Comments Add Comment

अनुदानको ट्याक्टर कृषिबाहेक अन्य काममा प्रयोग नगर : मन्त्रालय

अनुदानको ट्याक्टर खरिद बिक्रीमा रोक

२९ माघ, जनकपुरधाम । पचास प्रतिशत अनुदानमा कृषकलाई ट्याक्टर वितरण गरेको प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषिबाहेक अन्य काममा प्रयोग नगर्न कडाइ गर्ने भएको छ ।

केही ठाउँमा कृषिबाहेकका काममा पनि ट्याक्टर प्रयोग गरेको पाइएपछि मन्त्रालयले यसमा कडाइ गर्ने भएको हो । मन्त्रालयले ट्याक्टर पाएका किसानलाई एसएमस पठाउँदै ट्याक्टरलाई कृषि काममा मात्रै लगाउन भनेको छ ।

‘तपाईं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. २, जनकपुरधामबाट अनुदानमा प्राप्त गर्नुभएको ट्याक्टर सम्झौतामा उल्लेख भएको प्रयोजनमा मात्र प्रयोग गर्नु हुन अनुरोध छ’ भनी एसएमएस पठाइएको छ ।

मन्त्रालयका शाखा अधिकृत बिनित झाले केही जिल्लामा अन्य काममा पनि ट्याक्टरको प्रयोग गरिएकाले यस्तो एसएमस पठाइएको जानकारी दिए ।

यस्तै अनुदानमा पाइएको ट्याक्टर बिक्री समेत गर्न सक्ने भएकाले मन्त्रालयले यसतर्फ पनि कडाइ गरेको छ ।

खरीद/बिक्रीमा रोक

मन्त्रालयबाट ट्याक्टर पाएकाहरुलाई कम्तीमा पाँच बर्ष खरीद/बिक्रीमा रोक लगाउन यातायात व्यवस्था कार्यालय, जनकपुरधामलाई पत्राचार गरिने भएको छ ।

कम्तीमा पाँच वर्ष (२०८१ पुस मसान्त) सम्म खरीद, बिक्री एवं नामसारी नहुने गरी आवश्यक व्यवस्थापन गरिदिन भन्दै यातायात कार्यालयलाई पत्राचार गर्न लागिएको शाखा अधिकृत झाले बताए ।

उनका अनुसार कुनै ठाउँका कृषकले ट्याक्टर बेच्न लाग्दा जनकपुरधामबाटै सहमति पत्र लिन आवश्यक पर्ने भएकाले यो कार्यालयलाई यस्तो सहमति नदिन आग्रह गरिनेछ ।

प्रदेश सरकारले केहि दिन अगाडि प्रदेश २ का आठ जिल्लाका सय जना कृषक तथा कृषक समूहलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरेको थियो ।

सप्तरीका २०, रौतहटका १८, धनुषाका १२ तथा सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका १०/१० जना कृषकलाई मन्त्रालयले ट्याक्टर उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment