Comments Add Comment

सिराहाको सीमा क्षेत्रमा सुरक्षा पोस्ट राख्न भारतको अवरोध

सशस्त्र प्रहरी बल र एसएसबीको फाइल तस्‍वीर ।

१९ माघ, वीरगञ्ज ।  सिराहामा भारतीय सीमा सुरक्षा बल-एसएसबी)ले नेपाली भूमिमा सशस्त्र प्रहरीको डिउटी पोष्ट राख्न रोक लगाएको छ ।

भगवानपुर गाउँपालिका-४ ठाडीस्थित दशगजा नजिकै नेपाली भूमिमा सशस्त्र प्रहरीले बनाउन लागेको बोर्डर आउट पोस्ट (बीओपी) निर्माणमा उनीहरुले अवरोध गरेका हुन् ।

९.१ मिटर दशगजा (नो म्यान्स ल्याण्ड)देखि झण्डै २५ मिटरको दुरीमा सशस्त्र प्रहरीले डिउटी पोष्ट राख्न खोजेको थियो । शनिबार एसएसबीको ए कम्पनी लौकहाका इन्सपेक्टर कूलदीप तिवारी नेतृत्वको टोलीले पोष्ट निर्माणमा अवरोध गरेको थियो ।

दशगजा क्षेत्रको संरक्षण अभियान नै सुरु गरेको सशस्त्र प्रहरीले झण्डै एक महिना अघि एसएसबीले निर्माण गर्न सुरु गरेको पोष्टको काम रोकेको थियो ।

दशगजा क्षेत्रमा उनीहरुले ढलानै गरेर पोष्ट निर्माणको काम थालिसकेका थिए । सशस्त्र प्रहरीले नेपाली भूमिमा पर्ने भन्दै काम रोक्न लगाएका थिए । त्यसपछि उनीहरुले काम रोकेका थिए । दशगजा क्षेत्रमा नै बजार रहेका कारण सीमाका बारेमा त्यस क्षेत्रमा समय समय विवाद हुने गरेको छ ।

त्यहि समयदेखि विवादित बनेको त्यस क्षेत्रमा सशस्त्र प्रहरीले आफ्नो पोष्ट राखेर नेपाली जमिनको सुरक्षा गर्न खोजेको थियो । तर एसएसबीले पोष्ट नबनाउन भनेपछि काम रोकिएको सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले जानकारी दिए ।

‘ठाढीस्थित दशगजा नजिकै नेपाली भूमिमा डिउटी पोष्ट स्थापना गर्न खोजेका थियौं, भारतीय समकक्षी सुरक्षाकर्मीले नबनाउन भनेपछि हामीले काम रोकेका छौं,’ उनले भने, ‘ उनीहरुको दाबीका बारेमा नापी विभागमा जानकारी गराएका छौं । नापीको टोली आएपछि पोष्ट बनाउन हुने/नहुने क्लियर हुन्छ ।’

एक महिनाअघि एसएसबीले ढलान गरेर पोष्ट निर्माण गर्न लाग्दा सशस्त्रले रोकेको बताउँदै उनले फेब्रअरी ४ तारिकमा दुवै पक्षका सरोकारवाला बसेर निकास निकाल्ने तयारी भइरहेको बताए ।

सञ्चारकर्मीलाई क्यामरा नल्याउन धम्की

यस विषयमा समाचार संकलन गर्न गएका नेपाली सञ्चारकर्मीको टोलीलाई समेत एसएसबीका जवानहरुले आइतबार धम्कीपूर्ण व्यवहार गरेका छन् ।

राससकर्मी राजु विश्वकर्मा, एभिन्यूज टेलिभिजनका शुभनारायण कामती र नयाँ पत्रिकाका सुरेन्ऽ कामतीमाथि धम्की दिएका हुन् ।

नेपाली भूमिमा डिउटी पोष्ट बनाउँदासमेत भारतीय सुरक्षाकर्मीले रोकेको विषयमा बुझ्न जाँदा एसएसबीको ए कम्पनी लौकहाबाट सादा पोशाकमा खटिएका जवानले धम्कीपूर्ण व्यबहार गरेको उनीहरुले बताएका छन् ।

एसएसबीका जवानहरुले ‘क्यामरा लिएर किन आएको ? गुप्तचरी गर्न खोजेको हो ? क्यामरा खोसिदिन्छु’ भन्दै धम्र्कीपूर्ण भाषा प्रयोग गर्दै दुर्व्यवहार गर्न खोजेको नयाँ पत्रिका दैनिकका सुरेन्द्र कामतीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment