Comments Add Comment

नेपाल ट्रष्टको २२ हजार रोपनी जग्गा : कतै भाडामै झगडा, कतै जोतभोग र जंगल (सूचीसहित)

२४ माघ, काठमाडौं । सरकारले यति होल्डिङ्सलाई सस्तोमा नेपाल ट्रष्टका जग्गा जमिन लिजमा दिएको भनेर आलोचना भइरहेका बेला काठमाडौंका महंगो ठाउँका घरजग्गा अन्य ब्यापारिक कम्पनीले पनि सस्तोमा प्रयोग गरिरहेको पाइएको छ ।

ट्रष्टको जग्गा यति होल्डिङ्सलाई लिजमा दिइएको चर्चा बाहिर आएसँगै नेकपा बैठकको निर्देशनपछि उपप्रधानमन्त्री तथा ट्रष्टका अध्यक्ष ईश्वर पोखरेलबाट स्वेत पत्र जारी गर्ने तयारी भइरहेको रक्षा मन्त्रालय स्रोतले जनाएको छ ।

सबैभन्दा महंगा जग्गा काठमाडौंमा

ट्रष्टले स्वेतपत्रका लागि संकलन गरेको केही विवरण अनलाइनखबरलाई प्राप्त भएको छ । जसमा काठमाडौंका महंगा ठाउँका घरजग्गा यतिको भगिनी संस्था थामसेर्कु ट्रेकिङले भन्दा अन्य निजी कम्पनीहरुले बढी प्रयोग गरेको र उनीहरुले भाडासमेत न्यून तिर्दै आएको खुलासा भएको छ ।

तत्कालीन राजा वीरेन्द्रको परिवारका नाममा रहेको २१ हजार ५६२ रोपनी जग्गा नेपाल ट्रष्टको स्वामित्वमा आएको छ । सोमध्ये सबैभन्दा बढी ४ हजार ४४२ रोपनी जग्गा काठमाडौं जिल्लामा मात्रै भेटिएको छ । यसमा नारायणहिटी राजदबार बाहेकका जग्गाहरु पर्छन् ।

दरबारमार्ग, लाजिम्पाट, कमलादी, कालिमाटी, ताहाचल, छाउनी जस्ता महंगा ठाउँका जग्गा ब्यापारिक प्रयोजनमा लिज र भाडामा मा दिइएका छन् । यसरी नेपाल ट्रष्टको घरजग्गा प्रयोग गर्नेमा थामसेर्कु ट्रेकिङ, टाउन डेभलपर्स, कन्सेप्ट डेभलपर्स, स्टाण्डर्ड चार्डर्ड बैंक लगायतका निजी कम्पनीहरु छन् ।

काठमाडौं प्लाजा, कमलादी

 

काठमाडौंका काँठ क्षेत्रमा रहेका घरजग्गा भने मोहीले बसोबास र खेती प्रयोजनका लागि प्रयोग गरिरहेको पाइएको छ भने ताहाचलमा विभिन्न सरकारी कार्यालयहरुले न्युनतम भाडा तिरेर बसेका छन् । यी अधिकांश सम्पत्ति ०५० सालमा र केही ०५३ सालमा लिजमा दिइएका हुन् ।

०६४ सालमा नेपाल ट्रष्ट बनेपछि ती सम्पत्ति राजा वीरेन्द्र र उनका परिवारका नामबाट ट्रष्टमा ल्याइएको थियो । त्यसपछि धेरैजसो काठमाडौंका महंगा ठाउँका जग्गाको पुनः लिज सम्झौता ०६६ पुस र माघमा मन्त्रिपरिषदबाट गराइएको पाइएको नेपाल ट्रष्टका एक अधिकारीले बताए ।

कुन जग्गा कसले पाए ?

नेपाल ट्रष्टका नाममा करीव २२ हजार रोपनी जग्गा आए पनि मूल्य र ब्यापारिक प्रयोजनका हिसाबले सबैभन्दा महँगो र सबैको आँखा पर्ने भनेको दरबारमार्ग, लाजिम्पाट, कालिमाटी, कमलादी, छाउनीजस्ता ठाउँका जग्गामै हो । ती ठाउँमा रहेका बहुमूल्यवान र ब्यापारिक दृष्टिले महत्वपूर्ण जग्गा मूलतः चारवटा निजी कम्पनीले प्रयोग गरिरहेको पाइएको छ ।

बिजनेश पार्क, कालिमाटी

कालिमाटीको टेकु गणेशमान पथमा अवस्थित चौतर्फी कम्पाउण्ड वालले घेरिएको १९ रोपनी १२ आना जग्गामा काठमाडौं बिजनेश कम्प्लेक्सका नाममा आधुनिक भवनहरु बनेका छन् । टाउन डेभलपर्स प्रालिले बनाएको बिजनेश पार्कले वर्षमा जम्मा ४० लाख रुपैया भाडा नेपाल ट्रष्टलाई बुझाइरहेको छ ।

कालिमाटी ताहचालस्थित सोल्टी होटल नजिक चार रोपनी चार आना जग्गा थामसेर्कु ट्रेकिङ प्रालिले लिजमा लिई भवन निर्माण गर्ने प्रक्रियामा रहेको छ । उसले लिएको ४ रोपनी ४ आना ३ पैसा जग्गाको लिज सम्झौता २०७४ मंसिर १४ मा भएको थियो ।

थामसेर्कुले संरचना निर्माण हुन्जेल ३ वर्षसम्म वार्षिक ६ लाख र निर्माण सकिएपछि वार्षिक ६१ लाखका दरले प्रत्येक ५ वर्षमा भाडा बढाउने सम्झौता भएको देखिन्छ ।

कालिमाटीकै ताहाचलस्थित ३८ रोपनी १२ आना जग्गामा रहेका भवनमा भने सरकारी कार्यालयहरु रहेका छन् । जसमा सार्वजनिक खरिद अनुगमन कार्यालय, रेडक्रस, श्रम कार्यालय र गरिवी निवारण कोषका कार्यालयले वार्षिक ५२ लाख भाडा बुझाउँछन् ।

प्रेरणाको खाली, कमलादीमा कौडीको भाउ

काठमाडौं महानगरपालिका १३ मै अवस्थित स्वयम्भु छाउनीस्थित १५ रोपनी १ आना क्षेत्रफलमा रहेको घरजग्गा पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई दाइजो दिइएको थियो । वीरेन्द्रको सम्पत्ति भएकाले नेपाल ट्रष्टमा आएको सो घरजग्गा खाली गर्न ट्रष्टले गत मंसिर २४ गते नै सूचना जारी गरिसकेको छ ।

त्यस्तै छाउनी मार्गमै रहेको २ रोपनी १३ आनामा बनाइएको घरजग्गा नेपाल ट्रष्टले नै संरक्षण गरेर राखेको छ । कालिमाटीमै रहेको ३ रोपनी ७ आना जग्गा भने हिमालय वीरविक्रम शाह मोही कायम रहेको कागजात भेटिएको छ ।

यो पनि पढ्नुहोस पूर्वअधिराजकुमारी प्रेरणाको दाइजो नेपाल ट्रस्टकै कायम

काठमाडौं महानगरपालिका वडा नम्बर १ दरवागर्ममा १ रोपनी १४ आना जग्गा थामसेर्कुलाई ३० वर्षका लागि लिजमा दिइएको पाइएको छ । २०७४ जेठ १४ मा तत्कालिन मन्त्री बिमलेन्द्र निधी ट्रष्टको अध्यक्ष रहेका बेला थामसेर्कुले सो जग्गा लिजमा लिने सम्झौता गरेको थियो । जसको विवाद अहिले भइरहेको छ ।

सो जग्गामा थामसेर्कुले अहिले भवनसमेत बनाइसकेको छ । निर्माण अवधिमा वार्षिक ४० लाख भाडा तिर्ने सम्झौता गरेको थामसेर्कुले अब निर्माणपछि शुरुमा वार्षिक ४ करोड ५० लाख रुपैयाँ वार्षिक भाडा तिर्नेछ भने ३० वर्ष पुग्दासम्म वार्षिक ११ करोड ८७ लाख रुपैया भाडा तिर्नेछ ।

दरवारमार्गमा वार्षिक ४ करोड ५० लाख भाडा तिरेर १ रोपनी १४ आना जग्गा थामसेर्कुले लिजमा पाउँदा त्यहाँबाट केही सय मिटरमात्र दूरीमा रहेको कमलादीको काठमाडौं प्लाजा सञ्चालन गर्ने कन्सेप्ट डेभलपर्सले भने ट्रष्टलाई वार्षिक ७५ लाख रुपैयाँ मात्र तिर्छ । जब कि सो ब्यापारिक कम्प्लेक्स रहेको क्षेत्रफल ५ रोपनी २ दाम छ ।

काठमाडौं महानगरपालिका ३१ मा पर्ने काठमाडौं प्लाजा २०५० मा कन्सेप्ट डेभलपर्स कम्पनीले जग्गा भाडामा लिई निर्माण गरेको हो । ३० वर्षको लिज अवधि आगामी असार ३ गते सकिएपछि प्रतिस्पर्धा गराएर भाडामा दिइने ट्रष्टले जनाएको छ ।

काठमाडौंको लाजिम्पाटस्थित स्टाण्डर्ड चार्टर्ड बैंक रहेको घरजग्गा पनि नेपाल ट्रष्टकै हो । कामपना २ लाजिम्पाटमा ६ रोपनी १३ आना क्षेत्रफलमा रहेको सो घरजग्गा बैंकले लिजमा लिई कार्यालय सञ्चालन गरिरहेको छ । बैंकले वार्षिक १ करोड १५ लाख ३ हजार ३६५ भाडा तिर्ने गरेको छ ।

२०५० सालमै २७ वर्षका लागि लिजमा लिइएको सो घरजग्गाको लिज अवधि १२ वर्ष बाँकी रहदै २०६६ पुस २३ मा पुनः स्टाण्डर्ड चार्टर्ड बैंकले थप १५ वर्षका लागि लिजमा दिने निर्णय भएको पाइन्छ ।

अहिले निकै चर्चामा रहेको गोकर्ण रिसोर्ट सञ्चालन गर्ने जिम्मा पाएको साबिक एलएम सुभिर प्रदर्शले नयाँ सम्झौता अनुसार वार्षिक ३ लाख १२ हजार अमेरिकी डलर ट्रष्टलाई बुझाउनेछ । हाल सो कम्पनी यती होल्डिङको स्वामित्वमा छ ।

कतै मोहीको जोतभोग, कतै जंगल

काठमाडौंमा रहेका ‘प्राइम लोकेशन’ बाहेक नेपाल ट्रष्टका अन्य जग्गा भने कतै जंगलका रुपमा रहेका छन् भने कतै मोहीले जोतभोग गरिरहेको पाइएको छ । कामनपा १६ बालाजुस्थित त्रिशुली जाने बाटोसँग जोडिएको ब्यापारिक प्रयोजनयोग्य १२३ रोपनी जग्गा खाली र खुला रहेको नेपाल ट्रष्टले जनाएको छ ।

त्यस्तै कामनपा २९ सामाखुसी गल्कोपाखामा अवस्थित ९ आना जग्गामा मोहीले घर तथा बसोबासका रुपमा प्रयोग गरेको भेटिएको छ । उता फर्पिङमा रहेको ६८ रोपनी १२ आना जग्गा त्रिभुवन आदर्श माध्यमिक विद्यालयले निःशुल्क प्रयोग गरिरहेको छ ।

काठमाडौंकै सतुंगलमा १ रोपनी ६ आना जग्गा मोहीले खेतिबालीमा प्रयोग गरिरहेका छन भने मातातीर्थको ५९ रोपनी जग्गा पनि मोही किसानले खेति र बसोबासमा प्रयोग गरेका छन् । त्यस्तै थानकोटमा रहेको १०२ रोपनी जग्गामा पनि मोहीले खेति गरिरहेका छन् ।

शंखरापुर नगरापलिका साँखुको २ रोपनी ३ आनामा पनि किसानले खेतिपाती गरिरहेको पाइएको छ भने भने ललितपुर र भक्तपुरपका बिभिन्न कित्ताका जग्गामा पनि मोहीकै बसोबास र खेतिपाती छ ।

नेपाल ट्रष्टको नाममा रहेको जम्मा करीव २२ हजार रोपनी जमिनमध्ये आधाभन्दा बढी धादिङ छत्रे देउरालीमा छ । १२ हजार १०१ रोपनी क्षेत्रफलमा रहेको सो जग्गा वनजंगलका रुपमा प्रयोगमा छ ।

त्यस्तै धनकुटाको चुलीवनमा १९४ रोपनी जग्गा पाइएको छ । जहाँ निजामति कर्मचारीका छोराछोरीका लागि आवासीय विद्यालयलाई भाडामा दिइएको छ ।

म्युजियम बन्दै रत्नमन्दिर र हिमागृह

काठमाडौंपछि सबैभन्दा महंगो जग्गा नेपाल ट्रष्टले पोखरामा प्राप्त गरेको छ । तत्कालिन राजा महेन्द्रले पत्नी रत्नराज्य लक्ष्मी शाहको नाममा बनाएको रत्नमन्दिर र हिमा गृहलाई नेपाल ट्रष्टले संग्रहालय बनाउन अध्ययन प्रतिवेदन तयार पारिसकेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ६ र ७ मा अवस्थित १७४ रोपनी ४ अना जग्गामा रत्न मन्दिर, हिमागृह जस्ता ऐतिहासिक दरबार छन् । फेला ताल किनाराको र रत्नचोकस्थित मूलबाटोको उक्त घरजग्गामा म्युजिमय पार्क बनाउन अध्ययन प्रतिवेदन प्राप्त भएको छ ।

वीरेन्द्रको सम्पत्ति कति पुग्यो ?

तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरुको परिवारको नाममा रहेको सम्पत्ति व्यवस्थापन र सञ्चालन गरी राष्ट्रहितमा प्रयोग गर्न नेपाल ट्रष्ट गठन भएको हो । जसमा तत्कालीन राजाका जेठा छोरा दीपेन्द्र शाह र कान्छा छोरा निराजन शाह समेतका नाममा रहेको सम्पत्ति समेटिएको छ ।

२०६४ सालमा बनेको ऐनले नै ट्रष्टले व्यक्तिसरह चल–अचल सम्पत्ति प्राप्त गर्न, भोगचलन गर्न, बेचबिखन गर्न पाउने भनेको छ । सोही ऐनमा टेकेर ट्रष्टले जग्गा जमिनहरु लिज तथा भाडामा लगाइरहेको छ ।

नेपाल ट्रष्टको स्वामित्वमा नेपाल राज्यभर १३ जिल्लामा रहेका जग्गाको क्षेत्रफल करिब २१,५६२ रोपनी ४ आना २ पैसा १ दाम रहेको छ । यस वर्ष अर्थात २०७६ पुस सम्ममा नेपाल ट्रष्टको चल सम्पत्ति ७८ करोड ९ लाख रुपैया पुगेको छ । जुन रकम भाडा र लिजबाट प्राप्त भएको हो ।

ट्रष्टमा तत्कालीन राजपरिवारका नामबाट आएको रकम अमेरिकी डलर एक लाख ४८ हजार ५८१ र ब्रिटिस पाउन्ड स्टर्लिङ ५० हजार १२४ खातामा रहेको पाइएको छ । ट्रष्टले विभिन्न बैंक तथा वित्तीय संस्थाको शेयर समेत खरिद गरेको छ ।

काठमाडौंसहित भक्तपुर, ललितपुर, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धनकुटा, सुर्खेत, कास्की, चितवन र धादिङमा तत्कालिन राजपरिवारको जग्गा जमीन पाइएको छ । रामेछाप दोलखा लगायतका जिल्लामा जमिन खोज्ने क्रम चलिरहेको छ ।

नेपाल ट्रष्टको जग्गा भाडाको केही विवरण :

जग्गा भाडामा दिइएको स्थान भाडामा लिने कम्पनी जग्गाको क्षेत्रफल भाडादर (वार्षिक)
बिजनेश पार्क, कालिमाटी टाउन डेभलपर्स प्रालि १९ रोपनी १२ आना ४० लाख
ताहाचल (निर्माणाधीन भवन) थामसेर्कु ट्रेकिङ प्रालि ४ रोपनी ४ आना ६१ लाख
कालिमाटी, ताहाचल बिभिन्न सरकारी कार्यालय ३८ रोपनी ५२ लाख
दरबारमार्ग, काठमाडौं थामसेर्कु ट्रेकिङ प्रालि १ रोपनी १४ आना ४ करोड ५० लाख
काठमाडौं प्लाजा, कमलादी कन्सेप्ट डेभलपर्स प्रालि ५ रोपनी २ आना ७५ लाख
लाजिम्पाट, काठमाडौं स्टाण्डर्ड चार्टर्ड बैंक १३ रोपनी १३ आना १ करोड १५ लाख
गोकर्ण फरेस्ट रिसोर्ट एलएम सुभिर ब्रदर्श प्रालि २९७१ रोपनी ३ लाख १२ हजार डलर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment