Comments Add Comment
सन्दर्भः विश्व रेडियो दिवस :

के रेडियो ओरालो लागेको हो ?

न्यू मिडिया : परम्परागत मिडियाका प्रतिस्पर्धी कि परिपूरक ?

रेडियोको उपादेयता ओरालो लागेको हो ? के रेडियो सुन्न मानिसहरुले छाडेका हुन् ? अनि बजारमा रेडियो सेट विक्न छोडेका हुन् त ? इन्टरनेटमा आधारित न्यू मिडियाले पत्रिका, टेलिभिजन र रेडियो जस्ता परम्परागत मिडियाको भविष्य अन्त गर्न लागेका हुन् ? अनि न्यू मिडिया परम्परागत मिडियाका प्रतिस्पर्धी भैरहेका छन् कि परिपूरक ? आज फेवु्रअरी १३ तारिखमा विश्वभर ‘रेडियो र विविधता’ नारासहित नवौं विश्व रेडियो दिवस मनाईंदै गर्दा यीनै प्रश्नहरुको जवाफ यो आलेखमा खोज्ने प्रयास गरिएको छ ।

इन्टरनेटको बढ्दो उपयोग सँगै पत्रिका, रेडियो र टेलिभिजन जस्ता परम्परागत सञ्चार माध्यमको उपादेयता वा प्रभाव खुम्चिँदै गएको हो कि भन्ने धारणा सही/गलत औंल्याउनु अघि सोचौं त अहिले मोवाइलमा समय हेर्न मिल्छ । तर, के बजारमा घडि बिक्री हुन छाडेको छ ? मोबाइलबाट फोटो खिच्न मिल्छ । तर, के बजारमा क्यामरा विक्न छाडेको छ ? मोबाइलमा क्यालकुलेटर र क्यालेण्डर पनि छ । के यी दुवै बजारमा अहिले पाइँदैनन् त ? जब कि दुई वर्ष अघि सरकारले जारी गरेको आर्थिक सर्वेक्षणका अनुसार नेपालको जनसंख्या भन्दा बढी अर्थात् झण्डै तीन करोड २८ लाख मोबाइल फोन नेपालीले उपयोग गरिरहेका छन् । सेयरकाष्ट इनिसियटिभले गरेको सर्वेले पनि ९० प्रतिशत नेपाली संग मोवाइल सेट भएको देखाएको छ । यो संख्याका आधारमा हेर्दा त मोबाइलले बाँकी डिभाइसहरु विस्थापित गरिसक्नुपथ्र्यो ।

एउटा अलि पुरानो कुरा गरौं ।

७० को दशकमा टेलिभिजन ह्वारह्वार्ती आएपछि भारतीय छापा मिडियाका सम्पादकहरु छट्पटिएका थिए । सबै खबर जस्ताको तस्तै अघिल्लै दिन टीभीले देखाउँछ । उनीहरुको चिन्ता थियो – पत्रिकामा भोलिपल्ट बासी त्यो खबर कसरी विक्छ ? तर, उनीहरुले घटना मात्रै समाचार बनाउने सोच बदले । ‘कन्टेन्ट’ बदले । ‘पेज थ्री’को परिकल्पना गरे । अहिले ५० वर्ष पछि पनि भारतमा छापा मिडियाको प्रभाव उस्तै छ ।

हाम्रै कुरा गरौं न । गोर्खापत्र पत्रिका प्रकाशन हुनु यताका झण्डै सवा सय वर्षमा पनि छापा माध्यमको प्रभाव र दबाव उस्तै छ । अझ भन्ने हो भने निजी क्षेत्रका दैनिकको पछि पछि लागेर पुरानो सरकारी अखबार गोरखापत्र त बल्ल गाउँ पस्दैछ, पूर्वी नेपालको विराटनगर र पश्चिमको कोहलपुर मार्फत् ।

हो पुरानोले आफूलाई समय अनुसार बदल्दै र अनुकुल गर्दै लान नसक्ने हो भने डायनोसर भइँदैन भन्ने ग्यारेन्टी कसैले दिन सक्दैन । समयको गति पकड्न नसक्दा फोटो दुनियाँको बादशाह कोडाक कम्पनीको हरि विजोग वा मोबाइलमा साम्राज्य फैल्याएको नोकियाको विजोग उदेक लाग्दा उदाहरण हुन् । तर, विचार गरौं त एक सय वर्ष भन्दा बढी राज गरेको कोडाक कम्पनीको पो हरिविजोग भयो त फोटो संसार झन् झन् बढ्दो छ । अनि डेड सय वर्षमा करोडौं मानिसको सञ्चार सम्पर्कको डिभाइस बनाउने नोकिया कम्पनी पो उँभो लाग्न सकेन त मोबाइलको बजार रात दिन सयौं गुणा बढिरहेको छ ।

रेडियो मिडियाको उपादेयता ओरालो लागेको हो ? तथ्यले होइन भन्छ । संसारका कुनै पनि एक से एक विकसित मुलुकमा रेडियो प्रचलनमा छन् र लोकप्रिय छन् । खाली रेडियो रिसिभ गर्ने वा प्रसारण गर्ने माध्यमले चोला फेर्दै गएका छन् । बन्द भएका छन् त प्राथमिकता बदलिएर वा आर्थिक अवस्था बिग्रेर । स्रोता नभएकाले रेडियो बन्द भएका उदाहरण विश्वभर कहीँ छैनन् । के रेडियो सुन्न मानिसहरुले छाडेका हुन् ? सेयरकाष्ट इनिसियटिभले गत वर्ष गरेको सर्वेक्षण अनुसार ४९ प्रतिशत नेपालीले रेडियो सुन्छन् । अनि बजारमा रेडियो सेट बिक्न छोडेका हुन् त ? परम्परागत रेडियो मात्र सुन्न मिल्ने सेट फेरिएका छन् । रेडियो पनि बजाउन मिल्ने आधुनिक उपकरण बजारमा धमाधम विक्रि भैरहेको बिक्रेताहरु बताउंछन् । फरक के छ भने रेडियो मात्र पाइने पसल छैनन् ।

यो पनि पढ्नुहोस नेपालमा सामुदायिक रेडियो र विविधता

इलेक्ट्रोनिक्स सामानका पसल बढेका छन् । बरु व्याट्री पनि हाल्न नपर्ने रिचार्जेवल सुविधा थपिएका छन् । न्यू मिडियाले रेडियो जस्ता परम्परागत मिडियाको भविष्य अन्त गर्न लागेका हुन् ? होइनन् । बरु न्यू मिडिया परम्परागत मिडियाका प्रतिष्पर्धी नभइ परिपुरक हुन् । मिडिया अनुसन्धानकर्मी उज्जवल आचार्य मिडियाका नयाँ ‘प्लेटफर्म’ आउँदा पुरानाको भूमिका फेरिने तर ‘आउटडेटेड’ भइ ‘रिप्लेस’ कहिल्यै नहुने बताउँछन् । ‘न पत्रिकालाई रेडियोले, न रेडियोलाई टीभीले न न्यू मिडियाले कसैलाई ‘रिप्लेस’ गर्छ’ उनी भन्छन् ।

परम्परागत मिडियाले न्यू मिडियालाई उपयोग गरेर झन् फैलिने र फुक्ने मौका पाएका छन् । काठमाडौंमा बिहान छापिने अखबारहरु घरघरमा पुग्नु अघि नै रेडियोले देशभरका कुना कन्दरामा अखबारी खबर पस्की दिन्छन् । अनि अनलाइनमा छापिने सामग्रीका आधारमा पनि रेडियोले खबर पस्केर व्यापक वनाइ दिएका हुन्छन् । हो, वौद्धिक बहसको विषय चांहि कपिराइट वा स्रोत खुलाइएको छ छैन भन्ने हो । इन्टरनेट माध्यम आम नेपालीका लागि सहज उपभोग गर्न सक्ने अवस्थामा हालसम्म छैन । पत्रिका, टेलिभिजनको पहुँच पनि आम नेपाली माझ अझै पुगेको छैन । यस्तो अवस्थामा शहरमा वा राजधानीमा बस्ने र घरमा वाइफाइ भएका वा कार्यालयमा फ्रिमा नेट चलाउनेहरुले सायद पुराना मिडिया सकिन लागेको अनुमान गर्दा हुन् । तर, विश्वभरको अभ्यास हेर्दा अनि नेपालको भुवनोट र गरिबीको हेक्का राख्दा यथार्थ त्यस्तो देखिँदैन ।

समस्या चाहिँ नभएका होइनन् । एफएम रेडियोको इजाजत हजार बढीले लिए, ८ सय बढी प्रसारणमा गए । सय बढी बन्द नै भए । चाहिने भन्दा बढी रेडियोको संख्या, उस्तै कन्टेन्ट, दक्ष जनशक्तिको कमी, अनि साधन स्रोतको अभाव छ । सुस्पष्ट लक्ष्य छैन । त्यसैले अलमल पनि छ । तर, संसार भर गरिबको आफ्नो मिडिया रेडियोलाई मानिन्छ । किनभने यो सस्तो उपकरणमा निशुल्क सुन्न सकिन्छ । पत्रिका पढ्न, टिभी हेर्न जसरी थपक्क बस्नु पनि पर्दैन । अरु काम गर्दै पनि रेडियो सुन्न सकिन्छ । त्यसैले कामकाजीका लागि पनि सहज छ ।

हो, विकसित मुलुकमा उपकरणमा सुधार गरिएको छ । आधुनिक बनाइएको छ । कन्टेन्ट परिपक्व र योजनावद्ध छ । नर्वेले सन् २०१८को जनवरीदेखि रेडियो प्रसारणको एफएम प्रविधि हटाएर ‘डिजिटल अडियो ब्रोडकास्टिङ सिस्टम’ (डीएबी)मा फड्को मारेको छ । डिजिटल प्रवेशको तयारी हुने वित्तिकैको झण्डै तीन महिनामा त्यहां ६ लाख २० हजार रेडियो सेट बिकेका थिए ।

नर्वे, अमेरिका, स्वीडेन, वेलायत जस्ता ४१ देशहरुमा यो प्रविधि उपयोग भैरहेको छ । एउटै व्याण्डवीथबाट अझ धेरै रेडियो च्यानल प्रसारण गर्न सकिने आधुनिक प्रविधि हो डीएवी वा एचडी । विकसित देशहरुमा त रेडियो मिडिया ‘डेट एक्सपायर’ भएको छैन भने नेपालजस्तो भू-बनोट र अधिकांश जनता गरिवीको रेखामुनी भएको देशमा यसको महत्व घट्ने कुरै भएन ।

अनुवभी रेडियोकर्मीहरु त नेपालमा रेडियोको भविष्य अब सुरु हुन लागेको बताउँछन् । किनभने स्थानीय बजारले धान्ने मिडिया दिगोसम्म बाँच्ने हुन् । स्थानीय चुनाव अघिसम्म प्रोजेक्टबाट रेडियो ‘कन्टेन्ट’ मार्फत् आउने ‘सोसल फण्ड’ लगभग अहिले १० प्रतिशतमा झरिसकेको छ । र, संघीय राजधानीबाट आउने कर्पोरेट विज्ञापन पनि हाल झण्डै २० प्रतिशतमा झरेको छ । यस्तो अवस्थामा स्थानीय स्रोतबाट चल्ने रेडियो वा अरु मिडिया मात्रै टिक्ने हुन् । स्थानीय बजारले कति थेग्छ यो कुराको परख आरम्भ भैसकेको छ ।

रेडियोहरुका छाता संस्था र तालुक मन्त्रालय जस्ता अभिभावक संस्था गम्भीर हुन चाहिँ जरुरी छ । छाता संस्थाहरु परिणाम देखिने गरी दबावकारी हुन नसकेका अधिकांश रेडियो संचालकहरुको गुनासो छ । सञ्चार मन्त्रालय इजाजत बेच्ने, कर उठाउने र अचेट्ने ध्याउन्नमै व्यस्त देखिन्छ । कुल कारोबारको २ प्रतिशत रोयल्टी र नवीकरणका नाममा वर्षेनी करोडौं रकम संचार मन्त्रालयले रेडियोबाट असुल्छ । तर, इजाजत दिने र कर असुल्ने काम बाहेक केहि नगरेको रेडियो सञ्चालकहरुको आरोप छ । च्याउ उम्रै झैं वैंक तथा वित्तिय संस्था खुलेपछि नियमक राष्ट्र बैंकले ‘मर्जर’ अभियान चलायो । विद्युतीय माध्यमको नियमक निकाय नै छैन ।

यो पनि पढ्नुहोस रेडियो दिवसमा रेडियोको भूमिकाबारे छलफल

यस्तो प्रतिकुल अवस्थाका बीच पनि कैयौं रेडियोले समग्रमा राम्रो गरेका छन् । थारु, उर्दु, मैथिली, नेवारी लगायत पछि परेको समुदायको नेतृत्व र भाषामा रेडियो चलेका छन् । ८० भन्दा बढी स्थानीय भाषामा रेडियोमा कार्यक्रम तथा समाचार प्रसारण भैरहेका छन् । ठूलो हिस्साका नेपाली माझ सूचनाको पहुँच जोडेका छन् । जनताको करोडौं लगानी छ । हजारौं जनशक्ति संलग्न छ । ‘विश्व रेडियो दिवस’को यो दिन आजसम्म नेपाली रेडियोले हासिल गरेको उपलव्धिको अध्ययन गरी पछिल्लो पुस्तालाई हस्तान्तरण गर्दै थप राम्रोका लागि प्रण गर्नु पर्ने बेला हो ।

(पत्रकारिता विषयमा स्नाकोत्तर अधिकारी कृष्णसार एफएम नेपालगञ्जका कार्यकारी प्रमुख हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment