Comments Add Comment

सीके राउत भन्छन् : करोडौं दिएर मेयर बनेका छन्, उनीहरुले के गर्छन् ?

२८ माघ, वीरगञ्ज । ‘स्वराज’को अभियान लिएर हिँडेका डा सिके राउत नेतृत्वको जनमत पार्टीले मंगलबार वीरगञ्जको आदर्शनगरमा आमसभा गरेको छ । सभाका लागि गाउँ गाउँबाट ट्याक्टरमा मानिस ल्याइएको थियो ।

पर्साको डकैला बहुअरीका जयकुमार साह आमसभामा सहभागी हुन पाउँदा निकै उत्साहित देखिन्थे । उनले सिके राउतको पार्टी अरु भन्दा राम्रो भएको दावी गरे ।

‘हिजोआज गाउँमा बच्चा बच्चा सिके राउतको गीत गाइरहेका छन्’ उनले भने ‘सिके राउतको पार्टी अरुभन्दा राम्रो छ । सिके राउत अरु नेता भन्दा राम्रा छन् । त्यसैले भाषण सुन्नका लागि आएको हुँ ।’

सरकारसँग सम्झौता गरेर शान्तिपूर्ण राजनीतिमा आएपछि राउतको पार्टीले पहिलो पटक वीरगञ्जमा आम सभा राखेको हो । मधेसमा वैकल्पिक शक्तिको दावी गर्दै हिँडेको उसले यो आमसभालाई शक्ति प्रदर्शनको माध्यम बनायो ।

त्यसका लागि व्यापक प्रचार प्रसार गरिएको थियो । प्रचारका लागि घण्टाघरको पर्खाल, रामजनमको सालिक क्षेत्र मात्र नभएर वीरगञ्जका विभिन्न स्थानमा सिके राउतको तस्वीर सहित राता पोष्टर टाँसिएका थिए ।

सभामा सम्बोधन गर्दै राउतले जंगल राज समाप्त पारेर जनता राज स्थापना गर्ने दावी गरे ।

‘स्थानीय तहदेखि केन्द्रसम्म जनताले नै चुनेको जनप्रतिनिधि छन् तर कुनै पनि ढंगले जनताको शासनको आभास हुन पाएको छैन’ उनले भने ‘जो सुटकेसमा करोडौं दिएर टिकट लिएर मेयर, गाउँपालिका अध्यक्ष बनेका छन् । उनीहरुले के गर्छन् ? भ्रष्टाचार गर्छन्, करोडौं कमाउँछन् । जनतामाथि दमन गर्छन । यहाँ त्यही भइरहेको छ ।’

उनले पुराना पार्टीलाई म्याद गुज्रिएको औषधीको संज्ञा दिए । ‘७० वर्ष, २९ वर्ष, १३ वर्षसम्म काम नगरेको औषधीले अब गर्दैन, म्याद गुज्रिएको औषधीले बरु उल्टै इन्फेक्सन गर्न सक्छ’ राउतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment