Comments Add Comment
सन्दर्भ नवौं विश्व रेडियो दिवस :

रेडियो र विविधता

आज फेब्रुअरी १३ । नवौं विश्व रेडियो दिवस । नवौं विश्व रेडियो दिवसको नारा ‘रेडियो र विविधता’ तय भएको छ । विश्वमा रेडियो प्रसारण सुरुवात भएको १०० वर्ष पुगे पनि रेडियो दिवस मनाउने थालनी भने सन् २०१२ बाट भयो । विज्ञान र प्रविधिको विकासले रेडियो प्रसारणमा ठूलो परिवर्तन ल्याएको छ । अब रेडियो प्रसारण परम्परागत एनालगबाट डिजिटल प्रसारण प्रणालीमा प्रवेश गरिसकेको छ । टेरिस्टोरियल रेडियो प्रसारणबाट अनलाइन प्रसारणमा फड्को मारेको छ । प्रविधिको विकासले रेडियो प्रसारणलाई सहज बनाउनुका साथै प्रसारणमा विविधता ल्याएको छ । रेडियोका स्रोतामा समेत प्रविधिले परिवर्तन ल्याएको छ । रेडियो सुन्न रेडियो सेटमै भर पर्नुपर्ने अवस्था फेरिएको छ । रेडियो स्रोताको अनुकूलको माध्यम रेडियो सेट, मोबाइल, ल्यापटपलगायतबाट सुन्न सकिन्छ । फ्रिक्वेन्सीमा रेडियो सुन्दा टेरिस्टोरियलको प्रसारण क्षेत्रमा सीमित हुनुपर्ने अवस्थाबाट अनलाइन एवं सामाजिक सन्जाल मार्फत संसारभर सुन्न सकिने अवस्था छ ।

पहिलो विश्वयुद्घको समाप्तीसँगै विश्वमा रेडियो प्रसारण व्यापक रुपमा विस्तार भयो । तत्कालीन समयमा सूचनाको भरपर्दाे माध्यम पत्रपत्रिका नै थियो । रेडियो प्रसारणले पत्रपत्रिकालाई त चुनौति दियो नै साथमा आमसञ्चार क्षेत्रमा ठूलै हलचल ल्यायो । रेडियो सूचना, समाचार र मनोरञ्जनको लागि महत्वपूर्ण साधन हुन पुग्यो । यातायातको विकास भइनसकेको क्षेत्र एवं लेखपढ गर्न नसक्नेहरुका निम्तिसमेत रेडियो उपयोगी माध्यम हुन पुग्यो । अन्य सञ्चार माध्यमको पहुँच नपुगेको ठाउँहरुमा रेडियोको सहज पहुँच हुन थाल्यो । रेडियोको यिनै विशेषताहरुले रेडियो प्रसारण आरम्भ भएको छोटो अवधिमै विश्वका अधिकांस स्थानहरुमा रेडियोको प्रसारण पहुँच विस्तार भयो ।

नेपालमा रेडियो प्रसारण थालनी नहुँदै भारतमा सञ्चालित रेडियो नेपाली भूभागमा सुन्न सकिन्थ्यो । यद्यपि राणाकालीन समयमा रेडियो सेट सर्वसाधारणले राख्नसमेत मुश्किल थियो । अहिले एफएम रेडियो सञ्चालनको लागि सजिलै इजाजत पाइन्छ । तत्कालीन समयमा रेडियो सेट राख्न समेत सरकारबाट इजाजत लिनुपर्ने व्यवस्था थियो । सामान्य आय भएका मानिसले रेडियो किन्नसमेत कठिन थियो । गाउँ घरमा रेडियो भएको घरमा जम्मा भएर आफूलाई मन पर्ने कार्यक्रम सुन्ने चलन थियो ।

प्रविधिको विकास र राजनीतिक परिवर्तनले रेडियो प्रसारणमा क्रान्ति नै ल्यायो । नेपाल दक्षिण एशियाली मुलुकहरुमा नागरिकको स्वामित्वमा एफएम रेडियो सञ्चालन गर्ने पहिलो मुलुक बन्न पुग्यो । सरकारी स्वामित्वको रेडियो नेपाल सञ्चालनमा आएको करिव पाँच दशक पश्चात २०५४ सालमा सामुदायिक रेडियो, रेडियो सगरमाथाले प्रसारणको इजाजत प्राप्त गरेको थियो ।

गाउँघरमा विवाह, व्रतवन्धको निम्तोदेखि मृत्युपश्चात मलामी जाने खबरसमेत रेडियोबाट पाउने चलन बसेको छ । यात्रा गर्दागर्दै, काम गर्दागर्दै पनि रेडियो सुन्न सकिने भएकाले यो विपन्न, जोखिमपूर्ण अवस्थामा रहेका समुदायको समेत सञ्चार साथी बनेको छ

नेपालमा एफएम रेडियो प्रसारण थालनी भएको २२ वर्ष पूरा भएको छ । यो अवधिमा नेपालका ७७ वटै जिल्लामा सामुदायिक एफएम रेडियो प्रसारणमा छन् । हिजो रेडियो प्रसारण सुन्नसमेत रेडियो भएको छिमेकी खोज्नुपर्ने व्यक्ति आज रेडियो प्रसारक बन्ने मौका पाएका छन् । यो अपूर्व परिवर्तन हो । राज्य र सरकारसँग मात्र रेडियो प्रसारणको अधिकार रहने जमानाबाट आज नागरिक र समुदायको हातमा पुगेको छ । सय वर्षको रेडियो प्रसारणको विगतदेखि वर्तमानसम्म नियाल्दा यसको विश्वसनियता र लोकप्रियतामा कुनै कमी आएको छैन । यसको व्यापक पहुँचले सबै तह र तप्कालाई सेवा पुर्‍याइरहेको छ । यो सरल त छँदैछ । तुलनात्मक रुपमा यो कम खर्चिलो अनि छिटो सञ्चार गर्न सक्ने माध्यमका रुपमा स्थापित छ । रेडियो बोलीको माध्यम भएकाले यो सुन्नुको आकर्षण छुट्टै छ ।

नेपाली समाज श्रृति पम्पराबाट विकसित हुुँदै आएकाले रेडियोको महत्व र आकर्षण विशेष छ । भौगोलिक कठिनाइका कारण पत्रपत्रिका पुग्न नसक्ने र पुगे पनि सहज उपभोग गर्न नसक्ने स्थानका लागि रेडियो निर्विकल्प नै छ । स्थानीय लवज र भाषामा सूचना, समाचार र कार्यक्रम प्रसारण गर्ने हुनाले रेडियोको मोह स्थानिय समुदायमा कायम छ । स्थानिय समुदायले आफ्ना रुचि र सरोकारका सवाल रेडियो मार्फत सार्वजनिक गर्न पाउने अवसरका कारण पनि रेडियो लोकप्रीय छ । स्थानिय समुदायको कला र गला प्रस्तुत गर्ने थलो समेत सामुदायिक रेडियो बनेका छन् । गाउँघरमा विवाह, व्रतवन्धको निम्तोदेखि मृत्यु पश्चात मलामी जाने खबर समेत रेडियोबाट पाउने चलन बसेको छ । यात्रा गर्दागर्दै, काम गर्दागर्दै पनि रेडियो सुन्न सकिने भएकाले यो विपन्न, जोखिमपूर्ण अवस्थामा रहेका समुदायको समेत सञ्चार साथी बनेको छ । विपद् एवं संकटको घडीमा अत्यावश्यक जानकारीदेखि राहत र उद्घारको जानकारीका लागि रेडियोमै निर्भर हुनुपर्ने अवस्था छ ।

सामुदायिक रेडियो र विविधता

प्रसारणको प्रकृति हेरेर यसलाई तीन तहमा वर्गीकरण गरिएको छ । राज्यले विनियोजन गर्ने बजेटबाट सञ्चालन हुने स्वायत्त प्रसारणलाई सार्वजनिक सेवा प्रसारणको रुपमा परिभाषित गरिएको छ । लक्षित समुदायको स्वामित्व सहभागिता र सक्रियतामा सञ्चालन हुने प्रसारणलाई सामुदायिक प्रसारण मानिन्छ । नाफामुलक कम्पनीको स्वामित्वमा सञ्चालन हुने प्रसारणलाई व्यापारिक प्रसारणको रुपमा परिभाषित गरिएको छ । विश्वमा यी तीन प्रकारका प्रसारण सञ्चालनमा छन् । नेपालको आम सञ्चारसम्बन्धी नीति २०७२ ले सार्वजनिक सेवा प्रसारण, सामुदायिक प्रसारण र निजी प्रसारणको संक्षिप्त व्याख्या गरेको छ ।

सुवास खतिवडा

यहाँ सामुदायिक रेडियो र यसका मूल्य मान्यताको चर्चा गरिएको छ । सामुदायिक रेडियोको स्थापना र सञ्चालन समुदायकै नेतृत्वमा हुन्छ । रेडियो समुदायको स्वामित्वमा हुन्छ । समुदायकै सहभागिता र सक्रियतामा रेडियो सञ्चालन हुन्छ । सामुदायिक रेडियोको विश्वव्यापी मूल्य मान्यता भनेकै स्थापनाको प्रारम्भिक चरणदेखि नै लक्षित समुदायको खुल्ला सहभागिता हो । सामुदायिक प्रसारणको सुरुवातदेखि नै समुदायका अल्पसंख्यक, आर्थिक अवस्था कमजोर भएका र फरक क्षमता भएकाको सहभागितालाई जोड दिइन्छ ।

अल्पसंख्यक, विपन्न र कमजोर वर्गभित्रको पनि सबैभन्दा कमजोरको प्रतिनिधित्वलाई सुनिश्चित गर्नु यसको उद्देश्य हुन्छ । उदाहरणको लागि कुनै खास भुगोललाई लक्षित गरेर स्थापना भएको सामुदायिक रेडियोको सदस्यता समुदायका सबैको लागि खुल्ला गरिन्छ । सदस्यताको मापदण्ड बनाउँदा समुदायको सबैभन्दा कमजोर र विपन्न परिवारले सजिलै सदस्य बन्न सक्ने गरी तय गरिन्छ । सदस्यता सबैको लागि खुल्ला राख्ने तर सदस्यता शुल्क धेरै राखियो भने विपन्न व्यक्ति बाहिरिने अवस्था बन्न सक्छ । हैसियत र पहुँच भएकाहरुको हालिमुहाली हुने तर कमजोर व्यक्तिको सहभागिता हुन सकेन भने समुदायको सही प्रनिधित्व हुन सक्दैन । यसले समाजको विविधता र बहुलताको प्रतिनिधित्ललाई समेत अवरोध पुर्‍याउछ । समाजको विविधतापूर्ण प्रतिनिधित्व सहितको नेतृत्वले मात्रै समुदायको रुचि, चाहना र आवश्यकताको पहिचान गर्न सक्छ भन्ने विश्वास गरिन्छ । यस्तो विविधतापूर्ण सहभागिताबाट निर्माण हुने नीति, नियममा सवैको स्वामित्वबोधसमेत हुन्छ ।

सामुदायिक प्रसारण संस्थाले आफ्नो नीति बनाउँदा आधारभूत अधिकारबाट बञ्चितहरुकोे प्रतिनिधित्वलाई प्राथमिकता दिने अभ्यास छ । संस्थाको सञ्चालक समिति बनाउँदा वा नियमित रुपमा रेडियो सञ्चालन गर्ने समूह छनौट गर्दासमेत समावेसिताको सिद्घान्तलाई आत्मसाथ गरिन्छ । हाम्रा कतिपय संघ संस्था लोकतान्त्रिक मूल्य मान्यता र विधिबाट सञ्चालित छन् । तर, नेतृत्व तहमा सधैं केही व्यक्ति रहिरहने परिपाटी बसेको देखिन्छ । यस्तो प्रवृत्ति अन्त्य गरी प्रजातान्त्रिक विधिबाट आवधिक रुपमा नयाँ नेतृत्व निर्वाचित गर्ने प्रवन्ध गरिनुपर्छ । उदाहरणको लागि संस्थाको विधानमै प्रमुख नेतृत्व तहमा अधिकतम दुई कार्यकालसम्म एउटा व्यक्तिले नेतृत्व गर्न सक्ने सीमा तय गर्नु पर्दछ । यस्तो व्यवस्थाले नेतृत्व परिवर्तन हुनुका साथै नयाँ सदस्यले नेतृत्वको अवसर प्राप्त गर्दछन् ।

रेडियोलाई विश्वसनीय र रुचिपूर्ण माध्यम बनाउने रेडियोकर्मिहरुकै भूमिकाले हो । रेडियोमा कार्यरत जनशक्तिको कठिनाइ एवं समस्याहरु बुझ्ने र समाधान गर्ने दायित्व रेडियो सञ्चालक र व्यवस्थापकको हो । यसमा संवेदनशिल बन्नै पर्छ

सामुदायिक प्रसारकको निम्ति प्रसारण संस्थाको संगठनात्मक संरचना पनि महत्वपूर्ण पक्ष हो । सामुदायिक रेडियोको लागि विषयवस्तु जति महत्वपूर्ण छ, संगठनात्मक संरचना पनि उत्तिकै महत्वपूर्ण छ । जसरी रेडियोबाट प्रसारण हुने विषयवस्तुले प्रभाव पारेको हुन्छ । रेडियोको संरचना कसरी निर्माण गरिएको छ ? रेडियो सञ्चालक समितिमा लक्षित समुदायको प्रतिनिधित्व छ कि छैन ? समुदायको विविधता र बहुलतालाई संगठनको समावेशीताको नीति र अभ्यासमा अटाउन सकिएको छ कि छैन ? गहनतापूर्वक मूल्याकंन गर्नुपर्छ ।

सामुदायिक प्रसारणमा समुदाय महत्वपूर्ण हो । समुदायको स्वामित्व, सहभागिता र सक्रियता रेडियोको निम्ति जीवनरुपी इन्जिन हो । इन्जिनको बनौट सही ढंगले भएको छ भने अवश्य पनि सामुदायिक रेडियो रुपि यन्त्रलाई लक्ष्य, उद्देश्यसहितको गन्तव्यमा पुर्‍याउन सकिन्छ । समुदायमा उपलब्ध साधन स्रोतमा आत्मनिर्भर हुने गरी प्रसारण संस्थाको स्थापना, दैनिक सञ्चालन र व्यवस्थापन गर्न सकेमा लामो दुरीको यात्रा तय गर्न सकिन्छ ।

नवौ विश्व रेडियो दिवस मनाइरहँदा रेडियोकर्मीको पनि चर्चा गर्नु आवश्यक छ । रेडियोमा कार्यरत जनशक्तिको सिप, क्षमता र सिर्जनशिलताले यसको प्रभावकारीता निर्धारण हुन्छ । रेडियो संख्यात्मक रुपमा बढ्दै जाने तर रेडियोमा काम गर्न चाहनेहरुले आधारभूत सीप एवं तालिमसमेत पाउन कठिन हुने अवस्था छ । सामुदायिक रेडियोमा सयौको संख्यामा स्वयंसेवी कार्यरत हुनुहुन्छ । उहाँहरुले निःशुल्क रुपमा सेवा दिइरहनु भएको छ । कतिपयले आफ्नो विशेषज्ञता रेडियो मार्फत समुदायसम्म पुर्‍याइरहनु भएको छ । अवश्य पनि रेडियोलाई विश्वसनीय र रुचिपूर्ण माध्यम बनाउने रेडियोकर्मिहरुकै भूमिकाले हो । रेडियोमा कार्यरत जनशक्तिको कठिनाइ एवं समस्याहरु बुझ्ने र समाधान गर्ने दायित्व रेडियो सञ्चालक र व्यवस्थापकको हो । यसमा संवेदनशिल बन्नै पर्छ । सूचना, अभिव्यक्ति र संवादको भरपर्दाे माध्यम रेडियो आगामी दिनमा नागरिकको अझ धेरै सामिप्यमा रहन सकोस् रेडियो दिवसको शुभकामना ।

(खतिवडा सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) नेपालका अध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment