Comments Add Comment

निजगढ विमानस्थल बनाउन काट्नुपर्ने रुख गनिँदै

२२ माघ, काठमाडौं । बाराको निजगढमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा काट्नु पर्ने रुखको वास्तविक संख्या  पत्ता लगाइने भएको छ । काटिने रुखको यकिन तथ्यांक उपलब्ध गराउन अब वन तथा वातावरण मन्त्रालयले साइटबाटै रुख गणना गर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पर्यटन मन्त्रालयले पहिलो चरणमा विमानस्थल बन्ने स्थान मार्किङ गरी रुखको गणना गर्न वन तथा वातावरण मन्त्रालयलाई १२ मंसिरमा अनुरोध गरेको थियो ।

पहिलो चरणमा १९ सय हेक्टरमा मात्र विमानस्थल बन्ने र त्यहासम्म पुग्ने पहुँचमार्गका लागि रुख काट्नुपर्ने भएकाले रुख गणना गर्न अनुरोध गरिएको थियो ।

सोही अनुसार १२ माघमा वन तथा भू-संरक्षण विभागले डिभिजन वन कार्यालय बारालाई पत्र लेख्दै साइटमै पुगेर रुखको गणना गर्न र त्यसको विवरण केन्द्रमा पठाउन भनेको छ । यसबाट निजगढ विमानस्थलमा काट्नुपर्ने रुखको यथार्थ संख्या प्राप्त हुने प्राधिकरणले जनाएको छ ।

वातावरणविदहरू प्रस्तावित विमानस्थल क्षेत्रले ओगटेको ८ हजार हेक्टर जमिनमा रहेका  करीव २५ लाख रुख सरकारले काट्न थाल्यो भन्दै विरोधमा छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र निजगढ विमानस्थल आयोजनाबाट पनि काटिने रुखको संख्याबारे फरक-फरक संख्या सार्वजनिक भइरहेका छन् ।

वातावरण जोगाउन सक्रिय अभियान्ताले एकसाथ ठूलो संख्यामा रुख काटिँदैछन् भन्ने अफवाह फैलाउँदा विमानस्थल निर्माणको महत्व नै ओझेलमा पर्ने भन्दै यथार्थ संख्या गणनामा गर्न लागिएको प्रााधिकरण बताउँछ ।

पहिलो चरणमा निर्माण हुने विमानस्थल क्षेत्रमध्ये ठूलो क्षेत्रमा टाँगिया बस्ती र उनीहरुले खेतीपाती गर्ने क्षेत्र नै रहेको छ । सोहीकारण पहिलो चरणमा धेरै रुख नकाट्दासमेत विमानस्थल बन्नेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीका अनुसार पहिलो चरणमा एउटा धावनमार्ग, टर्मीनल भवन तथा अन्य आवश्यक पूर्वाधार बन्नेछन् । आगामी ५ वर्ष भित्र व्यापारिक रुपमा सञ्चालनमा ल्याएपछि आवश्यकताका आधारमा थप पूर्वाधार बिस्तार गरिने उनले बताए ।

यो विमानस्थल अहिले संसारमा व्यापारिक उडानमा रहेका सबै क्षमताका जहाज उडान-अवतरण हुन सक्ने अत्याधुनिक पूर्वाधारसहित बनाउने योजना रहेको छ । निजगढ विमानस्थलमा काट्नुपर्ने रुखको विषय अहिले अदालतमा समेत विचाराधिन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment