 
																			२२ माघ, सप्तरी । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टी संगठनमा देखा परेका समस्याबारे निर्मम समीक्षा गरेका छन् ।
संगठनमा आबद्ध नेता कार्यकर्ता रक्सी खाएर बेहोस हुने, प्रशिक्षणमा सहभागीले पान खाएर समय बिताउने, भाषण गर्न दिए गाली गरेर समय बिताउने जस्ता समस्या देखिएको भन्दै उनले यसरी पार्टी सुदृढीकरण हुन नसक्ने बताए ।
राजविराजमा मंगलबार पार्टीले आयोजना गरेको सप्तरी जिल्लास्तरीय संगठन विस्तार तथा सुदृढीकरण अभियानको उद्घाटन कार्यक्रममा अध्यक्ष यादवले संगठनभित्र अनेक समस्या रहेको भन्दै त्यसको विश्लेषण गर्दै कार्यकर्तालाई निर्देशनसमेत दिए ।
भाषण गर्न मारामार, समय नष्ट
प्रशिक्षणका क्रममा अध्यक्ष यादवले मञ्चमा आसन ग्रहण गराउन र भाषण गराउन नेताहरुले मारामार गर्ने गरेको बताए । ‘आसन ग्रहण र भाषण गराओस् भन्ने सबैको चाहना हुन्छ,’ अध्यक्ष यादवले भने, ‘आसन ग्रहण नगराइए र भाषण गर्न नदिए मुख फर्काउने र चित्त दुखाउने धेरैलाई हेरेको छु । यसमा परिवर्तन गर्नु जरुरी छ ।’
भाषण गर्न दिइएमा पनि बोल्ने धेरैले श्रोताको समय मात्रै नष्ट गर्ने गरेको उनको भनाइ छ । ‘माइक समात्नेवित्तिकै अर्कामाथि मात्रै आरोप लगाउने धेरै हेरेको छु । यस्तो बोलाइबाट श्रोताले के पाउँछन् ? प्रश्न गर्दै अध्यक्ष यादवले भने, ‘त्यसबेला श्रोता जान खोज्छन्, हुटिङ्ग गर्न खोज्छन् । तर पार्टीको कार्यक्रम भएपछि गर्न पाउँदैनन् ।’
माइक समात्दैमा नेता बन्न नसकिने बताउँदै उनले माइक समातेपछि श्रोतालाई केही दिनुपर्नेमा जोड् दिए ।
भाषण ठूला-ठूला गरे पनि आफ्नै वडामा संगठन बनाउन नसकेको भन्दै उनले यसरी संगठन चल्ने नभएकाले कुराभन्दा कामलाई प्राथमिकता दिनुपर्ने बताए ।
प्रशिक्षणमा आउने, पान चपाउने ?
यादवले नेताहरुमा अध्ययनको कमी रहेको बताए । प्रशिक्षण लिएर अध्ययन गरेमा मात्रै नेता बन्न सकिने भए पनि बिना अध्ययनकै नेता बन्न खोजिएको उनको भनाइ छ ।
आफ्नो पार्टीले विभिन्न पटक प्रशिक्षणको आयोजना गरे पनि नेताले पान चपाएर भाषण मात्रै दिने गरेको उनले बताए । ‘हामी प्रशिक्षणको आयोजना गर्दा केही बेर त नेताहरु बस्छन्,’ उनले भने, ‘त्यसपछि चारैतिर हेरेर बाहिर निस्किन्छन् । अनि सडकमा पान चपाउँदै भाषण दिन्छन् ।’
उनले संगठनमा आबद्वताको संख्या २/३ हजार देखिए पनि कार्यक्रम गर्दा २/३ जनासमेत उपस्थित गराउन नसक्नुले पनि आफूलाई ठूलै नेताको सूचीमा राख्न खोजिएको बताए । ‘लामो लामो कुर्ता लगाएर मात्रै हुँदैन,’ उनले भने, ‘कसको कुर्ता कति लामो छ, त्यो ३ महिनापछि थाहा हुन्छ ।’
रक्सी पिउनुस् तर होसमा रहनुस्
अध्यक्ष यादवले रक्सी पिएर संगठन चल्न नसक्ने बताए । उनले नेता/कार्यकर्तालाई रक्सीको प्रयोग नगर्न निर्देशन नै दिए । ‘अब भन्नुहुन्छ, रक्सी पिउनु मेरो हकको कुरा हो भने पिउनुस् । तर जुत्ता, चप्पल सडाएर बनाएको रक्सीको प्रयोग नगर्नुस्’ उनले भने, ‘केही स्ट्यान्डर्ड रक्सी पिउनुस् ।’
यद्यपि रक्सी पिएर बेहोस बन्न नहुने उनले बताए । ‘रक्सी पिउनुस् तर होसमा रहनुस्’ उनले भने ।
रक्सी पिएर सडकमा नाटक गर्ने कामहरु पनि हुने गरेको भन्दै उनले यो नाटकलाई बन्द गर्नुपर्ने बताए । ‘यसमा महिलाहरुले अलिकति सकृयता देखाउनु जरुरी छ,’ उनले भने, ‘सडकमा नाटक देखाउने यस्ता व्यक्तिलाई सडकमै छाडिदिनुस् । आफैं ठीक हुन्छ ।’
रक्सी पिएर आफैंलाई सुधार्न नसक्नेहरु समाजलाई कदापी सुधार्न नसकिने उनको भनाइ थियो ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4