Comments Add Comment

एमसीसीलाई अतिरञ्जित र प्रायोजित बनाइयो : परराष्ट्रमन्त्री     

२१ माघ, गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसीसीविरुद्ध बाहिर आएका कुरा अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताएका छन् । उनले सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर यस विषयलाई उठान गरेको छ भन्दै बजारमा अनावश्यक विषयमा बहस गरेर मित्र राष्टसँगको सम्बन्धलाई कसैले पनि तीतो बनाउन नहुने बताए ।

मंगलबारदेखि गुल्मीमा सुरु हुने स्वास्थ्य बीमा घोषणा कार्यक्रमका सन्दर्भमा गृहजिल्ला आएका परराष्ट्रमन्त्री ज्ञवालीले प्रेस संगठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालको राष्ट्रिय हित, जनताको लाभ र देशको विकास जेमा हुन्छ सरकार त्यसैमा अघि बढ्ने छ भन्दै एमसीसीको विस्तृत रूप (फुलफर्म) थाहा नभएकाहरुले यसका विरुद्धमा बजारमा बहस सुरु गरेको टिप्पणी गरे ।

उनले चुइगम चपाउँदा रस सकिएर दाँतमा टाँसिने र त्यसको कुनै स्वाद नहुने जस्तै प्रकृतिको बहस एमसीसीका बारेमा अहिले बजारमा चलिरहेको बताए ।

पार्टीहरु लोकतन्त्रका आधारस्तम्भ भएको भन्दै उनले पार्टीहरु कमजोर हुँदा लोकतन्त्रसमेत कमजोर हुने बताए । दुई वर्षको कार्यसम्पादनबाट वर्तमान सरकारको आत्मविश्वास बढ्दै गएको छ भन्दै मन्त्री ज्ञवालीले नेकपा अहिलेको सर्वाधिक लोकप्रिय दलका रूपमा स्थापित भएकोसमेत जिकिर गरे ।

जनताको वर्षौंदेखिको समृद्धिको सपना यही सरकारले पूरा गर्ने बताउँदै मन्त्री ज्ञवालीले त्यसमा कोही पनि द्विविधामा नपर्न आग्रह गरे । नेपाली जनताले वर्तमान सरकारलाई ठूलो जिम्मेवारी सुम्पिएको छ भन्दै उनले उक्त जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न सरकार दृढ रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment