Comments Add Comment

प्रदेश २ को नामाकरणमा अझै सहमति जुटेन

२९ माघ, जनकपुरधाम । प्रदेश २ को नाममा सहमति खोज्न बुधबार बसेको उच्च स्तरीय संसदीय समितिको बैठक पनि विना निश्कर्ष टुंगिएको छ । यद्यपी नेताहरुले सहमति नजिक रहेको बताएका छन् ।

प्रदेशको नामाकरण गर्नका लागि सभामुख सरोजकुमार यादवको संयोजकत्वमा उच्चस्तरीय संसदीय समिति गठन गरिएको छ । सोही समितिको बुधबारको बैठकमा सबै दलका प्रतिनिधि नामाकरणमा चाँडै सहमति खोज्न एकमत भएका हुन् ।

चाँडो नामाकरण गर्ने बिषयमा सबै दल एकमत देखिएको प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नेता सत्यनारायण मण्डलले जानकारी दिए ।

नेकपाले आफूले प्रस्ताव गरेको जानकी नाममा मधेश थपेर नामाकरण गर्नुपर्ने बताएको । नेपाली कांग्रेसले मिथिला मधेश भनेर नामाकरण गर्नुपर्नेमा जोड दिएको छ । कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले चाँडो नामाकरण गर्नका लागि मिथिला मधेश नामाकरण गर्न विकल्प दिएको जानकारी दिए ।

सत्तारुढ समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) ले मधेश नामाकरण गर्नुपर्ने प्रस्ताव गरेको छ । राष्ट्रिय जनता पार्टी (राजपा) का सचेतक परमेश्वर साहले बैठकमा नेताहरु लचकताका साथ प्रस्तुत भएको जानकारी दिए ।

उनका अनुसार आगामी फागुन ४ गते प्रदेशको नामाकरणका लागि पुनः बैठक बस्नेछ । उक्त बैठकमा नेकपा, समाजवादी, राजपा र कांग्रेसका संसदीय दलका नेता, सभामुख र सचेतकहरु बसेर प्रदेशको नामांकरणलाई निष्कर्षमा पु¥याउने विश्वास लिइएको छ ।

प्रदेशको नामाकरणका लागि दुई तिहाई बहुमत आवश्यक पर्छ । तर प्रदेशमा कुनै पनि दलसँग त्यो अवस्था छैन ।

नेकपाको ३२, समाजवादीको ३०, राजपाको २५, कांग्रेसको १९ र संघीय समाजवादी पार्टीको एक सिट छ । कुनै पार्टीले पनि एकल रुपमा दुई तिहाइ बहुमत जुटाउन नसक्ने हुनाले सहमतिबाटै प्रदेशको नामांकरण गर्ने बिषयमा नेताहरु अगाडि बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment