Comments Add Comment

सूर्य थापालाई बर्खास्त गर्न सांसद् सुदन किरातीको माग

‘राँची लानुपर्नेलाई सल्लाहकार बनाएर प्रधानमन्त्रीले महागल्ती गर्नुभो’

३ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा भोजपुर जिल्लाका प्रतिनिधिसभा सदस्य सांसद् सुदन किरातीले सूर्य थापालाई प्रेस सल्लाहकार बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीले महागल्ती गरेको टिप्पणी गरेका छन् । साथै उनले थापालाई जिम्मेवारीबाट मुक्त गर्न पनि माग गरेका छन् ।

जनयुद्ध दिवस अर्थात् फागुन १ गतेको एक टेलिभिजनसँगको अन्तर्वार्तामा जनयुद्धको महिमा गाउन र जनयुद्ध दिवस मनाउनका लागि पार्टी एकता नगरेको अभिव्यक्ति थापाले दिएका थिए ।

शनिबार बिहान राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रमबाट किरातीले थापालाई त्यसको जवाफ फर्काउँदै कारबाही गर्ने माग गरेका छन् । उनले भने– यो त अति भयो । त्यसो भए जनतालाई ढाँटेर प्रधानमन्त्रीको श्रीपेच लगाई राष्ट्रको शोषण गर्न मात्र पार्टी एकता गरेको हो ? जनयुद्धको स्वामित्व नलिने तर जनयुद्धले ल्याएको गणतन्त्र नेपालको बालुवाटारमा बसेर हुँकार छोड्ने ?’

किरातीले जनयुद्ध स्वीकार गर्न नसक्ने भए पार्टी फुटाउन पनि थापालाई चुनौती दिए । ‘सूर्य थापा मालिक र जनता दास हो ? जनयुद्धलाई इन्कार गर्ने हो भने सूर्य थापाले पार्टी फुटाएर देखाए हुन्छ’, उनले भने, ‘सूर्य थापासँग मात्र होइन, अब यो विषय पार्टी र प्रधानमन्त्रीसँग पनि जोडिन्छ ।’

राँची लानुपर्ने मान्छेलाई सल्लाहकार बनाएर प्रधानमन्त्रीले गल्ती गरेको भन्दै उनले मार्फी माग्नुपर्ने बताए ।

त्यसो नगरे देश, सरकार र पार्टीले गम्भीर क्षति व्यहोर्ने भन्दै उनले अति नगर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment