Comments Add Comment

तिलोत्तमामा अब मेट्रिक प्रणालीमा आधारित घर नम्बर 

२८ माघ, बुटवल । तिलोत्तमा नगरपालिकाले वैज्ञानिक ठेगाना प्रणाली कार्यान्वयनमा ल्याएको छ । बढ्दो शहरीकरणसँगै घर संख्या बढ्दै जाने अवस्थामा पनि नगरवासीका घर सहजै पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले मेट्रिक ठेगाना प्रणाली कार्यान्वयनमा ल्याइएको हो ।

सडकको चोक तथा मिलन विन्दु (दोबाटो /चौबाटो) देखि कुनै निश्चित घरको दूरी (लम्बाई) का आधारमा घरको ठेगाना पत्ता लगाउन सकिने प्रणाली मेट्रिक ठेगाना प्रणाली हो । उक्त दुरीलाई आधार मानेर घरको नम्बर, टोल र बाटोको नाम उल्लेख गरी सोहि आधारमा घर–घरमा नम्बर प्लेट राखिन्छ ।

भविष्यमा नगरपालिकालाई स्मार्ट सिटीका रुपमा विकास गर्न यो प्रणालीले टेवा पुर्‍याउने नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए । नगरपालिकाबाट खटाइएका गणकहरुले तथ्याङक संकलन गरी त्यसका आधारमा मेट्रिक ठेगाना प्रणाली बनाउँछन् ।

तिलोत्तमा नगरपालिकाको वडा नम्बर–४ नयांमिलमा रहेको हिमलाल पोख्रेलको घरमा प्रमुख प्रशासकीय अधिकृत माधव शर्माले नम्बर प्लेट टाँस गरी मेट्रिक ठेगाना प्रणाली उद्घाटन गरेका छन् ।

दुई चरणमा गरी नगरभित्र रहेका करिब २६ हजार घरमा यसरी नै नम्बर प्लेट राखिने छ । पहिलो चरणमा वडा नम्बर १ देखि ६ सम्म रहेका करिब १० हजार घरलाई मेट्रिक प्रणालीसहितको नम्बर प्लेट वितरण गरिने नगरपालिकाका सूचना प्रविधि अधिकृत इन्जिनियर सुदीप ढकालले बताए ।

यो प्रणालीमा सडक/गल्लीको नाम र दूरीको आधारमा घर नम्बर प्रदान गरिने भएकाले जो कोहीले खोजेको घर पत्ता लगाउन सक्ने ढकालले बताए । घरसँग जोडिएको सडकको सुरुको बिन्दुदेखि घरको मुल ढोका सम्मको दुरी घरको नम्बर प्लेटमा राखिने भएका कारण घर पत्ता लगाउन सहज हुने इििन्जनियर ढकालले बताए । ‘तीन महिनाभित्र पहिलो चरणको काम सकेर नगरका सम्पूर्ण सडक र गल्लीको नाम र घर नम्बर गुगलमा समावेश गरिनेछ,’ ढकालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment