Comments Add Comment

मूल नेतृत्वको गद्दारीले जनयुद्ध धक्का खायो : मोहन वैद्य

१ फागुन, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले नवसंशोधनवादी विचलन र मूल नेतृत्वको गद्दारीका कारण अहिले जनयुद्ध र क्रान्तिको प्रक्रियाले गम्भीर धक्का खाएको जनाएको छ । नेपाली नयाँ जनवादी क्रान्तिले धक्का खाए पनि क्रान्तिको प्रक्रिया समाप्त भने नभएको उसको ठहर छ ।

२५ औं जनयुद्ध दिवसको अवसरमा बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य (किरण)ले भनेका छन्, ‘माओवादी आन्दोलनभित्रै मूल नेतृत्वमा पैदा भएको नवसंशोधनवादी विचलन र गद्दारीका कारण अहिले जनयुद्ध र क्रान्तिको प्रक्रियाले गम्भीर धक्का खान पुगेको छ ।’

तत्कालीन माओवादी अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै वैद्यले भनेका छन्, ‘दश वर्षको महान जनयुद्ध, झापा विद्रोह र विभिन्न जनआन्दोलमा जनताले बगाएको रगतको आहालमा टेकेर सरकारमा पुगेका नेताहरुले आज घरेलु प्रतिक्रियावादी सत्ताको नेतृत्व गर्दै साम्राज्यवाद र विस्तारवादको दलाली गरिरहेका छन् ।’

प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि १० वर्षसम्म सशस्त्र युद्ध सञ्चालन गरेको थियो । सरकार र माओवादी दुवै पक्षबाट १७ हजार जनाको ज्यान गएको सोही युद्धलाई ‘जनयुद्ध’ भन्ने गरिन्छ । २०६३ मंसिर ५ गते हतियार बिसाउँदै शान्ति प्रक्रियामा आएको माओवादी बिभाजन भएर वैद्य समूह अलग भएको थियो । प्रचण्ड नेतृत्वको माओवादीले भने तत्कालीन नेकपा एमालेसँग पार्टी एकता गरेको थियो । हाल प्रचण्ड एमाले र माओवादी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष छन् ।

क्रान्तिको प्रक्रिया अनेकौं चक्रहरु पार गर्दै अडाडि बढ्ने बताउँदै वैद्यले नेपाली नयाँ जनवादी क्रान्तिले धक्का खाए पनि क्रान्तिको प्रक्रिया समाप्त नभएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हाम्रो पार्टी नेपाली तथा विश्व सर्वहारा क्रान्तिका सकारात्मक तथा नकारात्मक अनुभवहरुबाट सिक्दै र मार्क्सवाद–लेनिनवाद–माओवादलाई नेपाली विशेषतामा सिर्जनात्मक ढङ्गले लागु गर्दै नेपाली नयाँ जनवादी क्रान्तिको तयारीमा जुटेको छ ।’

विभिन्न समूहमा छरिएर रहेका क्रान्तिकारी पार्टीहरुलाई क्रान्तिको प्रक्रियामा गोलवन्द भई अगाडि बढ्न वैद्यले आह्वानसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment