
२२ माघ, बुटवल । रुपन्देहीको मणिग्राममा आयोजना गरिएको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला सकिएको छ । तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजनामा १३ दिनसम्म सञ्चालन गरिएको मेलामा ३ लाख ५० हजार दर्शकले अवलोकन गरेको र १३ करोड रुपैयाँ बढीको कारोबार भएको संघका कोषाध्यक्ष सुरज पंगेनीले जानकारी दिए । मेलामा ३ सय स्टल राखिएका थिए ।
मेलाको समापन समारोहमा बोल्ने वक्ताहरुले निजी क्षेत्रको सहकार्यविना सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल हुन नसक्ने बताए । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले मेला महोत्सव सञ्चालन गर्नका लागि अर्को वर्षसम्म जग्गा व्यवस्थापन गर्ने आश्वासन दिए । निजी क्षेत्रलाई उत्साहित बनाएर लगानीमैत्री वातावरण बनाउन स्थानीय सरकार तयार रहेको जानकारी गराउँदै मेयर घिमिरेले नगरपालिकाभित्र ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारीले स्थायी सरकार बनेसँगै लगानीमैत्री वातावरण बन्ने अपेक्षा निजी क्षेत्रले गरेपनि त्यस्ता वातावरण बन्न नसकेको बताए । निजी क्षेत्रको सहभागिताविना सरकारले लिएको कुनैपनि लक्ष्य हासिल गर्न नसक्ने उल्लेख गर्दै उनले निजी क्षेत्रको सहकार्यका लागि तीनै तहका सरकारलाई आग्रह गरे ।
तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला मुल आयोजक समितिका संयोजक गुणनिधि भण्डारीले औद्योगिक व्यापार मेलासँगै आगामी दिनमा उपभोक्ताको हितलाई मध्यनजर गरेर दशैंमा सस्तो बजार सञ्चालन गर्ने, तिलोत्तमा नगर क्षेत्रमा २५ विगाहा जग्गा लिजमा लिएर अर्गानिक खेति गर्ने लक्ष्य लिएको बताए ।
प्रतिक्रिया 4