Comments Add Comment

गैडहवा तालमा पहिलोपटक स्टिमर र डुंगा सञ्चालन

तालमा कृषि तथा पर्यटन महोत्सव आयोजना

१ फागुन, बुटवल । रुपन्देहीको सबैभन्दा ठूलो गैडहवा तालमा आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरी पहिलोपटक डुंगा सञ्चालनमा ल्याइएको छ । स्थानीय र लुम्बिनी आउने पर्यटकलाई आकर्षित गर्न ३० जना र १६ जना क्षमताका दुईवटा स्टिमर तथा दुईवटा म्यानुअल गरी चारवटा डुंगा सञ्चालन गरिएको हो ।

५० बिघा जलाशयसहित ८४ बिघा क्षेत्रफलको ताल क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गैडहवा गाउँपालिकाले २० लाख रुपैयाँ लागतमा स्टिमर र डुंगा खरिद गरी चलाउन थालेको हो । संघीय सरकारले घोषणा गरेको पर्यटन वर्ष शुरुवातसँगै तालमा बाह्रै महिना नियमित डुंगा सञ्चालन थालिएको गाउँपालिका अध्यक्ष बच्चुलाल केवटले बताए । पहिलो वर्ष कम्तीमा एकलाख पर्यटकलाई डुंगा शयर गराउने उनले बताए ।

अर्को वर्ष स्टिमर थपेर ८ वटा पुर्‍याइने र वार्षिक दुईलाख पर्यटक भित्राउने लक्ष्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवी घिमिरेले बताए । हालसम्म माछापालन गरेर वार्षिक ८० लाख रुपैयाँ आम्दानी गर्दै आएको गाउँपालिकाले माछा पाल्न छाडेर अब डुंगा सञ्चालनमार्फत पर्यटनलाई प्राथमिकता दिई आम्दानी पनि दोब्बर बढाउने घिमिरेले बताए ।

हाल डुंगा शयर शुल्क सर्वसाधारणलाई ५० रुपैयाँ र विद्यार्थीलाई ३० रुपैयाँ तोकिएको छ । ‘गाउँपालिकाको विकास र समृद्धिको मुख्य आधार यही ताल नै हो, गाउँपालिकाको नामाकरण पनि तालकै नामबाट गरिएको छ,’ अध्यक्ष केवटले भने। ‘चालीस करोड लागतमा तालको गुरुयोजना पनि बनेको छ, तीन वर्षभित्र यो ताललाई पोखराको फेवाताल जस्तै आकर्षक बनाउछौं ।’

गैडहवा ताललाई गौडहवाकै वडा नम्बर ९ स्थित तुल्सीहवा ताल र कञ्चन गाउँपालिकाको कञ्चन नदीसँगै लुम्बिनीसम्म जोडेर एकीकृत जल पर्यटनको विकास गर्न सकिने सम्भावना रहेको गाउँपालिका अध्यक्ष केवट बताउँछन् ।

तालमा पर्यटन महोत्सव

गैडहवा ताल लुम्बिनीबाट १२ किलोमिटर उत्तर पश्चिममा छ । ताललाई प्रदेशकै नमूना जल पर्यटनको केन्द्र बनाउने लक्ष्यसहित संघीय सरकारको सहयोगमा ४० करोड लागतको गुरुयोजना बनेको छ । गुरुयोजना अनुसार काम गर्न संघीय सरकारले चालु वर्षमा ४० लाख रुपैयाँ बजेट दिएको छ ।

तालको पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले ३० लाख रुपैयाँ छुट्टाएको छ । तालको पर्यटन प्रवद्र्धनकै लागि भ्रमण वर्षको अवसर पारेर ताल परिसरमा पहिलोपटक पर्यटन तथा कृषि महोत्सव समेत आयोजना गरिएको छ ।

ताल परिसरमा बिहीबारदेखि फागुन १० गतेसम्म १० दिने महोत्सव हुन थालेको हो । ‘पर्यटकको सम्मान, गैडहवा ताल हाम्रो शान’ नारा सहित आयोजित महोत्सवमा पर्यटन, कृषि, सूचना प्रविधि र विज्ञानसम्बन्धी सयवटा स्टल राखिएको महोत्सवका प्रचार प्रसार समिति सहसंयोजक सन्दिप गुप्ताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment