+
+
Shares

मानवसेवा आश्रमलाई बुटवल उपमहानगरद्वारा साढे ३१ लाख सहयोग घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २६ गते १९:०४

२६ माघ, बुटवल । बुटवल उपमहानगरपालिकाले मानव सेवा आश्रमको भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । उपमहानगरपालिकाका तर्फबाट उपप्रमुख गुमादेवी आचार्यले ३१ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरिने घोषणा गरेकी हुन् ।

बुटवलमा मानव सेवा आश्रमको भवन निर्माणका लागि आर्थिक स्रोत जुटाउन ज्ञानविज्ञान महायज्ञ सचालन भइरहेको छ ।

महायज्ञस्थलमा उपप्रमुख आचार्यको नेतृत्वमा पुगेको उपमहानगरको टोलीले उक्त आर्थिक रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।

त्यसअवसरमा कार्यपालिका सदस्यहरुले २५ हजार ५०५ रुपैयाँ प्रदान गरेको कार्यपालिका सदस्य तथा वडा नं. ४ का अध्यक्ष टंकप्रसाद पराजुलीले बताए ।

मानव सेवा आश्रमको भवन निर्माणका लागि आर्थिक सहयोग प्रदानको घोषणा पछि उपप्रमुख आचार्यले संविधानमा व्यवस्था गरिएको मौलिक हकलाई कार्यान्वयनमा ल्याउन कानून बनाउनेदेखि अन्तर्राष्ट्रिय सन्धी सम्झौताका प्रावधानहरु पालना गर्दै बुटवललाई मानवताको सहरका रुपमा विकास गर्न लागिएको बताइन् ।

‘मानवता सभ्य समाजको पहिलो आधार’ भन्ने भावना प्रत्येक व्यक्ति तथा परिवार र सिंगो समाजमा जगाउन आवश्यक रहेको भन्दै उपप्रमुख आचार्यले ‘वेसहारा र अभिभावकविहीन सहयोगापेक्षी सडक मानवरहित उपमहानगर’ घोषणालाई व्यवहारमा उतार्ने काम भइरहेको बताइन् ।

कार्यपालिका सदस्यहरु टंकप्रसाद पराजुली, जगदीशचन्द्र आचार्य, रनाचन्द्र क्षेत्री, कमलप्रताप थापा, रञ्जित शेरचन तथा विष्णु शर्मालगायतले आइतबारै आर्थिक रकम प्रदान गरेका थिए ।

बुटवल उपमहानगरपालिकालाई गत पुस ५ गते भव्य समारोहका बीच सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिएको थियो ।

बुटवल उपमहानगरपालिकाले १९ वटै वडामा बेसहारा भएर सडकमा रहेका कुनै पनि मानवलाई उद्धार गर्ने, उपचार गर्ने र मनोपरामर्श गराउने सबै संयन्त्र तयार गरेको छ । सोही आधारमा उपमहानगरलाई बेसहारा सहयोगापेक्षी सडकमानव मुक्त घोषणा गरिएको हो ।

महायज्ञमा छैठौं दिनसम्म तीनकरोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ । छैठौं दिन आइतबार मात्रै एक करोड रुपैयाँभन्दा बढी दान संकलन भएको महायज्ञ आयोजक मूल समिति संयोजक लोकनाथ भुसालले जानकारी दिए ।

महायज्ञमा कथावाचक भागवत भाष्कर कमलनयन गौतमले संगीतमय कथावाचन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?