अभिनेता विपिन कार्कीलाई भर्सटायल कलाकारको रुपमा चिनिन्छ । उनले आफूले काम गरेका हरेक चलचित्रमा आफूलाई फरक अवतारमा प्रस्तुत गर्छन् । अहिले उनी अभिनित चलचित्र ‘सेल्फी किङ्ग’ रिलिजको तयारीमा छ । यो चलचित्र माघको २४ अर्थात शुक्रबारदेखि रिलिज हुँदैछ ।
यो चलचित्रमा विपिन हाँस्य कलाकारको भूमिकामा प्रस्तुत भएका छन् । चलचित्रमा उनी गोपाल दाहालको भूमिकामा प्रस्तुत भएका छन्, जो सेल्फी किङ्गको रुपमा परिचित हुन्छ । चलचित्रमा हाँस्य कलाकारले आफ्नो जीवनमा भोग्नु परेको दुःखलाई देखाइएको निर्माण पक्षले बताइरहेको छ ।
चलचित्रको कथा एक कलाकारको भएपनि हरेक मानिसले यसभित्र आफूलाई पाउने विपिनको भनाई छ । अनलाइनखबरसँग कुरा गर्दै विपिनले भने–‘स्क्रिप्ट पढ्दै गर्दा नै आफूले भोगेको केही कुराहरु पनि पाएको थिएँ । कलाकारितामा लागेको मान्छेलाई परिवारले कस्तो व्यावहार गर्छ भन्ने कुरा मैले अनुभूती गरिसकेको छु । योे चलचित्रमा देखाइएको छ ।’
यो चलचित्रका निर्देशक विशाल सापकोटा भने चलचित्र कलाकारको मात्र नभई सम्पूर्ण व्यक्तिको कथा भएको बताए । उनले भने–‘हामीले एउटा कलाकारलाई विषयबस्तुमा ढालेका मात्रै हौै । तर, चलचित्रले अन्त्यमा हरेक व्यक्तिको कथा भन्ने छ । हरेक व्यक्तिको जीवनमा आइपर्ने ‘इमोशनल फेज’लाई चलचित्रमा देखाएका छौैं ।’
चलचित्रलाई कतिपयले बायोपिक चलचित्र भएको पनि आँकलन गरिरहेका छन् । तर, निर्देशक विशाल यो चलचित्र वायोपिक नभएको बताउँछन् । उनले भने–‘चलचित्रकमा एउटा दृश्य वास्तविक छ । तर, बाँकी कथा काल्पनिक हो । मैले देखेको कलाकारको भोगाईलाई स्क्रिप्टमा ढालेको छु । हरेक कलाकारले चलचित्र हेर्दा आफ्नै चलचित्र भन्नुहुनेछ ।’

चलचित्रको कथा सेल्फीसँग कसरी मिल्छ त, विशाल भन्छन्–‘सिधै सेल्फीलाई हामीले विषय बनाएका छैनौं । तर, हरेक ठाउँमा सेल्फी लिनेहरुलाई भने यो चलचित्रले ब्यङ्ग्य गर्छ । चलचित्र हेरेपछि दर्शक नाममा प्रष्ट हुनुहुनेछ ।’
उसो त, नायक विपिनलाई पनि चलचित्रको नाममा खासै चित्त वुझेको थिएन । चलचित्रको विषयबस्तुसँग नाम नमिलेको हो कि भन्ने भान उनलाई थियो । तर, निर्देशकले विपिनलाई कन्भिन्स गरे । विपिन भन्छन्–‘मलाई पनि नाम नमिलेको जस्तै लागेको थियो । तर, निर्देशकले विषयबस्तु त पोस्टर र ट्रेलरले खुलाइहाल्छ नि भनेपछि म पनि राजी भएको थिएँ ।’
विपिनले यो चलचित्रमा काम गर्नुको मुख्य कारण भनेको चलचित्रको कथा नै थियो । आफूले गरिरहेको क्यारेक्टर भन्दा विल्कुलै फरक भूमिका पाएपछि विपिनले नाई भन्न सकेनन् । उनी भन्छन्–‘अघिल्ला चलचित्रमा मलाई दर्शकले जुन रुपमा देख्नु भएको छ त्यो भन्दा फरक भूमिकामा प्रस्तुत भएको छु । दर्शकको अपेक्षालाई पनि मर्न दिएको छैन ।’
‘सेल्फी किङ्ग’को पोस्टर रिलिज भएपछि विपिनको गेटअप हलिउड चलचित्र ‘जोकर’सँग मिलेको आरोप लाग्यो । धेरैले चलचित्रको कथा नै ‘कपी’ हो कि भन्ने आशंका पनि गरे । तर, निर्देशक सापकोटा उक्त चलचित्रसँग आफ्नो चलचित्रको विषयबस्तु नमिल्ने बताउँछन् । उनले भने–‘हामीले पहिल्यै एउटा पात्र सृजना गरिसेकका थियौं । पछि जोकर आयो । एउटा चलचित्रकै कारण हामीले पात्रको लुक्सलाई परिवर्तन गर्ने मन गरेनौं ।’

निर्माणपक्षलाई जोकरसँग तुलना हुने कुरामा शंका थियो । तर, कथाबस्तु नमिलेको र पात्र नचोरेको कुराले उनीलाई ढुक्क बनाइरहेको थियो । कतिपयले सुटिङ सेटमा नै ‘लुक्स लाइक जोकर’ पनि भनेका थिए । तर, त्यसलाई निर्माण पक्षले सुनेको नसुने झै गरेको थियो । विपिन भन्छन्–‘भर्खरै जोकर रिलिज भएको भएर होला सबैको दिमागमा जोकरको इमेज बसेको छ । अरु त मेकअप खासै मिल्दैन, आशु झर्दा गाजल पुछिएको लुक्समा कता कता मिलेजस्तै हुने रहेछ ।’
चलचित्रको ट्रेलरमा राखिएको एक संवाद पनि निकै लोकप्रिय भएको छ, ‘यो मुला स्टारडम, सेलिब्रिटी, पपुलारिटी, फ्रेम भन्ने कुरा छ नि, मुतको न्यानो जस्तो मात्रै हो । एकैछिन तातो हुन्छ मज्जा आउँछ । एकछिन पछि घिनलाग्न थाल्छ, गन्हाउँछ ।’
यो संवादले चलचित्रमा विशेष अर्थ राखेको निर्देशक सापकोटाले बताए । उनले भने–‘यो पहिलो स्क्रिप्टमा थिएन । पछि मलाई यो संवाद फुर्यो । सुनाए, सबैले राम्रो भन्नुभयो । त्यसलाई मिलाएर एउटा सिनेमा राखियो ।’ चलचित्रमा गोपालले कलाकारितामा वितृष्णा जागिसकेपछि बोल्ने र संवाद भएकाले यसले चलचित्रको धेरै कुरा बोक्ने विपिन बताउँछन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4