Comments Add Comment

सप्तरीमा मुस्लिम धार्मिकसभा रोक्न गृह मन्त्रालयको सर्कुलर

२ फागुन, सप्तरी । मुस्लिम समुदायले सप्तरीमा गर्न लागेको धार्मिक सभा अगाडि नबढाउन गृह मन्त्रालयले आदेश दिएको छ ।
आयोजकले प्रतिवद्वता पूरा नगरेको भन्दै मुस्लिम समुदायको धार्मिक सभामाथि मन्त्रालयले रोक लगाएको हो ।

धार्मिक सभामा नेपालसहित भारतका मात्रै मुस्लिम धर्माम्बलीको सहभागिता हुने बताइए पनि विश्वका धेरै देशका मुस्लिम धर्मावलम्बीहरुको सहभागिता गराइएको भन्दै गृह मन्त्रालयले कार्यक्रम नगर्न भनेको स्रोतले अनलाइनखबरलाई बतायो ।

गृह मन्त्रालयले बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्राचार गरी कार्यक्रम स्थगित गर्न भनेको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी खनालले आयोजकहरुद्वारा नेपाल र भारतका मात्रै मुस्लिम धर्माम्बली बोलाउने जनाइए पनि विश्वका विभिन्न देशबाट मुस्लिमहरु आएका कारण मन्त्रालयबाट यो कार्यक्रम नगर्न भनिएको बताए ।

गृह मन्त्रालयले कार्यक्रम स्थगन गर्ने आदेश दिएपछि सम्भावित दुर्घटना हुन नदिन प्रशासनले बोदे बर्साइन नगरपालिकाको जाँजरमा ठूलो संख्यामा प्रहरी खटाएको छ ।

बिहीबार दिउँसो ४ बजेदेखि नेपाल-भारत सीमासमेत सिल गरिएको सप्तरी जिल्ला प्रशासनले जनाएको छ ।

सप्तरीको बोदे बर्साइन नगरपालिकामा आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म यो धार्मिक सभाको आयोजना गरिने तयारी थियो । यसका निम्ति सबै तयारी पूरा भइसकेको आयोजक समितिले बताएको छ ।

सयौं बिघा जग्गा ओगटेको धार्मिक सभा (इज्तेमा स्थल) मा हजारौंको संख्यामा मानिस अटाउने क्षमताको पण्डाल बनाउने काम अन्तिम चरणमा पुगेको छ । विशिष्ट अतिथिहरूलाई बस्न समेत केही थप पण्डालको निर्माण गरिएको छ ।

कार्यक्रमस्थलमा दुुई हजारको संख्यामा अस्थायी शौचालय निर्माण भएको छ भने पण्डालको चारैतिर सहज आवत-जावतका लागि अस्थायी सडकको निर्माण कार्यसमेत पूरा भइसकेको छ ।

भीडभाडको व्यवस्थापन, सुरक्षा व्यवस्था, खानेपानी तथा सरसफाइको समस्या, खानपीन तथा आवासीय समस्या, सम्भाव्य आगलागी, चोरी, स्वास्थ्य शिविर, नजिकको बोर्डरमा प्रवेश सम्बन्धी तयारी गरिसकिएको छ ।

कार्यक्रमका लागि करिब २ करोड खर्च भइसकेको आयोजकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment