Comments Add Comment

‘ए’ डिभिजन लिगमा आज मनाङ र एनआरटी भिड्दै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र एनआरटीबीच खेल हुँदैछ । ११ औं चरणको अन्तिम खेलअन्तर्गत आज दुई टिमबीच खेल हुन लागेको हो ।

यसअघि शनिबारै हलचोकस्थित एपीएफ मैदानमा मनाङ र एनआरटीबीच खेल हुने एन्फाले जनाएको थियो । तर प्राविधिक कारणले तोकिएको सयमा खेल हुन नसकेको भन्दै एन्फाले उक्त खेल आजलाई सारेको हो । खेल दिउँसो १ बजे सातोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ ।

१० खेलबाट १९ अंक जोडेको मनाङ अंक तालिकामा चौथो स्थानमा छ । समान खेलबाट १५ अंकसहित एनआरटी सातौंमा छ । उपाधि होडबाट लगभग टाढिसकेको मनाङलाई एनआरटीलाई हराउँदै तेस्रो स्थानमा उक्लने मौका छ । मनाङभन्दा अघि रहेको थ्री स्टार ११ खेलबाट २० अंकसहित तेस्रोमा छ ।

उता, शीर्ष ६ मा लिग सकाउने लक्ष्य राखेको एनआरटीका लागि पनि मनाङविरुद्धको खेल महत्त्वपूर्ण छ । मनाङलाई पराजित गर्न सके एनआरटी पाँचौं स्थानमा उक्लनेछ ।

लिगमा अब २ चरणको खेल बाँकी हँदा विभागीय टोली त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब उपाधि होडमा अघि छन् । आर्मी ११ खेलबाट २६ अंकसहित शीर्षमा छ भने २५ अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा छ ।

दुवै टोली पहिलो पटक लिग उपाधि जित्ने दाउमा छन् । १२ औं चरणमा आर्मीले ब्रिगेड ब्वाइज क्लब तथा मछिन्द्रले सकटा क्लबसँग खेल्नेछ । लिगकै अन्तिम खेलमा यी दुई टोलीबीच नै भिडन्त हुनेछ । १२ औं चरणको खेलमा दुवै टोली विजयी भए उपाधि छिनोफानो अन्तिम चरणको खेलबाट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment