Comments Add Comment

ठोरीमा तरकारी खेती गर्ने कृषक समूहलाई हाते ट्याक्टर

१ फागुन, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकाले मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने किसानलाई प्रोत्साहित गर्न अनुदान कार्यक्रम ल्याएको छ । गाउँपालिकाले समूहमा आवद्ध किसानलाई अनुदानमा कृषि औजार उपकरण सहयोग गरिरहेको हो ।

तरकारी खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले कृषक समूहलाई हाते ट्याक्टर लगायतका कृषि औजार उपकरण सहयोग गरिरहेको गाउँपालिकाका अध्यक्ष पदम बहादुर श्रेष्ठ (पीएल)ले जानकारी दिए ।

‘व्यवसायिक तरकारी खेति गर्ने किसानलाई लक्षित गरेर गाउँपालिकाले अनुदान कार्यक्रम ल्याएको हो,’ उनले भने, ‘पहिलो चरणमा ५ वटा हाते ट्याक्टर किनेका छौं, तरकारी खेती गर्ने कृषक समूहलाई दिन्छौं । यसले किसानलाई तरकारी खेतीका लागि बारी तयार पार्न सघाउँछ ।’

गाउँपालिकामा दर्ता भएका कृषक समूह वा कृषि सहकारीलाई मात्रै यस्तो अनुदान दिइने उनले बताए । ‘कम्तीमा ३/३ कठ्ठाका दरले तरकारी खेती गर्ने २० जना किसान सदस्य भएको समूह वा कृषि सहकारीलाई अनुदान कार्यक्रममा समावेश गर्छौ,’ अध्यक्ष श्रेष्ठले भने, ‘किसान समूहको कामको अनुगमन गरेर हाते ट्याक्टर, सर्मसियल पम्पसेट, पानी तान्ने मोटर निशुल्क दिनुको साथै बिजुली जडान समेत गरिदिन्छौं ।’

किसान व्यवसायिक तरकारी खेतीमा लागेको खण्डमा उनीहरुको आर्थिक अवस्थामा सुधार आउने विश्वास गाउँपालिकाको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापाले ९ हर्सपावरको ५ वटा ट्याक्टर ६५ हजारका दरले खरिद गरेर कृषक समूहलाई वितरण गरिएको जानकारी दिए । २ वटा कृषि सहकारी र ३ वटा कृषक समूहलाई साम”हिक प्रायोजनका लागि हाते ट्याक्ट्र हस्तान्तरण गरिसकिएको उनको भनाइ छ । गाउँपालिकामा ८ वटा कृषि सहकारी र ३ वटा कृषक समूह दर्ता छन् ।

‘समूहले नै डिजल र मर्मत सम्भारका लागि आवश्यक शुल्क निर्धारण गछर्न र समूहिक प्रायोजनमा प्रयोग गर्छन्,’ प्रशासकीय अधिकृत थापाले भने, ‘अन्य समूहबाट पनि ट्याक्टरको माग आएको छ । मापदण्ड पुरा भए नभएको बुझेर गाउँपालिकाले उनीहरुलाई पनि सहयोग गर्छ ।’

गाउँपालिकाले हाते ट्याक्टर लगायतका सामाग्री कृषक समूह र सहकारीलाई अनुदान स्वरुप हस्तान्तरण गरेपछि स्थानीय किसान पनि खुशी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment