Comments Add Comment

कोराेना र दुर्घटनाले धर्मरायो भ्रमण वर्ष

२० माघ, काठमाडौं । भ्रमण वर्ष २०२० मा वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्य छ । यसमा सबैभन्दा ठूलो भूमिका चीन र भारतबाट आउने पर्यटककै रहन्छ । तर, वर्षको सुरुवातबाटै चीनमा फैलिएको कोरोनाले नेपाल आउने पर्यटकलाई ‘व्यारियर’ खडा गरिदिएको छ ।

सन् २०१९ मा भारतबाट २ लाख ५४ हजार १ सय ५० जना (जहाजबाट आएका मात्र) ले नेपाल भ्रमण गर्दा चीनबाट भने १ लाख ६८ हजार ५ सय ४३ जना पर्यटक आएका थिए ।

नेपालको झण्डै एक तिहाइ पर्यटक छिमेकी दुई मुलुकमा निर्भर छ । तर, कोरोना भाइरसका कारण चीनबाट नेपाल आउने चिनियाँ पर्यटकको आगमन २०२० मा केही खस्किनसक्ने प्रष्टै दृश्य देख्न थालिएको छ ।

सुरुवातमै घटेका घटना तथा चीनमा फैलिएको कोरोना भाइरसले भ्रमण वर्ष धर्मराएको छ

हुन त चीनले भ्रमण वर्षका लागि सरकारीतवरबाटै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । शनिबार चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिमा समेत चीन नेपाल भ्रमण वर्ष सफल बनाउन प्रतिबद्ध रहेको उल्लेख छ । तर, पनि रोगको महामारी फैलिएर विश्वव्यापी जोखिम निम्तिरहेका बेला यस्ता प्रतिबद्धता व्यवहारमा लागू गर्न सहज अवस्था हुने छैन ।

जनवरी महिनामा कति पर्यटक नेपाल भित्रिए भन्नेबारे अध्यागमन विभागले आधिकारिक तथ्यांक सार्वजनिक गरिसकेको छैन । विभाग स्रोतका अनुसार, जनवरीमा भने चिनियाँ नागरिकको संख्या सामान्यमात्रै वृद्धि भएको छ ।

यो महिनामा कूल १३ हजार ९ सय ५८ जना चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१९ को जनवरीमा १३ हजार ६ सय ८८ जना चिनियाँ पर्यटक नेपाल आएका थिए । यो वर्ष झण्डै पोहोरभन्दा साढे ८ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको नेपालका लागि चिनियाँ पर्यटकको यस्तो आगमनदर निराशाजनक हो ।

कोरोनाको असरले आगामी दिनमा चिनियाँ नागरिकको आवागमन खस्कने र त्यसले समग्र भ्रमण वर्ष अभियानमा भने प्रभाव पर्ने निष्कर्षमा सरकार पनि पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक समारोहमा पर्यटन वर्षलाई कारोनाजस्ता प्राकृतिक धक्का लागेको बताइसकेका छन् । चीनसहित विश्वका सबैजसो मुलुक कोरोना संक्रमणबाट बच्नका लागि दौडधुपमा रहँदा घुम्न आउने पर्यटकको संख्या ह्वात्तै बढ्ला भनेर अनुमान लगाउन पनि गाह्रो छ । अब तत्काल चिनियाँ नागरिकहरू विगतजस्तै उत्साहमा विदेश भ्रमणमा निस्कने छैनन् ।

त्यसमाथि चिनियाँ नयाँ वर्ष र उनीहरूको लामो बिदा पर्ने समयमै कोरोना भाइरसको प्रभाव परेको छ ।

डर अफवाहको

पर्यटन क्षेत्रका सरोकारवालालाई अहिले सबैभन्दा ठूलो डर नै सामाजिक सञ्जालमार्फत हुने अफवाहको छ । व्यवसायीसमेत यसमा चिन्तित छन् । ‘नेपाल कोरोनाको संक्रमणबाट सुरक्षित छ, नेपालले पर्याप्त सचेतना अपनाएको छ भन्नेबारे सूचना प्रवाह नै नहुँदा अन्य मुलुकबाट आउने पर्यटकको संख्यामा असर पर्ने हो कि भन्ने चिन्ता छ,’ होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह भन्छन् ।

अहिलेसम्म नेपालमा एक जनामा मात्र संक्रमण देखिएको र उनी पनि उपचारपछि घर फर्किसकेको अवस्थामा नेपाल सुरक्षित गन्तव्य हो भन्नेबारे सुसूचित गराउन पहल भइरहेको उनले जानकारी दिए ।

खासगरी, निजी क्षेत्र र नेपाल पर्यटन बोर्डले अब अफवाह चिर्ने गरी अभियान चलाउने योजना छ ।

टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीसमेत नेपालमा आवश्यकताभन्दा बढी अफवाह फैलिँदा अन्य मुलुकबाट आउने पर्यटकमा समेत असर पर्ने हो कि भन्ने चिन्तमा छन् । त्यो चिर्न सरकारीतवरबाटै पहल हुनुपर्ने उनको सुझाव छ ।

साना होटेलमा घट्दैछन् पाहुना, ठूला होटेलमा प्रभाव छैन

कोरोना फैलिन थालेपछि चीनमा अपनाइएको उच्च स्वास्थ्य सतर्कताका कारण चिनियाँ पर्यटकको बढी रोजाइमा पर्ने साना होटेलहरुमा क्रमशः पाहुना घट्दै गएका छन् । होटेल क्राउन प्लाजाका अध्यक्ष युवराज श्रेष्ठका अनुसार सन् २०२० को प्रारम्भबाटै चिनियाँ पर्यटकमा उत्साहजनक आवागमन देखिएको छैन । त्यसमाथि अग्रिम बुकिङ रद्द गर्ने क्रमसमेत सुरु भइसकेको छ ।

ठूला होटेलमा भने अग्रिम बुकिङ र अक्कुपेन्सी अघिल्ला वर्षहरुमा जस्तै रहेको हानका प्रथम उपाध्यक्ष शाहको भनाइ छ ।

‘हामी कम विकसित मुलुक भएका कारण भाइरसको संक्रमणबाट सुरक्षित हुँदाहुँदै पनि विदेशीले कम विश्वास गर्छन्,’ उनी भन्छन्, ‘त्यसकारण सचेतना र सुरक्षित रहेका खबर बढीभन्दा बढी पठाउने प्रयासमा हामी छौं ।’

त्यसो गर्न नसक्ने हो भने समग्र होटल र पर्यटन व्यवसायमै यसले नकारात्मक असर पार्ने उनको भनाइ छ ।

नयाँ विकल्प खोज्दै सरकार

चीनका पर्यटक भित्र्याउन यो वर्ष गाह्रो रहेको विश्लेषण गर्दै अब सरकारले पर्यटक आवागमन बढाउन वैकल्पिक बजार खोज्ने तरखर भइरहेको बताएको छ । खासगरी नेपालको हवाई सम्पर्क बढी रहेको क्षेत्रबाट बढी भन्दा बढी पर्यटक ल्याएर चीनबाट हुने पर्यटकको कम आगमन परिपूर्ति गर्ने योजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको छ । सोही प्रयोजनका लागि मन्त्रालयले अध्ययन गर्न एक समिति गठन गरेको छ ।

मन्त्रालयका सहसचिव धनश्याम उपाध्याय, पर्यटन विभागका महानिर्देशक दण्डुराज घिमिरे र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी सम्मिलित समितिले चीनको विकल्पका रूपमा विकास गर्न सकिने सम्भाव्य गन्तव्यबारे सरकारलाई सुझाव दिनेछ ।

मन्त्रालयले शनिबार कोरोना भाइरस र यसले पारेको प्रभावबारे सरोकारवालाको बैठक आयोजना गरी यस्तो समिति बनाएको थियो । पर्यटन मन्त्री योगेश भट्टराईले नेपाल आउने पर्यटकको संख्यामा कमी हुन नदिन नयाँ रणनीतिमा जान लागेको जानकारी दिएका छन् ।

नफापेको जनवरी २०२०

त्यसो त भ्रमण वर्ष २०२० का पहिलो महिना ‘जनवरी’को नेपालको पर्यटनबजारका लागि अफाप रह्यो । यो महिनाको प्रारम्भमै अन्नपूर्ण क्षेत्रमा हिउँपहिरो गयो । यस दूर्घटनामा ४ कोरियालीसहित ७ जना अझै हराइरहेका छन् । यसै महिनामा दामनस्थित एक रिसोर्टमा ८ जना भारतीय पर्यटकको निसास्सिएर ज्यान गयो । नेपालको पहिलो स्रोत बजार भारतमा यसले नकारात्मक असर पार्ने हो कि भन्ने चिन्ता भइरहेका बेला लगत्तै एक जना बंगलादेशी नागरिकको काठमाडौंस्थित होटेलमा हत्या भयो ।
यस्ता दूर्घटनाले समग्रमा नकारात्मक खबर फैलिएको भए पनि बुकिङ नै रद्द हुनेगरी पर्यटनमा प्रभाव भने नपरिसकेको निजी क्षेत्रको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment