
२७ माघ, हेटौंडा । मकवानपुरको दामनस्थित पानोरमा रिसोर्टमा भारतीय पर्यटकको मृत्यु हुनेमा रिसोर्ट र पर्यटक दुबैको कमजोरी रहेको बागमती प्रदेश सरकारले बताएको छ ।
सोमबार सांदसहरुले सोधेको प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री शालीकराम जम्कटेलले होटल व्यवस्थापक र पर्यटक दुबैको कमजोरीले गर्दा दुर्घटना भएको बताए ।
माघ १३ गते रिसोर्टमा बस्न आएका ८ जना भारतीय पर्यटकको मृत्यु भएको थियो । राति बालबालिकालाई धेरै चिसो हुन्छ भन्दै होटल व्यवस्थापनको असहमतिबिनै पर्यटकले ग्यास हिटर कोठामा लगी प्रयोग गर्नु पर्यटकको कमजोरी देखिएको बताए ।
यस्तै सधै चिसो मौसम हुने दामनमा रहेको रिसोर्टले रुम हिटरको व्यवस्थापन नगर्नु रिसोर्टको कमजोरी देखिएको जम्मकट्टेलले प्रदेशसभामा बताए ।
सरकारले भिजिट २०२० मनाउन सुरुवात गरेकै समयमा भएको घटनापछि पर्यटन अभियानमा क्षति पुगेको उनको भनाइ छ ।
भारतीय पर्यटकका लागि मकवानपुरको दामन स्थापित ठाउँ भएको बताउँदै घटनापछि भारतबाट आउने पर्यटकको संख्यामा कमी आएको पनि मन्त्री जम्मकट्टेलले जानकारी गराए ।
प्रदेशसभामा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपालले प्रदेशभित्र दशवटा गन्तव्यको पहिचान गरी पूर्वाधार निर्माण र प्रचारप्रसारमा सरकार लागेको बताए ।
आन्तरिक तथा बाह्य पर्यटकका लागि पर्याप्त पर्यटकीय गन्तव्य नहुँदा नेपाल घुम्न आउने पर्यटकलाई धेरै दिन रोक्न नसकिएको भन्दै उनले प्रदेशका १३ जिल्लामा दशवटा हिलस्टेशन छनौट गरी निर्माण थालिएको जानकारी दिए ।
उनले पूर्वाधार निर्माणका लागि सरकारले एक अर्ब ६५ करोड बिनियोजन गर्दै पूर्वाधार विकासलाई अघि बढाएको बताए ।
दश हिल स्टेशनमध्ये सातवटा यसै आर्थिक बर्षमा सुरु गर्ने र तीनवटा हिलस्टेशन अध्धयनको चरणमा रहेको भन्दै बागमती प्रदेशलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा सरकार रहेको जानकारी दिए ।
गच्छदारलाई मुद्दा चलाएकामा कांग्रेसको विरोध
प्रदेशसभामा विपक्षी दलका नेता इन्द्र बानियाँले पार्टी उपसभापति विजयकुमार गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएकामा विरोध जनाए ।
संवैधानिक अंगको रुपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेकपा मोह भएको र राजनीतिक प्रतिशोध र बदनियतपूर्ण ढंगले आफ्नो पार्टीका नेतालाई भ्रष्टाचारको मुद्दा लगाएको उनको भनाइ थियो । प्रदेशसभामा बोल्दै नेता बानिँयाले पूर्वाग्राही ढंगले विभिन्न आरोप लगाउने कार्यले विपक्षीलाई त्राहिमाम बनाउने काम भएको बताए ।
अख्तियारले ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलगायत १ सय ७५ जनामाथि मुद्दा चलाएको तर नेकपाका नेतालाई जोगाएको नेता बानियाँले आरोप लगाए ।
प्रतिक्रिया 4