 
																			१७ माघ, चितवन । चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग जुटाउन गर्न लागिएको वृहत धनधान्याचल महोत्सव–२०७६ को तयारी अन्तिम चरणमा पुगेको छ ।
महोत्सव मूल आयोजक समितिले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । माघ १९ गतेदेखि २६ गतेसम्म रंगशाला निर्माण परिसरमा नै वृहत धनधान्याचल महोत्सव–२०७६ आयोजना गर्न लागिएको हो । जनस्तरको सहयोगबाट निर्माण गर्न लागिएको रंगशालालाई थप आर्थिक सहयोग जुटाउन र क्रिकेट रंगशाला निर्माणमा सबैलाई अपनत्व हुने गरी माहोल बनाउन महोत्सव आयोजना गरिएको प्रदेश सांसदसमेत रहेका महोत्सव संयोजक विजय सुवेदीले जानकारी दिए ।
पण्डित दीनबन्धु पोखरेलबाट वाचन हुने श्रीमद्भागवत माहापुराणमा भजनकिर्तनका साथमा विविध धर्मका आध्यामिक प्रवचन, सामाजिक, सांस्कृतिक मनोरञ्जानात्मक कार्यक्रम राखिएको संयोजक सुवेदीले जानकारी दिए ।
महोत्सवलाई सफल पार्न १ हजार १ सय ११ सदस्यीय मुल समारोह समिति, सो समिति मातहत ५९ वटा विभिन्न उपसिमित र २ सय ८३ सदस्यीय सचिवालय गठन गरी तयारी थालिएको छ । चितवनका ७ र नवलपुरको एक स्थानीय तहका प्रमुखहरुको नेतृत्वमा स्थानीय तह स्तरीय समिति, हरेक वडामा वडाध्यक्षको नेतृत्वमा वडास्तरीय समिति, टोल विकास संस्थाका अध्यक्षहरुको नेतृत्वमा सहयोग समिति गठन गरी हरेक घर र हरेक ब्यक्ति समक्ष रंगशाला निर्माणको प्रचारप्रसार र सहयोगको लागि अपिल गरिएको संयोजक सुवेदीले जानकारी दिए ।
उद्योग बाणिज्य महासंघ, उद्योग संघ, उद्योग परिसंघ, एनआरएनए, लायन्स तथा जेसिज लगायत विभिन्न सामाजिक संघसंस्थाहरुलाई केन्द्र मार्फत हरेक जिल्ला तथा त्यस मातहत रहेका निकायलाई महायज्ञमा जोड्ने प्रयास गरिएको मूल आयोजक समितिका महासचिव दिनेश चुकेले जानकारी दिए । देशभरका ७५३ स्थानीय तह र ७७ वटै जिल्लालाई सहयोगका लागि अनुरोध पठाइएको छ । ५० करोड रकम उठाउने लक्ष्य राखिएको महोत्सवमा ७६ लाख खर्च हुने अनुमान गरिएको छ ।
महोत्सवको उद्घाटन विभिन्न २२ विद्याका राष्ट्रिय ख्यातीप्राप्त २२ जना खेलाडीहरूबाट संयुक्त रुपमा माघ १९ गते दिउँसो २ बजे गर्ने कार्यक्रम तय भएको छ ।
उद्घाटन समारोहलाई भब्य बनाउन बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।
धुर्मस सुन्तली फाउण्डेशनको संयोजन तथा भरतपुर महानगरपालिकाको सहयोगमा थालिएको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणले गति लिइरहेको छ । भरतपुर महानगरपालिका वडा नं. १५ मा बनिरहेको रंगशाला करिब ३० हजार मानिस अट्ने क्षमताको हुनेछ । यहाँ क्रिकेट रंगशालाका अलवा फुटवल मैदान र स्टेडियम, अन्तर्राष्ट्रियस्तरको अन्तरकक्ष पौडी पोखरी, भलिवल, बक्सिङ, जुडो, कराँते, तेक्वान्दो, सुटिङ, एथलेटिक्स लगायत २२ विधाका खेल खेल्न मिल्ने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले जानकारी दिए ।
७ प्रदेशको प्रतिनिधित्व झल्कने गरी कमल फूल पत्तासहित ७७ बटै जिल्लाको पहिचान झल्किने कक्षहरूको निर्माण गर्ने योजना छ ।
करिब ३ अर्बको लागत अनुमान गरिएको रंगशालाको अहिले प्याराफिटको पिलर उठाउने र मैदानको काम भैरहेको छ ।
राजनीतिक दलको अपिल
वृहत धनधान्याचल महोत्सव–२०७६ लाई सहयोग गरेर सफल बनाउन चितवन जिल्लामा क्रियाशिल ९ राजनीतिक दलले अपिल गरेका छन् ।
शुक्रबार उनीहरुले एक संयुक्त विज्ञप्ती जारी गर्दै महाअभियानमा उद्योगी, व्यवसायी, संघसंस्था, नागरिक समाजलाई सक्दो सहयोगको अपिल गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष यमबहादुर परियार, कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठ, राष्ट्रिय जनता पार्टीका जिल्ला अध्यक्ष प्र्रेमकुमार श्रेष्ठ, समाजवादी दलका अध्यक्ष प्रेम भुजेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष डम्बर पुरी, राप्रपाका जिल्ला प्रवक्ता डोलकप्रसाद पुडासैनी, राप्रपा संयुक्तका सचिव केशव भण्डारी, नेकपा मालेका जिल्ला सचिव परशुराम लामिछाने र साझा पार्टी चितवन अध्यक्ष भूपेन्द्र बस्नेतले संयुक्त रुपमा विज्ञप्ती जारी गरी रंगशाला निर्माणमा पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएका छन् ।
जिल्लाका ठूला दल नेकपा र कांग्रेसले यो अवधिमा कुनै पनि राजनीतिक कार्यक्रम नगर्ने निर्णय यसअघि नै गरेका छन् ।
 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4