Comments Add Comment

कालिका मानवज्ञानमा प्रार्थना समयमा सांगीतिक पिटी

२ फागुन, बुटवल । बिहान ९.५५ मा पहिलो घण्टी बज्छ । ५ मिनेटभित्र सबै विद्यार्थी आ-आफ्ना कक्षा कोठामा पुग्छन् । १० बजे दोस्रो घण्टी बज्छ । शिक्षकले कक्षा कोठामा विद्यार्थीको हाजिरी गरेर सक्छन् ।

१०.३ मिनेटमा तेस्रो घण्टी बज्छ । घण्टीसँगै माइकबाट संगीत पनि घन्किन थाल्छ । संगीतको धुनसँगै कक्षा कोठाबाट हुलका हुल विद्यार्थीहरु लेफ्ट राइटको तालमा लाइनवद्ध र अनुशासित ढंगमा विद्यालयको मैदानमा आइपुग्छन् ।

कक्षा शिक्षकहरुले आफ्नो कक्षाको पंक्ति (लाइन) मिलाउँछन् र आफूहरु लाइनको पछाडि उभिन्छन् । विद्यालयका खेलकुद शिक्षकले थरिथरिका वाद्यवादनको संगीतसँगै १० वटा पिटी खेलाउँछन् ।

विद्यालयकै विद्यार्थीले लेखेको ‘हाम्रो कालिका राम्रो कालिका’ गीतमा केही विद्यार्थीले मादल, खैजडी, बांसुरी, क्यासियोको संगीत भर्छन् । देशभक्तिपूर्ण गीत र संगीतको मीठो धुनमा विद्यालयका कक्षा २ देखि १० सम्मका करिब तीन हजार विद्यार्थी फुर्तिका साथ ५ मिनेट बढी पिटी खेल्छन् ।

विद्यार्थीको पिटी सैनिक र प्रहरीको ठूलो पल्टनको झल्को दिने गरी अनुशासित, लयवद्ध र मिलेको हुन्छ । पिटी सकिएपछि राष्ट्रियगान बज्छ ।

विद्यार्थी र शिक्षकले पनि अनिवार्य गाउँछन् । त्यसपछि कुनै विद्यार्थीले देश-विदेशका प्रमुख घटना सम्बन्धी समाचार वाचन गर्छन् । प्रधानाध्यापकले त्यस दिन कुनै कार्यक्रम भए जानकारी गराउँछन् ।

१२ मिनेट भित्र यी सबै क्रियाकलाप सकिन्छ । र विद्यार्थीहरु फेरि पंक्तिवद्ध भएर कक्षा कोठामा पुग्छन् । कुनै एउटा कक्षाका विद्यार्थीले विद्यालय परिसर सरसफाइ गर्छन् र उनीहरु पनि कक्षामा पुग्छन् । अनि संगीतको धुन बन्द हुन्छ ।

यो दृश्य बुटवलको कालिका मानवज्ञान मावि बुटवलमा बिहानको प्रार्थना समयमा हरेक दिन देख्न सकिन्छ । प्रार्थना समयमा पुग्ने जो कोही संगीत सहित पिटी खेलाएको देखेर रोमाञ्चित हुन्छन् ।

विद्यार्थी संख्या र शैक्षिक नतिजामा मुलुककै सर्वोत्कृष्ट कालिका मानवज्ञान माविले प्रार्थना समयमा विद्यार्थीलाई सांगीतिक पिटी खेलाउने नौलो अभ्यास सुरु गरेको हो ।

पाठ्यक्रममै पिटी समावेश भए पनि अधिकांश विद्यालयले नियमित खेलाउँदैनन् । संगीतसहितको पिटी त सामुदायिक विद्यालय कसैले पनि नखेलाएका विद्यालयका प्रधानाध्यापक घनश्याम पाठक बताउँछन् ।

विद्यार्थीको सिकाइलाई लक्षित गरेर नै सांगीतिक पिटी सुरु गरेको उनले बताए । ‘कक्षा कोठामा जानु अघि संगीतका माध्यमबाट विद्यार्थीको ‘मुड फ्रेस’ गराउन ‘सांगीतिक पिटी सुुरु गरिएको उनले बताए ।

‘संगीतले जो कसैको मुड फ्रेसस बनाउँछ, पिटीले विद्यार्थीको शारीरिक ब्यायाम र तन्दुरुस्तीसंगै पढाइप्रति रुचि बढाएको छ,’ पाठकले भने, ‘विद्यार्थीमा ऊर्जा, सकारात्मक सोच र अनुशासन पनि सिकाएको छ ।’

करिब चारहजार संख्या भएर पनि विद्यार्थीहरु अनुशासनमा रहेका र सिकाइमा सकारत्मक प्रभाव पारेको पाठकले बताए ।
घरबाट फरक-फरक मुड र वातावरणबाट आउने विद्यार्थीहरु संगीतसहितको पिटीले सबैलाई खुशी र उर्जाशील बनाउने सांगीतिक पिटीका अभियान्ता खेलकुद शिक्षक हरिश वलीले बताए ।

सांगीतिक पिटीले विद्यालयमा आउने वित्तिकै रमाइलो वातावरण, शरीर फुर्तिलो र दिनभर पढाइप्रति रुचि हुने गरेको कक्षा ८ की छात्रा प्रतिमा भण्डारीले बताइन् ।

मानसिक रुपमा सांगीतिक पिटीका लागि विद्यार्थीलाई सिकाएर छुट्टै ब्याण्ड तयार गरिएको उनले बताए । शिक्षकको अनुपस्थितिमा विद्यार्थीले नै पिटी खेलाउन सक्ने उनले बताए ।

कालिका मानव ज्ञानले सुुरु गरेको सांगीतिक पिटीको सकारात्मक प्रभाव थाहा पाएर हालसम्म विभिन्न प्रदेशका करिब सय वटा स्थानीय तह अवलोकन गर्न आइसकेको शिक्षक वलीले बताए ।

अहिले बुटवलका कान्ति र नवीन औद्योगिक माविले पनि सांगीतिक पिटी अनुशरण गर्न थालेका र प्रदेशका थुप्रै विद्यालयबाट प्रशिक्षण दिन माग आएको प्रधानाध्यापक पाठकले बताए ।

विद्यालयले उत्कृष्ट शैक्षिक गुणस्तर कायम राख्न शिक्षकलाई अनिवार्य मुस्कानसहितको अध्यापन,विद्यार्थीले प्रश्न सोध्दा रिसाउन, झर्किन नपाइने,शिक्षकको हाजिरी र मूल्याङकन हरेक कक्षामा विद्यार्थीले गर्ने, शिक्षकले कक्षा कोठामा शैक्षिक सामग्री अनिवार्य लानुपर्ने जस्ता विद्यार्थी केन्द्रीत शिक्षण विधि अपनाएको छ ।

गत वर्ष कालिका र मानव ज्ञान मावि मर्ज भएपछि यो विद्यालय देशशभरका सामुदायिक विद्यालय मध्ये सबै भन्दा धेरै विद्यार्थी संख्या भएको विद्यालय बनेको छ ।

विद्यालयको कालिकानगरस्थित सेक्टर १ र रामनगरस्थित सेक्टर २ भवनमा गरी कक्षा १० सम्म तीन हजार ६ सय ३३ विद्यार्थी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment