Comments Add Comment

नेकपा सांसद सुदनलाई किन चाहियो सञ्चारमन्त्रीको राजीनामा ?

१९ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद सुदन किरातीले सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाको राजीनामा मागेका छन् ।

आइतबार प्रतिनिधिसभाको अन्र्तराष्ट्रिय सम्बन्ध समितिमा बोल्दै किरातीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे जथाभावी बोलेको भन्दै सञ्चारमन्त्रीको राजीनामा माग गरेका हुन् । अमेरिकाले चाह्यो भने एक घन्टामा सुलेमानी बनाइदिन्छ भन्ने मन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको उनले बताए ।

बैठकपछि अनलाइनखबरले सांसद किरातीलाई सोधेको थियो, तपाईलाई सञ्चारमन्त्रीको राजीनामा किन चाहियो ?

पहिलो, नेपाल सरकारको आधिकारिक निर्णयहरु सार्वजनिक गर्दा उहाँले जुन शैलीले प्रस्तुत गर्नुहुन्छ, त्यो शैली आम नेपाली जनताले मन पराएका छैनन् । र त्यो सुहाएको पनि छैन उहाँलाई । उहाँले आफ्नो शैली सच्याउनुपर्छ ।

दोस्रो, एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन)को सन्दर्भमा गर्मागर्मी बहस चलिरहेको छ । जनता एकारित छन्, नेताहरु सांसदहरु पनि विभाजित छन् । यो बेलामा जनतालाई स्पष्ट पार्ने गरी विषयहरु प्रस्तुत गर्नुपर्नेमा उहाँले ‘जसरी पनि एमसीसी पास हुन्छ । अमेरिकाले यहाँ सेना राख्दैन । उसले चाह्यो भने केही समयभित्रै हामीलाई ध्वस्त पार्छ । सुलेमानीलाई हानेको देख्यौ नि’ भन्ने ? यस्तो आत्मसर्मपणवादी, लेण्डुपदोर्जे प्रवृतिप्रति आपत्ति जनाउँदै त्यो गरिमामय पदमा बसिरहँदा नेपालकै शिर निहुरिने, नेपालको इज्जत जाने अर्थमा मैले यस्तो (राजीनामा माग गरेको) भनेको हो ।

अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ भने जस्तै विगतमा भएको सन्धि सम्झौताबाट जनता तर्सिएका छन् । एमसीसी के हो भन्ने बुझेको छैनन् । त्यस्तो बेला सरकारका प्रवक्ताले त जनतालाई बुझाउने गरी बोल्नुपर्छ । तर, उहाँको बोल्ने शैली, अभिव्यक्ति पटक्कै सोभनिय छैन, पाच्य पनि छैन ।

तर एमसीसी पास हुनुपर्छ भनेर त अरु मन्त्री र प्रधानमन्त्री स्वयंले भन्नुभएको छ त !

प्रधानमन्त्रीले केन्द्रीय समितिको बैठकमा एमसीसीबारे प्रष्टीकरण जस्तो लामो भाषण दिनुभयो । प्रधानमन्त्री पार्टीको अध्यक्ष पनि हो, पार्टीबाट सञ्चालित र निर्देशित सरकार हुनुपर्छ । फेरि मैले एमसीसी गलत वा सही भनेको पनि छैन । मलाई लाग्छ, यसबारे अझै बहस र अनुसन्धान गर्नुपर्छ र एउटै धारणा बनाउनुपर्छ । जनतालाई पनि बुझाउनुपर्छ । जनताले ‘खबरदार, कुनै हालतमा’ भनिरहेका छन् । उनीहरुलाई एमसीसीबारे बुझाउनु परेन ?

त्यसो हो भने त बोल्ने आआफ्नो शैली हुन्छ । त्यो शैली कसेलाई मन परेन भन्दैमा किन राजीनामा दिने त ?

उहाँको प्रस्तुतीका कारण सरकारले गरेका कतिपय राम्रा कामहरुम समेत विवादित जस्तो भएको छ । ‘हजुरको बुवाको शिर’ भन्नु र ‘हजुरको बाउको टाउको’ भन्नुमा अन्तर हुन्छ कि हुन्न ? आकाश धर्तीको अन्तर छ । उहाँ (सञ्चारमन्त्री) ल ले ‘हजुरको बाउको टाउको’ पनि होइन, ‘तेरो बाउको टाउको’ भन्नुहुन्छ । त्यो छुद्रताले यो सरकारको प्रवक्ताको गरिमा धान्दैन र धानेको पनि छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment