Comments Add Comment

चीनबाट फर्किएका पर्यटकलाई अमेरिका र अस्ट्रेलियामा पनि प्रतिबन्ध

डब्लुएचओ र चीन असन्तुष्ट

१९ माघ, काठमाडौं । अमेरिका र अस्ट्रलियाले चीन भ्रमणबाट फर्केका पर्यटकको प्रवेशमा प्रतिबन्धको घोषणा गरेका छन् । चीनमा कोरोना भाइरसको संक्रमण फैलँदै गएपछि अमेरिका र अस्ट्रेलियाले त्यसबाट बच्न यात्रा प्रतिबन्धको कदम चालेका हुन् ।

अमेरिका र अस्ट्रेलियाले चीनमा भर्खरै गएर आफ्ना देश आउने विदेशीको प्रवेशलाई रोक लगाइएको जनाएका छन् ।

योसँगै चीनबाट फर्केका विदेशीको यात्रामा प्रतिबन्ध लगाउने देशको संख्या ६ पुगेको छ । यसअघि रसिया, जापान, पाकिस्तान र इटालीले पनि यस्तै प्रतिबन्धको घोषणा गरेका थिए ।

भाइरसको जोखिमप्रति सतर्क देखिएका दुवै देशले चीनबाट आफ्ना नागरिकलाई उद्धार गरेर निगरानीमा राखेका छन् ।

डब्लूएचओ बेखुस

चीनबाट फर्किएका विदेशीमाथि यात्रा प्रतिबन्ध लगाउने विभिन्न देशको निर्णयप्रति विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भने असन्तुष्टि जनाएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुखले भनेका छन्, ‘यात्रा प्रतिबन्धको निर्णयले फाइदाभन्दा पनि बढी नोक्सानी हुनेछ ।’

यो कदमले सूचना आदानप्रदानसँगै मेडिकल सप्लाइ र अर्थतन्त्रमै नोक्सानी पुग्ने ठहर डब्लूएचओको छ । यात्रा प्रतिबन्धको साटो सीमा वारपार गर्नेहरूको स्वास्थ्य परीक्षण गर्न डब्लूएचओले सुझाएको छ । सीमा बन्द गरेपछि अनधिकृत रूपमा मानिसहरू प्रवेश गर्न सक्ने र त्यसले झन् भयावह अवस्था सिर्जना हुनसक्ने डब्लूएचओको भनाइ छ ।

यात्रा प्रतिबन्ध लगाउने विभिन्न देशको निर्णयबाट चीन पनि सन्तुष्ट छैन । आधिकारिक निर्णय बेवास्ता गरेर गलत कदम चालिएको चीनको ठम्याइ छ । ‘डब्लूएचओले यात्रा प्रतिबन्धविरुद्ध सिफारिस गरेलगत्तै अमेरिका उल्टो दिशातर्फ जान हतारिएको छ । यो सदभावनाको संकेत होइन,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् ।

चीनको हुबेई प्रान्तमा पर्ने वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल चीनका सबै प्रान्तमा फैलिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो भाइरसका कारण हालसम्म ३०४ जनाको ज्यान गइसकेको छ भने कैयन बिरामी परेका छन् । विश्वका अन्य २२ देशमा पनि कोरोना भाइरसका संक्रमित फेला परेका छन् । कोरोना भाइरसले महामारीको रुप लिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment