Comments Add Comment
‘ए’ डिभिजन लिग फुटबल :

१२ औं चरणमा भयो २६ गोल, आर्मी र मछिन्द्रमध्ये कसले मार्ला बाजी ?

काठमाडौं । १४ क्लब सहभागी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ९१ मध्ये ८४ खेल सकिएको छ । १२ औं चरणसम्मको खेल सकिएको छ । अब अन्तिम चरणको ७ खेल बाँकी छ ।

रेलिगेनस पर्ने एक टिमको टुंगो लागिसकेको छ । तर उपाधि होड भने अन्तिम खेलसम्मै लम्बिएको छ । अर्थात् १२ औं चरणमा शीर्ष टोलीहरू त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब दुवैले जित हात पारेपछि लिगको उपाधिको टुंगो पनि अब यी दुईबीच शनिबार हुने खेलबाट नै हुनेछ ।

१२ औं चरणमा एपीएफले फ्रेण्ड्सलाई ५–२ ले हराउँदा च्यासल युथ क्लबसँग २–१ ले पारजित भएको सरस्वती युथ क्लब भने लिगमा १ खेलअगावै रेलिगेसनमा पर्‍यो । ०६८ मा शीर्ष डिभिजनमा उक्लिएको कोटेश्वरको सरस्वती ८ वर्षपछि ‘बी’ डिभिजनमा घटुवा भएको हो ।

अब उपाधि जित्ने टोलीको निर्णय भने अन्तिम खेलबाट हुनेछ । विभागीय टोली आर्मी र मछिन्द्र दुवै पहिलोपटक लिग उपाधि जित्ने होडमा छन् । आर्मी यसअघि उपविजेतासम्म भएको थियो । तर मछिन्द्र भने यसअघि लिगमा छैटौंसम्म भएको थियो भने यसअघिको राष्ट्रिय लिगमा दोस्रो भएको थियो ।

१२ औं चरणमा आर्मीले ब्रिगेडलाई ३–० ले पराजित गर्दा मछिन्द्रले साविक उपविजेता संकटा क्लबलाई ३–१ ले हरायो । यसले उपाधि होड दुई पक्षीय बनेको छ । अब अन्तिम खेल जित्ने टिमले उपाधि जित्नेछ । आर्मीले हार टारेमात्र पनि उपाधि उचाल्नेछ । तर मछिन्द्रले भने उपाधि जित्न आर्मीलाई हराउनै पर्नेछ । १२ खेलबाट आर्मी २९ अंकसहित शीर्ष स्थानमा छ भने २८ अंक जोडेको मछिन्द्र दोस्रोमा छ ।

यस्तै साविक विजेता मनाङ मर्स्याङदी क्लबले परिचित प्रतिस्पर्धी नेपाल पुलिसलाई २–० तथा थ्री स्टारले एनआरटीलाई १–० ले पराजित गर्दै शीर्ष ३ को दाबेदारी पेस गरेको छ । मनाङको २५ र थ्री स्टारको २३ अंक छ ।

यस्तै, १२ औं चरणको अन्तिम खेलमा हिमालयन शेर्पा र जावलाखेल युथ क्लबले ३–३ को बराबरी खेले ।

१२ औं चरणमा गोलको वर्षा हुँदा प्रति खेल गोल औषत ३ भन्दा माथि रह्यो । २ खेलमा ६ वा त्योभन्दा बढी गोल हुँदा १ खेलमा ४ र २ खेलमा ३–३ गोल भए । एक खेलमा २ र १ खेलमा १ गोल भयो । ६ खेलको स्पष्ट नतिजा आउँदा १ खेल बराबरीमा सकिएको थियो ।

१२ औं चरणको अन्तिम खेलमा जावालखेलविरुद्ध रेडकार्ड पाएका हिमालयन शेर्पाका निरज बस्नेत लिगमा २ रातो कार्ड पाउने पहिलो खेलाडी बनेका छन् ।

फ्रेण्डविरुद्ध २ गोल गरेका एपीएफका आशिष लामा ८ गोलसहित सर्वाधिक गोल गर्नेमा पहिलो स्थानमा उक्लिएका छन् । च्यासलका सन्तोष साहुखल १० गोलसहित दोस्रो स्थानमा छन् ।

ब्रिगेडविरुद्ध ३–० को जितमा आर्मीका लागि पहिलो गोल गरेका भरत खवासले लिगमा ५० औं गोल पूरा गरेका छन् । उनी यस्तो उपलब्धि हात पार्ने आठौं खेलाडीसमेत बने ।

लिगले च्याम्पियन पाउन अब ३ दिनमात्र बाँकी छ । ०६१ देखि लिग खेल्न थालेको आर्मी यसअघि ०६३ मा उपविजेता बनेको थियो। त्यसयता आर्मी फेरि लिग च्याम्पियननजिक पुगेको छ ।

यस्तै, ०२९ मा स्थापना भएको मछिन्द्रले यसपटक नाम चलेका खेलाडी भित्राएर लिगको सुरुवातदेखि उपाधिलाई नै एकमात्र लक्ष्य बनाएको थियो । मछिन्द्र पनि त्यसको नजिकै छ ।

दशरथ रंगशालामा आगामी शनिबार हुने यस सिजनको लिगको अन्तिम खेल उपाधि होडले गर्दा नै रोमाञ्चक बन्ने अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment