Comments Add Comment

भ्रमण वर्षको पहिलो महिनामा लुम्बिनीमा पर्यटक घटे

२० माघ, बुटवल । संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को पहिलो महिनामा बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकको संख्या घटेको छ ।

नेपाल भ्रमण बर्षको पहिलो महिना जनवरीमा गत वर्षको तुलनामा पर्यटक आगमन घटेको हो । तेस्रो मुलुकका पर्यटक मात्र नभई भारतीय र नेपाली पर्यटक पनि गत बर्षको जनवरी महिनाको तुलनामा घटेका छन् ।

यो बर्षको जनवरीमा १३ हजार १ सय ७ विदेशीले लुम्बिनी भ्रमण गरेका लुम्बिनी विकास कोषले जनाएको छ । गत बर्षको जनवरीमा १३ हजार ६ सय १९ विदेशीले लुम्बिनी भ्रमण गरेका थिए ।

यति मात्र होइन स्थलमार्ग बेलहिया नाका हुंदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकहरुको संख्या पनि घटेको छ । बेलहियाबाट गत बर्ष जनवरीमा १२ हजार ४ सय ५२ बिदेशी पर्यटक नेपाल आएकामा यस वर्षको जनवरीमा ११ हजार ७ सय ५९ विदेशी पर्यटक नेपाल आएका अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनालले बताए । गत बर्ष १९ हजार १ सय ६८ भारतीय लुम्बिनी आएकोमा यो जनवरीमा ६ हजारले घटेर १३ हजार ९ सय ७८ मा झरेको छ ।

लुम्बिनी पुग्ने नेपाली पर्यटक पनि घटेका छन् । गत बर्ष जनवरीमा १ लाख १० हजार ३ सय नेपाली त्यहा गएकोमा यो बर्ष ६७ हजार ९ सय ४२ मात्रै लुम्बिनी पुगेका लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले जानकारी दिए । लुम्बिनीमा म्यान्मार र चिनिया पर्यटक बढेका छन् भने भारत, थाइल्याण्ड, दक्षिण कोरिया, भियतनाम, जापान, कम्बोडिया लगायतका देशका पर्यटकहरु घटेका छन् ।

प्रदेश ५ मा प्रदेश सरकारले पनि लुम्बिनी भ्रमण वर्ष मनाइरहेको छ । संघीय सरकार र प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम गरे पनि लुम्बिनीमा पर्यटक घटेका हुन् ।

भैरहवा–लुम्बिनी–तौलिहवा सडक निर्माणको क्रममा रहेकाले धुलाम्य सडक र अर्कोतिर चीनमा फैलिएको कोरोना भाइरसको त्रासका कारण पर्यटक आगमनमा कमी आएको हुन सक्ने पर्यटन व्यवसायी सन्जय वजिमयले बताए ।

‘एकातिर सडकको काम चलिरहंदा धुलो र हिलोको समस्या छ’ लुम्बिनी पर्साचोकका होटेल व्यवसायी अक्रम खानले भने, ‘अर्कोतिर दानव र तिनाउमा पप्पु कन्स्ट्रक्सनले अलपत्र छाडेको पूलका कारण पुरानो साँघुरो पुलमा सवारीको जामले यात्रा असहज हुने भएकाले एक वर्षदेखि नै पर्यटक घटिरहेका छन् ।’

सडक निर्माण पूरा नहुँदासम्म लुम्बिनीमा पर्यटक बढ्ने छाँटकाट नदेखिएको उनले बताए । सरकारले चीन र युरोपियन मुलुकलाई मात्र प्राथमिकता दिएको तर भारतीय पर्यटक भित्र्याउन चासो नदिंदा पनि भारतीय पर्यटक घटेको अर्का होटेल व्यवसायी कृष्ण गुरुङ बताउँछन् । लुम्बिनी र भैरहवा जस्ता सीमा क्षेत्रमा भारतीय लक्षित क्रस बोर्डर टुरिजमको प्रचूर संभावना भए पनि सरकारले भारतलाई उपेक्षा गर्दा पर्यटन क्षेत्रमा असर परेको गुरुङले औंल्याए ।

सरकारका नीति नियमहरु पनि पर्यटन प्रवद्र्धनमैत्री हुन नसकेका र विना तयारी र गृहकार्य भ्रमण वर्ष घोषणा गरिएकाले पनि लक्ष्य अनुसार पर्यटक भित्रिन नसकेको सिद्धार्थ होटेल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए । सीमा नाकामा पर्यटकमैत्री व्यवहारको कमी, भारतीयलाई पर्यटकको रुपमा नहेर्नु, यातायात परमिट र भन्सार जांचपास एकै ठाउँमा नहुनु, पांच सय र हजार दरका भारु नोट बोक्न प्रतिबन्ध जस्ता कारणले गर्दा भारतीय पर्यटक घटेका श्रेष्ठले औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment