Comments Add Comment

लुम्बिनीमा १० दिनमा २१२ जना चिनियाँ पर्यटक आए

कोरोना भाइरसबाट मृत्यु भएकाप्रति श्रद्धाञ्ली र संक्रमितको स्वास्थ्यलाभको कामना गर्दै लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा प्रार्थना गर्दै चिनियाँ भिक्षुहरु । 

२८ माघ, बुटवल । चीनमा कोरोना भाइरसको संक्रमणका कारण नागरिकहरुको आवागनममा असर परे पनि लुम्बिनी भ्रमणमा आउने चिनियाँ पर्यटकहरु रोकिएका छैनन् । तर, पर्यटकको आगमनमा ठूलो मन्दी आएको छ । चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको असर बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटनमा परेको छ ।

पछिल्लो तथ्यांक अनुसार फेब्रुअरी १ देखि ११ तारेखसम्म लुम्बिनीमा २१२ जना चिनियाँ पर्यटकहरुआएका छन् । अघिल्लो वर्षको यस अवधि (११ दिन) मा  एक हजार एक सय ११ जना चिनियाँ लुम्बिनी भ्रमणमा आएको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले बताए ।

यस्तै भारत हुँदै स्थल नाका बेलहियाबाट नेपाल आउने चिनियाँको संख्या पनि गत वर्षभन्दा फेब्रुअरी महिनामा आधा घटेको छ । गत वर्ष फेब्रुअरीको १ देखि ११ तारिखसम्म ७९६ जना चिनियाँ पर्यटक आएका थिए भने यो वर्षको फेब्रुअरीको पहिलो ११ दिनमा ३३७ जना चिनियाँ नेपाल भित्रिएका अध्यागमन कार्यालय भैरहवाका सूचना शाखाका युवराज घिमिरेले जानकारी दिए ।

चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतले चिनियाँहरुलाई कडाई गरेपछि त्यसको असर लुम्बिनी परेको हो । अनलाइन भिसामार्फत भारत आएका चिनियाँलाई भारतले नेपालतर्फ पठाउने तर यताबाट भारत फर्किन नदिने नीति लिएको घिमिरेले बताए ।

चीनमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण लुम्बिनी मात्र नभइ नेपाल भ्रमण वर्षलाई धक्का लागेको नेपाल-चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण सापकोटा बताउँछन् । ‘सरकारले चीनबाट धेरै पर्यटक आउँछन् भन्ने आशा राखेको थियो,त्यही अनुसार चीनसँग सरकार र नेकपाको सम्पर्क बढेको थियो,’ अग्रज पत्रकारसमेत रहेका सापकोटाले भने, ‘पर्यटक आउने मुख्य सिजनमै धक्का लागेपछि भ्रमण वर्षको सफलतामा प्रश्न उठेको छ ।’

समाजले चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जली र बिरामी भएका चिनियाँको स्वास्थ्य लाभको कामना गर्दै लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा चिनियाँ भिक्षुहरुको उपस्थितिमा प्रार्थना सभासमेत गरिएको अध्यक्ष सापकोटाले बताए ।

यसअघि जनवरी महिनामा समेत लुम्बिनीमा तेस्रो मुलुकका पर्यटक मात्र नभइ भारतीय र नेपाली पर्यटकहरु पनि गत वर्षको तुलनामा घटेका थिए । यो जनवरीमा १३ हजार १०७ विदेशीले लुम्बिनी भ्रमण गरेकामा गत वर्षको जनवरीमा १३ हजार ६१९ जनाले भ्रमण गरेका थिए ।

बेलहियाबाट गत वर्ष जनवरीमा १२ हजार ४५२ विदेशी पर्यटक नेपाल आएकामा यो जनवरीमा ११ हजार ७५९ विदेशी पर्यटक नेपाल आएका थिए ।

गत वर्ष १९ हजार १६८ भारतीय लुम्बिनी आएकोमा यो जनवरीमा ६ हजारले घटेर १३ हजार ९७८ मा झरेको छ ।

लुम्बिनी पुग्ने नेपाली पर्यटक पनि अत्यधिक घटेका छन् । गत वर्ष जनवरीमा १ लाख १० हजार ३ सय जनाले भ्रमण गरेकामा यो वर्ष ६७ हजार ९४२ मात्रै रहेको कोषका सूचना अधिकृत बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment