजाका करोडौंका घडी चोरेको आरोपमा राजदरबारमै सरसफाइको काम गर्ने एक महिला पक्राउ परिन् । उनैले घडी चोरेको प्रमाणित भएसँगै उनलाई गत शनिबार १५ वर्षको जेल सजाय सुनाइएको छ ।

४५ वर्षीया ती महिलाको नाम भने खुलाइएको छैन ।

राजदरबारबाट चोरिएका ती घडीहरू खरीद गर्ने सुन व्यापारीलगायतका १४ जना व्यक्तिहरूलाई समेत ४–४ वर्षको जेल सजाय भएको छ । अदालतमा सुनुवाइका क्रममा ती महिलाले दरबारको घडी चोरेको तथा अन्य १४ जनाले ती महिलाबाट चोरीका घडी किनेको स्वीकारेका थिए ।

समाचार अनुसार, ती महिलाले राजदरबारबाट घडी चोरेर त्यसलाई घरमा लगी पगालेर त्यसमा जडित बहुमूल्य पत्थरहरू निकालेकी थिइन र ती पत्थरहरू सुन व्यापारी तथा अन्य व्यक्तिहरूलाई बेचेकी थिइन् । त्यसरी कमाएको रकमबाट ती महिलाले लाखौं रुपैयाँको गल्फ खेल्ने चौर नै खरीद गरेकी थिइन् । साथै आफ्नी बहिनीको नाममा एउटा अपार्टमेन्टसमेत किनेकी थिइन् ।

स्मरणरहोस् मोरक्कोका राजा मोहम्मद छैटौं लग्जरी घडी लगाउने, महँगा पेन्टिंग खरीद गर्ने तथा नयाँ कारमा घुम्नका लागि सौखिन छन् । सन् २०१८ मा उनको एउटा तस्वीर भाइरल बनेको थियो, जसमा उनले त्यस समय झण्डै १४ करोड रुपैयाँ बराबरको मूल्य पर्ने घडी लगाएको देखिएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment