Comments Add Comment

चीनबाट नेपाली फर्काउन मन्त्रिपरिषदले आदेश जारी गरिसक्यो : मन्त्री ढकाल

२१ माघ, काठमाडौं । सरकारले चीनको वुहानमा रहेका आफ्ना नागरिकहरुलाई नेपाल ल्याउने तयारी पूरा भएको बताएको छ । त्यसका लागि संक्रामक रोग ऐन २०२० को दफा २ को ३ अनुसार आदेश पनि जारी भएको छ ।

मंगलबार संसदलाई यसबारे जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनबाट ल्याइने नेपालीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्न मन्त्रिपरिषद बैठकले आवश्यक आदेश जारी गरेको जानकारी दिए । ‘संक्रामक रोग ऐन २०२० को दफा २ को ३ अनुसार सरकारले आदेश जारी गरेर यो ढंगले राख्न सक्ने भन्ने कानूनी प्रावधान अन्तर्गत हिजो मन्त्रिपरिषद बैठकबाट आदेश जारी गरेका छौं’ उनले भने ।

तर उनीहरुलाई कहिले नेपाल ल्याइन्छ भन्ने टुंगो छैन । चीनबाट उद्दार गरिनेहरुबाट अरुमा कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सचेतता अपनाएको भन्दै स्वाथ्यमन्त्री ढकालले भने, ‘जुन जुन देशले (चीनबाट) लानुभयो । त्यहाँ पनि छिटपुट प्रतिक्रिया आएका छन् । त्यसलाई समेत मध्यनजर गरी जोखिम नहुने सुनिश्चितता गरेर मात्र ल्याउनेछौं ।’

सरकारले चीनबाट नेपाल फर्किन चाहनेलाई त्यहाँको दूतावासमा फारम भर्ना लगाएको थियो, जसमा १ सय ८० जनाले स्वदेश फर्किन चाहेको बताएका छन् ।

‘चीनमा १७ हजारमा संक्रमण फैलिएको छ, हाम्रामा १३ जनामा आशंका गरेर परीक्षण गर्दा नेगेटिभ देखियो’ उनले भने, ‘चीन सरकार जसरी नाच्छ त्यही तालमा खु्ट्टा उचाल्नुपर्छ भन्ने कुरामा नेपाल सरकार विश्वास गर्दैन’ स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भने ।

मन्त्री ढकालकाअनुसार चीनमा परीक्षण गरेर संक्रमित नभएको पुष्टि भए मात्र नेपाल ल्याइनेछ । ‘त्यहाँ जाँच गर्दा पोजेटिभ भेटिए चीन सरकारले पठाउँदैन । संक्रमण नभएको पुष्टि भएपछि पनि सावधानीका साथ ल्याउँछौं’ उनले भने ।

त्यसपछि पनि नेपाल ल्याउन सहज छैन । वुहानमा एयरपोर्ट बन्द गरिएको छ भने सार्वजनिक यातायात पनि चन्दैन । त्यसैले चीन सरकारको समन्वयमा मात्र नेपालहीरलाई उद्दार गर्न सकिने मन्त्री ढकालले बताए ।

नेपालको विमानस्थलमा पनि विशेष सुरक्षाको प्रविधि अपनाएका स्वास्थ्य प्राविधिकले उनीहरुलाई रिसिभ गरी १४ दिन क्वारेन्टाइनमा राख्ने मन्त्री ढकालले बताए । ‘१४ दिनसम्मको परीक्षणबाट भाइरस देखिएन भन्ने प्रमाणित भएपछि उहाँहरु सार्वजनिक सम्पर्कमा, आफन्तसँग भेटघाटमा जान सक्नुहुन्छ’ उनले भने ।

चीनबाट फर्काइएकाहरुलाई राख्ने ठाउँमा सकेसम्म एक जनालाई एउटा कोठामा र सम्भव नभए कम्तीमा ६ फिट टाढा राख्ने स्वास्थ्यमन्त्री ढकालले बताए । चीनबाट ल्याइने नेपालीहरुलाई राख्ने ठाउँबारे सरकार निश्कर्ष नजिक रहेको बताए । उनकाअनुसार स्तीदेखि टाढा राख्ने तयारी छ ।

बिरामी भइहाले के गर्ने ?

मन्त्री ढकालले चीनबाट ल्याएका नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएमा तत्कालै अस्पतालमा उपचार गर्न ३ वटा अस्पतालमा ४३ वटा आइसोलेटेड वार्डको व्यवस्था गरिएको बताए ।

उपत्यकाबाहिर पोखरा, चितवन र भैरहवामा कोरोना संक्रमण परीक्षण गर्न हेल्प डेस्कको व्यवस्था गरिएको छ । ‘पर्यटक सघन उपस्थित हुने ठाउँ भएकाले त्यहाँका अस्पताललाई तयारी अवस्थामा राखेका छौं’ ‘रसुवा र तातोपानी नाकालाई सम्भावित जोखिको ठाउँमा राखेर काम गरेका छौं ।’

३ सय बेडको अस्पताल बनाउने

मन्त्री ढकालकाअनुसार सरकारले संक्रामक रोग र प्राकृतिक प्रकोपको बेलामा तत्काल उपचार गर्न ३ सय शैयासम्मको अस्पताल बनाउने तयारी गरेको छ ।

‘संक्रामक रोग र प्राकृतिक विपदका बेला निदानका लागि त्यससम्बन्धी दक्ष जनशक्ति उत्पादनलाई समेत मध्यनजर गरेर ३ सय जना बेडको अस्पताल बनाउने र भविष्यमा पनि यस्ता रोगको जोखिमबाट जोगिनुपर्छ भनेर मनसायका साथ त्यो कामलाई अगाडि बढाएका छौं’ उनले भने ।

चीनले जति तयारी गरेका छैनौं

भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको तयारीबारे जानकारी गराएपछि सांसदहरुले सरकारको तयारी चित्तबुझ्दो नभएको भन्दै आलोचना गरेका छन् ।

अरु देशले आफ्नो नागरिक फिर्ता लगिसक्दा पनि नेपालले फिर्ता ल्याउन नसकेको, ल्याएर यहाँ राख्ने ठाउँ टुंगो लगाउन नसकेको भन्दै सरकारको आलोचचना गरे । चीनले कोरोना भाइरसको उपचारका लागि ६ दिनमा एक हजार बेडको अस्पताल नै बनाएको भन्दै सांसदहरुले नेपालको तयारी अत्यन्तै फितलो रहेको टिप्पणी गरेका थिए ।

जवाफमा स्वास्थ्यमन्त्री ढकालले चीनले जति नेपालले तयारी नगरेको स्वीकार गरेका छन् । ‘सत्य त्यही नै हो, त्यसमा कुनै विमति छैन । चीनमा १७ हजारमा संक्रमण फैलिएको छ, हाम्रामा १३ जनामा आशंका गरेर परीक्षण गर्दा नेगेटिभ देखियो’ उनले भने, ‘चीन सरकार जसरी नाच्छ त्यही तालमा खु्ट्टा उचाल्नुपर्छ भन्ने कुरामा नेपाल सरकार विश्वास गर्दैन ।’

यद्यपि कोरोनाको संक्रमण नेपालमा फैलिन नदिन भने सरकार सचेत भएको मन्त्री ढकालले बताए । उसले (चीनले) गरेकै काम हामीले गरेनौं भनेर मापन गर्नुभन्दा हाम्रो जोखिमको आधारमा तयारी गरेका छौं’ उनले भनेका छन् ।

मन्त्री ढकालकाअनुसार नेपालमा अहिलेसम्म एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । तर उनमा पनि भाइरस संक्रमणको अवस्था नेगेटिभ रहेको मन्त्री ढकालले बताए । ‘१३ जनवरीमा जाँच गराउँदा पोजेटिभ देखिएको थियो । त्यसको १० दिनमा उपचार गराउँदा पनि पोजेटिभ थियो । पछिल्लो अवस्थामा नेगेटिभ अवस्थामा पुगेको छ’ उनले भने ।

नेपालमा अहिलेसम्म थप १३ जनाको कोरोना भाइरसको आशंकामा परीक्षण गरिएको थियो । र उनीहरु सबैको नतिजा नेगेटिभ आएको पनि मन्त्री ढकालले बताए ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले हालसम्म कोरोना भाइरसको संक्रमण भएको बिरामीको संख्या १७ हजार ३५१ जना रहेको बताएको छ । उनीहरु मध्ये १७ हजार २ सय ३८ जना चीनमा मात्र छन् ।

डब्लुएचओकाअनुसार कोरोनाबाट ३ सय ६२ जनाको मृत्यु भएको छ । जसमध्ये ३ सय ६१ जनाको चीनमा र एक जना चिनियाँ नागरिकको फिलिपिन्समा मृत्यु भएको मन्त्री ढकालले संसदमा जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment