Comments Add Comment

लुक्ला विमानस्थलबाट हेलिप्याड सार्न सिफारिस

२ फागुन, काठमाडौं । लुक्ला विमानस्थलबाट हेलिप्याड अन्यत्रै सार्न सिफारिस गरिएको छ । १ वैशाख २०७६ मा लुक्लामा भएको समिट एयरको जहाज दुर्घटनासम्बन्धी छानविन आयोगले तयार पारेको फाइनल प्रतिवेदनले उक्त सिफारिस गरेको छ ।

आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई कार्यान्वयनका लागि दिएको सुझावमा सम्भव भएसम्म लुक्ला विमानस्थलबाट हेलिप्याड अन्यत्रै सार्न सिफारिस गरिएको छ ।

त्यसका लागि सम्भाब्यता अध्ययन गर्न प्राधिकरणका नाममा सुझाव दिइएको छ । वैशाखमा भएको दूर्घटनाको आयोगले गत भदौमा प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो ।

उक्त प्रतिवेदन अनुसार को-पाइलटको कमाण्डमा रहेको जहाजमा पाइलटले समयमै उचित निर्णय लिन नसकेपछि दूर्घटना भएको उल्लेख छ । आयोगले प्राधिकरणलाई छोटो धावनमार्ग रहेका विमानस्थलमा हवाई सुरक्षाका लागि छुट्टै प्रावधान बनाएर लागु गर्न र उडान अनुशासनलाई कडाईका साथ पालना गराउन समेत सुझाव दिएको छ ।

छोटो र साँघुरो धावनमार्गमा जहाजका दुबै इन्जिनलाई कन्ट्रोल गर्ने पावर लिभरको सहित तरिकाले सञ्चालन गर्न नसक्दा जहाज दूर्घटनामा परेको हो । यदी फराकिलो क्षेत्र भएको भए दूर्घटना टर्न सक्ने बताइएको छ ।

समिट एयरको एन-एएमएच-एलइटी४१ जहाज लुक्ला विमानस्थलको धावनमार्गबाट चिप्लएपछि हेलिप्याडमा पुगेको थियो । जहा दुई वटा हेलिकोप्टर रहेका थिए । जहाजले मनाङ र श्री एयरको हेलिकोप्टरलाई किचेको थियो ।

घटनामा को-पाइलट र ग्राउण्डमा रहेका दुई सुरक्षाकर्मीको ज्यान गएको थियो । खासगरी छोटो धावनमार्ग भएका विमानस्थलमा कसरी जहाजलाई उचित तरिकाले नियन्त्रण गर्ने भन्ने सीप र त्यसलाई बेलैमा उपयोगमा ल्याउन नसक्दा दुर्घटना भएको निष्कर्ष छानविन आयोगको छ ।

दुर्घटना पछि जहाजहरुमा आगो नलागेका कारण थप क्षति भने हुन पाएको थिएन । आयोगले एटीसी र जहाजमा भएको कुराकानीको सबै रेकर्ड सुरक्षित राख्ने क्षमता बढाउन समेत प्राधिरकरणलाई सिफारिस गरेको छ । समिट एयरका नाममा आयोगले आफ्नो क्याविन क्रूहरुलाई छोटो धावनमार्ग भएका विमानस्थलमा हुने उडान-अवतरणबारे पर्याप्त प्रशिक्षित गर्न सुझाव दिइएको छ ।

लुक्ला हिमाली भेगको सबैभन्दा व्यस्त विमानस्थल हो । यहाँ जहाज र हेलिकोप्टरको उत्तिकै चाप हुने गर्छ । सोहीकारण कुनै एक वायुयानका कारण अन्य वायुयानमा असर नपुगोस भनी हेलिकोप्टर सार्ने सम्बन्धमा सम्भाब्यता अध्ययन गर्नुपर्ने आयोगको सिफारिस रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment