
२६ माघ कैलाली । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कञ्चनपुरका निर्माण गरिने सुखा बन्दरगाहको काम तत्काल अगाडि बढ्ने बताएका छन् ।
आइतबार सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा पत्रकारसँग कुरा गर्दै मन्त्री भट्टले बन्दरगाह निर्माण स्थलमा तरबार र पर्खाल निर्माण काम तत्काल सुरु गर्ने बताए ।
‘मन्त्रालयको टोलीसहित हामीले सुख्खा बन्दरगाहको स्थलगत निरीक्षण ग¥यौं’ उनले भने, ‘अब तरबार र पर्खाल निर्माणको काम सुरु हुने छ ।’
मन्त्री भट्टले पहिलो चरणमा खाली रहेको निर्माणस्थलमा तरबार र पर्खाल लगाउने काम गर्ने र दोस्रो चरणमा अपुग भएको जग्गाको लागि पुनर्स्थापनको काम अगाडि बढाउने बताए ।
सुख्खा बन्दरगाह, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक करिडोर निर्माणको अवस्था र सम्भाव्यता अध्ययनको लागि मन्त्री सहित प्राविधिक टोली यहाँ आएको हो ।
मन्त्रीसहितको टोलीले सुख्खा बन्दरगाह, औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्र निर्माणस्थलको पनि अवलोकन गरेको छ ।
कञ्चनपुरको बेदकोट नगरपालिका–२ स्थित स्थापना हुने दैजी औद्योगिक क्षेत्र निर्माण स्थल निरीक्षण गरेका मन्त्रीले औद्योगिक क्षेत्र स्थापनामा अब ढिलाइ नहुने बताए ।
‘एक प्रदेशमा एक औद्योगिक क्षेत्र स्थापना गर्ने लक्ष्य सरकारले लिएको छ’ उनले भने, ‘यसको स्थापनामा अब सरकार ढिलाइ गर्दैन ।’ निर्माणस्थलमा ठुला रुख नरहेको हुँदा समस्या नहुने उनले बताए ।
बेदकोट नगरपालिका–२ र ३ को राष्ट्रिय वनको करिब २६९.९३ हेक्टरमा औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी रहेको छ । दैजीमा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा अढाइ दशकअघि भएको थियो ।
तर, सरकारले निर्माणमा तीव्रता नदिँदा अझैसम्म निर्माण सुरु हुन सकिरहेको छैन । मन्त्री भट्टले अहिले प्राविधिक काम सम्पन्न गरेर अर्को आर्थिक वर्षभित्र निर्माण कार्य सुरु गर्ने बताए ।
मन्त्री भट्टले कैलालीको हरैयामा निर्माण गर्ने भनिएको विशेष आर्थिक क्षेत्रको काम पनि तत्काल सुरु हुने बताए । उनले कैलालीको डुडेझाडीमा निर्माण गर्ने भनिएको औद्योगिक क्षेत्रको काम पनि तत्काल अगाडि बढ्ने बताएका थिए । मन्त्री भट्टले धनगढी गेटा औद्योगिक कोरिडोरको काम पनि तत्काल अगाडि बढ्ने बताए ।
प्रतिक्रिया 4