Comments Add Comment

एसिडपीडित मुस्कानलाई मुख्यमन्त्रीले सोधे – घाउ कहिले निको हुन्छ ?

२७ माघ, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा सोमबारदेखि बेटी सम्मेलन शुरु भएको छ । प्रदेशका आठवटै जिल्लाका बेटी अर्थात् छोरीहरुको सहभागिता रहेको छ ।

एसिडपीडित वीरगञ्जकी मुस्कान खातुनसहित विभिन्न क्षेत्रका अग्रणी नारीको सहभागिता रहेको सम्मेलन उद्घाटनको अवसरमा केहीबेर शून्यता छायो ।

सम्मेलनको उद्घाटन गर्न आएका मुख्यमन्त्री लालबाबु राउतको आँखा जब मुस्कान खातुनमाथि प¥यो । अनि स्तब्ध भए । केही सेकेण्डसम्म मुस्कानतर्फ हेर्दै भावुक अवस्थामा मुख्यमन्त्रीले सोधे, ‘घाउ कहिलेसम्म निको हुन्छ भनेर डाक्टरले भनेका छन् ?’

डाक्टरले तीन महिनापछि छालाको पुनः सर्जरी गर्ने बताएको मुस्कानले जानकारी गराइन् ।

मुख्यमन्त्रीले सोधे, ‘हामी (प्रदेश सरकार) ले दिएको ५ लाख रुपैयाँ पाउनुभयो ?’

मुस्कानले पाएको जवाफ दिइन् ।

आयोजक मानव अधिकारका लागि मूलधार महिला सेवा केन्द्र उदयपुरले मुस्कानलाई ‘बहादुर छोरी’ को संज्ञा दिँदै सम्मान गर्न बोलाएको थियो । १५ बर्षीया मुस्कानलाई मुख्यमन्त्री राउतले सम्मानपत्र प्रदान गरे ।

वीरगञ्ज महानगरपालिका ३ की मुस्कानमाथि गत भदौ १९ गते दुई जना युवाले एसिड प्रहार गरेका थिए । मुस्कान त्रिभुवन

माविको कक्षा ९ मा अध्ययन गर्ने क्रममा विद्यालय गइरहँदा उनीमाथि एसिड प्रहार भएको थियो ।

महिलालाई ठूलो पदसम्म पुर्‍याउँछु : मुख्यमन्त्री

मुख्यमन्त्री लालबाबु राउतले महिलाको सुरक्षाका साथै महिलाको हकअधिकारका लागि प्रदेश सरकार काम गरिरहेको बताए ।

उनले महिला ठूलो पदमा नगएसम्म महिलाको कुरा बुझ्न नसकिने बताउँदै यसको तयारी आफूहरुले गरिरहेको बताए ।

‘महिलाहरुलाई सीडीओ, एसपी, डीएसपी पदमा पुर्‍याउने हाम्रो सोंच छ’ मुख्यमन्त्री राउतले भने, ‘जबसम्म महिलाहरु यो पदमा जाँदैनन्, तबसम्म महिलाको यथार्थ सशक्तिकरण हुन सक्दैन ।’

उनले प्रदेशमा भर्ना हुने कर्मचारीका साथै प्रहरी भर्नामा पनि ५० प्रतिशत महिलाका लागि आरक्षण गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment