Comments Add Comment

म्याद सकिएको ७ महिनामा पनि पोखरा रंगशाला अधुरै

२० माघ, पोखरा । गत फागुन २६ गते पोखरा रंगशालाको फुटबल स्टेडियम ४ महिनाभित्रै सक्ने घोषणा गर्दै शिलान्यास भयो । रंगशाला पुननिर्माण ठेक्का सम्झौता भएको २ महिनापछि शिलान्यास गरिएको थियो । शिलान्यास कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले जसरी भए पनि ४ महिनाभित्रै रंगशाला निर्माण हुने दाबी गरेका थिए ।

‘यो रंगशालामा हाम्रो प्रतिष्ठासँग जोडिएको छ । त्यसैले यसलाई निर्धारित समयभित्रै सक्न निर्देशन दिन्छु,’ मन्त्री विश्वकर्माले शिलान्यास कार्यक्रममा भनेका थिए, ‘यसका लागि सहयोग गर्न सरकार तयार छ ।’ तर, असारमै काम सक्ने भनिएपनि म्याद सकिएको १ महिनापछि अर्थात साउनमा आएर बल्ल रंगशाला कस्तो बनाउने भन्नेबारे छिनोफानो भयो ।

सुरुमा खेलकुद मन्त्रालयले ठेकदार कम्पनीसँग सम्झौता गर्दा कृत्रिम मैदान बनाउने विषयमा सहमति भएको थियो । तर, साउनमा आएर त्यसलाई कृत्रिम नभइ प्राकृतिक खेल मैदानकै रुपमा अघि बढाउने पुनः सहमति भयो । कृत्रिम खेल मैदान बनाउन निर्माण कम्पनीले गिटी हालिसकेको थियो । तर, पछि परिवर्तित डिजाइनका आधारमा सो गिटी फेरेर माटो र दुबो बिछ्याउन सुरु भएको थियो ।

दोस्रो पटकको डिजाइनबारे बोल्दै राखेप सदस्य राजेश गुरुङले कात्तिकभित्रै सबै काम पुरा गरेर १३ औं साग सञ्चालन गर्ने घोषणासमेत गरेका थिए । तर, कात्तिकमा समेत रंगशालाले पूर्णता पाएन । फलस्वरुप मैदानमा रोपिएको दुबो फेर्दै र फुटबल स्टेडियमलाई टेन्टले बेरेर १३ औं दक्षिण एसियाली खेलकुद (साग) सञ्चालन गर्नुपरेको थियो ।

विसं २०३९ बनेको रंगशालाको विशिष्ट कक्ष ०७२ सालको भूकम्पबाट क्षति पुगेको थियो । भूकम्पले क्षति पु¥याएपछि रंगशाला पुननिर्माणको जिम्मा गत पुसमा राष्ट्रिय खेलकुद परिषदले भारतीय कम्पनी ग्रेट स्पोर्टस र एमए कन्ट्रक्सन जाउलाखेल ललितपुर (जेभी)सँग सम्झौता गरेको थियो । सम्झौताअनुसार १ अर्ब ३० करोड रुपैयाँमा रंगशाला पुनर्निर्माण भइरहेको छ ।

शिलान्यास कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पोखरा रंगशाला १८ हजार ५ सय सिट क्षमताको प्यारापिटसहितको बनाइने सुनाएका थिए । तर, सम्झौता सकिएको ७ महिना भइसक्दा पनि १० हजार सिटसमेत जडान भइसकेको छैन । जबकी साग अघि नै रंगशालामा करिब ३९ सय सिट जडान भइसकेको थियो ।

‘सिट जडान गर्नका लागि सबै सामाग्री र तयारी पूरा भइसकेको छ,’ नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीका दीपक बरालले अनलाइनखबरसँग भने, ‘अब एक हप्ताभित्रै १० हजार सिट सिट जडान गरिसक्छौं ।’ पुनर्निर्माण नसकिएकै रंगशालामा सहारा क्लब पोखराले १८ औं आहा रारा गोल्डकप गर्ने घोषणा गरेको छ । फागुन २२ गतेदेखि हुने प्रतियोगिताअघि नै रंगशाला तयार भइसक्ने क्लबको विश्वास छ ।

केही समय अघि कास्की प्याब्सनले समेत निर्माणाधीन रंगशालामा आफ्ना खेलकुद गतिविधि सञ्चालन गरेको थियो । राष्ट्रिय खेलकुद परिषदलेसमेत फागनु अन्तिमसम्म रंगशाला पुनर्निर्माण पूरा हुने विश्वाससहित आहा रारा गोल्डकप आयोजनाको अनुमति दिइसकेको छ । तर, ठेकेदार कम्पनी आफैं फागुनसम्म पनि काम सकिनेमा विश्वस्त छैन ।

‘बीचमा काम गर्नै पाएनौं । निरन्तर वर्षा भएर पिचको काम अधुरै छ,’ एमए कन्स्ट्रक्सन जेभीका इन्जिनियर बरालले घुमाउरो उत्तर दिए, ‘यता फुटबल मैदान तयार भए पनि उता त बिल्डिङका काम भइराख्या हुन्छन् नि ।’ उनले कति काम बाँकी छ भन्ने खुलाएनन्, तर, ‘केही काममात्र’ बाँकी रहेको सुनाए ।

गत वर्ष निर्माण ढिलाइ हुनमा निर्माण कम्पनीले मनकामना केबलकार फुटबल प्रतियोगिता र १७ औं आहा रारा गोल्डकप प्रतियोगितालाई आरोप लगाएको थियो । तर, यस पटक भने डिजाइन ढिलो, निरन्तर वर्षा र साग लगायत खेलकुद प्रतियोगिताले गर्दा काम लम्बिएको निर्माण कम्पनीले जनाएको छ । ‘काम हुँदाभरि कुनै पनि क्रियाकलाप नगर्न राखेपलाई पत्राचार गरिसक्या छौं । तर, बीचमा कार्यक्रम भइराख्याछन् । त्यसले हाम्रो काममा ढिलाइ भइरहेको छ,’ बरालले भने । पोखरा रगंशाला ४ सय १७ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

तस्वीर : सुदर्शन रञ्जित/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment