Comments Add Comment

पार्टी एकताको बाँकी काम टुंग्याउन ओली र प्रचण्डबीच छलफल

२८ माघ, काठमाडौं । पार्टी केन्द्रीय कमिटीको निर्देशन बमोजिम पार्टी एकताका बाँकी रहेका काम टुंगो लगाउन नेकपाका दुई अध्यक्षबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको हो ।

नेकपा स्रोतका अनुसार माघ १९ मा सपन्न केन्द्रीय कमिटी बैठकले १५ दिनभित्र पार्टी एकताका काम टुंग्याउने निर्देशन दिएकाले दुई अध्यक्ष र महासचिव विष्णु पौडेलमाथि दबाब छ । यसका साथै एमसीसी अध्ययन कार्यदलले गरिरहेका कामको बारेमा पनि दुई अध्यक्षबीच छलफल भएको छ ।

प्रधानमन्त्री ओली केही अस्वस्थ भएकाले यसबीचमा दुई अध्यक्षबीच छलफल हुन पाएको थिएन । अब पार्टीको ५ महिने विशेष अभियान सन्चालन हुने भएकाले त्यसबारेमा पनि नेताहरुबीच परामर्श भएको स्रोतले जनाएको छ ।

यसका साथै नेपाल प्रहरीको आइजिपी नियुक्तिका सन्दर्भमा पनि प्रधानमन्त्रीले अर्का अध्यक्षसँग परामर्श गरेका छन् । प्रचण्ड प्रहरीमा कायम रहेको ३० वर्षे सेवा हद हटाउने पक्षमा रहे पनि यसपटक पनि त्यो प्रयास भने सफल भएन ।
प्रधानमन्त्री ओली कानून बनाएरै मात्र प्रहरीमा अहिलेको अस्थिरता हटाउने पक्षमा रहेको एक मन्त्रीले बताए ।

प्रधानमन्त्री ओली चाँडै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा रहेको समेत बताइएको छ । हाल शहरी विकास र कानून मन्त्रालय रिक्त छन् ।

यसैबीच फागुन १ गते जनयुद्ध तथा जनआन्दोलन दिवस मनाउने तयारी नेकपाले गरेको छ । तत्कालीन माओवादीले जनयुद्ध थालेको दिनलाई जनयुद्ध दिवस मनाउने गरेको थियो ।

अघिल्लो वर्ष पार्टी कार्यालयमा आयोजित कार्यक्रम अध्यक्ष तथा प्रधानमन्त्री ओली सहभागी भएका थिएनन् ।

यसपटक प्रधानमन्त्रीसमेतको उपस्थितिमा जनयुद्ध र जनआन्दोलनका शहीदहरुको स्मरण गर्ने कार्यक्रम तय भएको नेकपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment