 
																			२ फागुन, विराटनगर । विराटनगरका दिलीप धाडेवाले डेढ महिनाअघि विराटनगरमा १० रुपैयाँमा खाना खुवाउने अभियान सुरु गर्दा धेरैले प्रश्न गरेका थिए के यसलाई निरन्तरता दिन सम्भव छ ?’
उनको एउटै मात्र जवाफ हुन्थ्यो, ‘ईश्वरको कृपाले सम्भव हुन्छ ।’ धाडेवासहित चारजना मिलेर अन्नपूर्ण सेवा सदन मार्फत सुरु गरेको सस्तो खाना खुवाउने अभियानमा अहिले दाताको भीड नै लागेको छ ।
त्यसैले १० रुपैयाँमा खाना खुवाउने अभियान अगाडि बढाउन उनीहरुलाई सहज छ । अभियानकर्मी धाडेवाका अनुसार एक वर्षसम्म अभियान सञ्चालन गर्न पर्याप्त दाता भेटिएका छन् । ‘वर्षमा ३६५ दिनका लागि ३६५ जना नै सहयोग गर्न तयार छन् अब कसैले सहयोग गर्न चाहेमा अर्को वर्षका लागि नाम दर्ता हुनेछ’, उनले भने ।
विराटनगर महानगरपालिकाको मेनरोडस्थित जैन भवन छेउमा अहिले सर्वसाधारणदेखि सम्पन्न व्यक्तिसम्मले १० रुपैयाँ तिरेर खाना खाने गरेका छन् ।
दैनिक एक सय किलोग्राम चामल र तीन सय किलोग्राम तरकारी पाक्ने यहाँ एक हजार जनाले खाना खाने गरेका छन् । हरेक दिन फरक फरक तरकारी पकाइने यहाँको तरकारीमा लसुन र प्याज भने हालिदैन ।
होटलमा धेरै पैसा तिरेर खान नसक्ने गरीब, मजदुरलगायतलाई लक्षित गरी १० रुपैयाँमा भात र तरकारी खुवाउने उद्देश्यले अभियान सुरु भएको थियो ।

पैसा भएर पनि तातो र ताजा खाना नपाउनेहरूलाई यो अभियानले तानेको छ । यहाँ १० रुपैयाँमा भरपेट खाना र ३० रुपैयाँमा होम प्याकिङको व्यवस्था रहेको छ ।
खाना सस्तो भए पनि स्वाद र गुणस्तरमा पनि ध्यान दिएको पाइएको नियमित खाना खादै आएका कटहरीका सिटी सफारी चालक राजकुमार राजवंशीले बताए ।
हरेक दिन बिहान ११ बजे खाना खाने समय तोकिएको छ । एघार नबज्दै स्टल वरपर भीड लाग्ने गरेको छ । भीडलाई व्यवस्थित गर्न टोकन प्रणाली सुरु गरिएको छ ।
क्याटरिङ सहयोगी तिरुपति क्याटरिङमार्फत खाना खुवाउने अभियानमा स्थानीय नन्दु तपडिया, युवा उमेश यादव र मोहम्मद कादिरले पनि सहयोग गरिरहेका छन् ।
यो अभियानमा सहयोगका लागि दैनिक २० भन्दा बढी मानिस खटिने गरेका छन् । सस्तो खानाको चर्चा निकै चलेपछि सर्वसाधारणदेखि उच्च वर्गका मानिसहरू पनि त्यहाँ खाना खान र सहयोग गर्न उत्सुक देखिएका छन् ।
‘हाम्रो अभियान भोकमारी र कुपोषणविरुद्ध हो’,अभियन्ता धाडेवाले भने, ‘सम्पन्न वा जुनसकै तहको मानिस भए पनि खाना खानका लागि १० रुपैयाँ तिर्नै पर्छ,’ उनले भने, ‘हामी भरपेट खाना दिन्छौं, तर निःशुल्क खाना खान कसैलाई छुट छैन ।’
दाताहरुले आफ्नो जन्मदिनलगायतका विशेष अवसर पारेर सहयोग गर्ने गरेका छन् ।
****
अभियन्ता धाडेवाका अनुसार एक दिन खाना खुवाउन चाहनेले ४१ हजार रुपैयाँ सहयोग गर्नुपर्ने हुन्छ ।
चामल, तरकारी, भाडावर्तन, पकाउने ग्यास र भान्सेको खर्चको व्यवस्थापन भात बेचेको पैसा र सहयोगीले दिएको रकमबाट हुँदै आएको छ ।
विराटनगरमा प्रभावकारी देखिएपछि झापाको दमक र सुनसरीको इटहरीमा पनि १० रुपैयाँमा खाना खुवाउने अभियान चलेको छ ।
अभियन्ता धाडेवाले गरिबी र भोकमारीविरुद्ध मुख्य शहरहरुमा १० रुपैयाँमा सस्तो खाना अभियान चलाउने योजना रहेको बताए ।
विराटनगर महानगरपालिकाले भवन उपलब्ध गराए ४० रुपैयाँमा खाना र बासको ब्यवस्था गर्न सकिने धाडेवाले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4