Comments Add Comment

कांग्रेस सांसदले भने : गच्छदारलाई मुद्दा लगाएर ठीक गर्‍यो भन्ने जनआवाज छ

‘चन्द्रदेव जोशीलाई मुद्दा लगाउनु गलत’

२८ माघ, पोखरा । हिजोआज संघीय र प्रदेश संसदमा ललिता निवास जग्गा प्रकरणले चर्चा पाइरहेको छ ।

लगातार तीन पटक प्रतिनिधिसभा अवरोध गरेर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरोध खोलेको दिन मंगलबार यो विषयले गण्डकी प्रदेशसभामा प्रवेश पायो । तर, यहाँ कांग्रेस सांसदले नेता विजयकुमार गच्छदार निर्दोष रहेको जिकिर गरेनन्, बरु भ्रष्टाचार मुद्दा लगाउनु ठीकै भएको आशय व्यक्त गरे ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद कुमार खड्काले ललिता निवास जग्ग प्रकरणमा नेता गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेकामा ठीक गर्‍यो भन्ने जनआवाज रहेको बताए । गच्छदारको सार्वजनिक छवि त्यति स्वच्छ खालको नभएको सांसद खड्काको भनाइ थियो ।

नेपाली कांग्रेसले गच्छदारहरुलाई बचाउन आन्दोलन गर्‍यो भन्ने गलत रहेको खड्काले बताए । मंगलबार गण्डकी प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै कांग्रेस सांसद गच्छदारलाई शंकाको घेरामा राखिए पनि चन्द्रदेव जोशीको हकमा अन्याय भएको खड्काले बताए ।

सांसद खड्काले भने  ‘निष्ठाको राजनीति गर्ने, अभावमा बाँचेको तर सिद्धान्तका लागि सम्झौता नगर्ने वामपन्थी नेता, ७ लाखको मुठा नदेखेकालाई ७ करोड भन्दा बढीको बिगोसहित मुद्दा लगाउनु गलत छ । बदनियतपूर्ण छ, षडयन्त्रपूर्ण छ भन्ने जनआवाज छ ।’

‘एउटा सत्य के हो भने गच्छेदारको सार्वजनिक छवि त्यति सफा छैन, सकारात्मक छैन । जहिले पनि आर्थिक अनुशासनको विषयमा उनलाई शंकाको घेरामा राख्ने गरेको पाइन्छ । उनीमाथि मुद्दा चलाएको ठीक छ भन्ने जनआवाज छ,’ संसद बैठकमा खड्काले भने ।

खड्काले पूर्वमन्त्री चन्द्रदेव जोशीको सार्वजनिक छवि निश्कलंक भएको भन्दै मुद्दा लाग्नु षड्यन्त्र भएको बताए । उनले भने  ‘निष्ठाको राजनीति गर्ने, अभावमा बाँचेको तर सिद्धान्तका लागि सम्झौता नगर्ने वामपन्थी नेता, ७ लाखको मुठा नदेखेकालाई ७ करोड भन्दा बढीको बिगोसहित मुद्दा लगाउनु गलत छ । बदनियतपूर्ण छ, षडयन्त्रपूर्ण छ भन्ने जनआवाज छ ।’

सांसद खड्काले कांग्रेसले गच्छदारको मुद्दा फिर्ता गर, सफाइ देऊ भनेर नभनेको पनि जिकिर गरे । तर, सत्ता र शक्तिको आडमा न्यायको घाँटी रेट्ने काम भएको खड्काले बताएका छन् ।

‘भूमाफियाबाट उक्त जग्गा डाइरेक्ट विष्णु पौडेलको नाममा नआई स्वामित्व हस्तान्तरण हुँदै आएकाले भूमाफियासँग उनको अनैतिक सम्बन्ध कसरी भयो भन्ने तर्क पनि सुन्नमा आइरहेको छ । यो भन्दा ठूलो छल कपट राष्ट्र र जनताका निम्ति के हुन सक्छ,’ खड्काले भने ।

नेता पौडेल अगाडि सरेर प्रधानमन्त्री माधवकुमार नेपालसँगको साँठगाँठ गरेर निर्णय गरिएको खड्काले आरोप लगाएका छन् । खड्काले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा महासचिव विष्णु पौडेल, पूर्वमुख्यसचिव लीलामणि पौडेल, सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलगायत ललिता निवास प्रकरणमा जोडिएका सबैलाई कानूनको कठघरामा ल्याउन माग गरे ।

पानी लैजाँदा पनि कर ?

नेकपा सांसद दीपक कोइरालाले एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा खानेपानी लिएर जाँदा पनि कर तिर्नुपरेको बताएका छन् । मंगलबार संसदमा बोल्दै सांसद कोइरालाले पोखरादेखि म्याग्दे गाउँपालिका छिर्दा प्रतिजार ५ रुपैयाँ तिर्नु परेको बताए ।

‘पानीको जार लिएर गएको गाडीबाट म्याग्दे गाउँपालिकामा २ सय रुपैयाँ तिर्नुपर्ने रहेछ’ सांसद कोइरालाले संसदमा रसिद देखाउँदै भने, ‘कुनै कम्पनीले यो काम गरिरहेको छ भने पनि गाउँपालिकाले हेर्नुपर्‍यो ।’

एक प्रदेशबाट अर्को प्रदेश ब्यापार गर्दा र उत्पादन लैजाँदा त कर तिर्नु नपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै उनले अर्को स्थानीय तहमा जाँदा पनि कर लिनु गलत भएको बताए ।

राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम नियोजित तरिकाले बाँडफाँट गरिएको आरोप लगाए । बागलुङमा उपनिर्वाचनका बेला आचारसंहितासमेत मिचेर पूर्वाधार कार्यक्रम बाँडफाँट गरिएको उनको आरोप थियो ।

कांग्रेस सांसद मेखलाल श्रेष्ठले सिद्धार्थ राजमार्गका घुम्ती कटान गर्ने काममा संघीय सरकारले ध्यान नदिएको र आफ्नो क्षेत्रभित्र घुम्ती कटाउन गर्दा वालिङ नगरपालिकाले खर्च पनि नपाएको बताए ।

समाजवादी पार्टीका सांसद हरिशरण आचार्यले गोरखामा बनाइने भनेको औद्योगिक ग्राम जग्गा विवादको कारण देखाउदै निर्माण नगर्ने षडन्त्र भइरहेको बताए ।

अघिल्लो आर्थिक वर्षदेखि नै गोरखाको च्याङ्लीमा बनाउने भनिएको औद्योगिक क्षेत्र बनाउन जनस्तरमा पुगेर अन्तर्क्रिया गर्न आचार्यले सरकारलाई आग्रह गरे ।

बिहीबारको संसद बैठकमा प्रदेश प्रज्ञा प्रतिष्ठान गठन तथा सञ्चालन सम्बन्धी विधेयक टेबल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment