Comments Add Comment

‘ए’ डिभिजन लिग : आर्मीलाई बराबरी पर्याप्त, मछिन्द्रले जित्नैपर्ने

३ फागुन, काठमाडौं । त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग ०७६ अन्तर्गतको अन्तिम खेलमा शनिबार दशरथ रंगशालमा भिड्दैछन् ।

यी दुईको खेल हुनुअघि दुवैको यसअघिका एक सिजनको लिगलाई सम्झिनै पर्छ ।

०६१ देखि ‘ए’ डिभिजन लिगमा डेब्यु गरेको आर्मी ०६३ मा पनि उपाधि नजिक पुगेको थियो। लिगको अन्तिम खेलमा आर्मीले पुलिसँग खेल्नु थियो । उक्त खेल जितेमा बराबरी गरेमा मात्र पनि आर्मी च्याम्पियन बन्ने थियो । तर आर्मी पुलिससँग पराजित भयो र उपाधिबाट बन्चित रह्यो ।

यस्तै, अघिल्लो सिजनलाई सम्झनुपर्छ । त्यो रेलिगेसनबिनाको लिग थियो । ‘ए’ डिभिजन लिगमा अन्तिममा रहेका कुनै क्लब रेलिगेसनमा परेनन् । त्यसको फाइदा उठाउनेमध्ये एक क्लब थियो, मछिन्द्र क्लब । १४ क्लब सहभागी लिगमा मछिन्द्र १३ औं र एनआरटी १४ औं स्थानमा थियो । तर एन्फाले रेलिगेसनको व्यवस्था लागू गरेन र अर्को सिजनका लागि अन्तिम दुईमा रहने टिमले १ र २ अंक गुमाउने निर्णय गर्‍यो। त्यसैअनुसार मछिन्द्रले यस सिजन १ अंक ऋण तिरेको छ ।

आर्मी समान अंक जोडे पनि त्यही ऋण तिर्दा मछिन्द्र १ अंकले पछि छ । हुन त धेरैले अझै पनि मछिन्द्र उपाधि नजिक पुगेको खुसीभन्दा गत वर्ष रेलिगेसन नपरेकोमा धेरै दुःख व्यक्त गरिरहेका छन् । यदि यस सिजनमा मछिन्द्र अन्तिम खेलमा आर्मीसँग बराबरी खेलेमा १ अंकले पछि पर्नेछ र उपाधिबाट बन्चित हुनेछ। यहाँनेर त्यो १ अंकको महत्त्व कति छ भन्ने थाहा हुनेछ ।

अहिले १२ खेलबाट आर्मी १९ अंकसहित शीर्ष स्थानमा छ भने २८ अंकसहित मछिन्द्र दोस्रोमा छ। दुवैको अहिलेसमम्को नतिजा थियो, ९ जित २ बराबरी १ हार । समान २९ अंक भए पनि ऋणबाट मछिन्द्रले १ अंक गुमायो ।

अब अर्को प्रसंग, मछिन्द्र गत सिजन १३ औं भयो यस सिजन उपाधि दाबेदार बन्यो कसरी भन्ने लाग्ला । मनाङ मर्स्याङ्दी क्लब र थरी स्टार क्लब नेपाली घरेलु फुटबलका दुई चर्चित क्लब हुन् । उपाधिको जहिल्यै दाबेदार । अनि मनाङ साविक विजेता । त्यही मनाङले लिग जित्दाका कप्तान विराज महर्जनसहित मनाङका नाम चलेका खेलाडीहरू अनि थ्री स्टारका पनि केही खेलाडी यस सिजन मछिन्द्रले भित्र्यायो । यस्तै दुवै क्लबका एक–एक विदेशी खेलाडी पनि भित्रायो ।

मछिन्द्रले दुई क्लबबाट मात्रै ११ भन्दा बढी खेलाडी भित्र्याएर टिम बलियो बनायो । जसको लागि १ करोड खर्च गरेको क्लबले जनाएको छ । एक मात्र लक्ष्य उपाधि जित्ने बनायो । लिग दौरान मनाङविरुद्धकै खेलमा मुक्का हानाहानसम्म भयो। मनाङका ३ र मछिन्द्रका ३ खेलाडी निलम्बनमै परे । मछिन्द्रले मनाङसँग २–२ को बराबरी खेल्दा थ्री स्टारलाई पराजित गर्‍यो ।

अब प्रसंग आर्मीको । दशकअघि आर्मी अन्तिम खेल हार्दा उपाधि नजिकै पुगेर टाढा बनेको थियो। ठीक त्यस्तै अवस्था यसपटक पनि आएको छ । आर्मीले अहिले भने राम्रोसँग बुझेको छ, लिगको उपाधि कति महत्त्वपूर्ण छ भनेर ।

यही मछिन्द्र र आर्मी लिगको अन्तिम खेलमा शनिबार खेल्दैछन् । खेल दशरथ रंगशालमा दिउँसो २ बजे शुरु हुनेछ ।

यसै खेलबाट नेपाली लिगले नयाँ च्याम्पियन टिम पाउनेछ ।

दुवै टिम तयार

विराज महर्जन र भरत खवास एन्फा एकेडेमीका एउटै ब्याचका खेलाडी हुन् । एन्फाका तेस्रो ब्याचका यी दुईले राष्ट्रिय टिममा पनि एक दशक सँगै खेले । यिनै दुई खेलाडी शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधिका लागि शनिबार भिड्दैछन् । राष्ट्रिय टिमका कप्तान रहिसकेका विराज मछिन्द्रको र भरतले आर्मीको नेतृत्व गर्नेछन् ।

राष्ट्रिय टिमबाट खेल्दा रुममेट रहेका खेलाडी अहिले उपाधि भिडन्तमा प्रतिस्पर्धा गर्न लाग्दा विराज रोमाञ्चित छन् ।

शुक्रबार एन्फाले आयोजना गरेको प्रिम्याच कन्फ्रेन्समा यीनै दुई कप्तानसहित दुवै टिमका प्रशिक्षकले अन्तिम खेलको लागि तयार रहेको र उपाधि जित्ने नै लक्ष्य रहेको सुनाए ।

विराज र भरतजस्तै आर्मीका प्रशिक्षक नवीन न्यौपाने र मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल पनि एकै पुस्ताका खेलाडी हुन् । दुवैले सँगै खेले ।

शनिबाुर दशरथ रंगशालमा मैदान उत्रँदा जीवन र भरत भर्सेस प्रवेश र विराज हुनेछ । उनीहरुलाई आ–आफ्नो टिमका अन्य खेलाडीले साथ दिनेछन् ।

आर्मी एक अंकले अगाडि रहेकाले उसलाई अलिकति फाइदा छ । तर प्रशिक्षक नवीन न्यौपानेले जितकै लागि खेल्ने बताए ।

‘हामीलाई बराबरीले पनि हुन्छ। तर हामी जित्नकै लागि खेल्छौं,’ न्यौपानेले भने, ‘हामी इतिहास रच्ने दाउमा छौं । मछिन्द्र राम्रो टिम हो । तर, हाम्रो टिम वर्क राम्रो छ । हाम्रो बलियो पक्ष स्पिड र पावर खेल हो । अट्याकिङ खेल खेल्छौ ।’

उनले आर्मीले अहिलेसम्म लिग नजिकोले योपटक राम्रो अवसर रहेको बताए । ‘हामीले अहिलेसम्म लिग जितेका छैनौं। योपटक अवसर छ’, न्यौपानेले भने हामी दबाव लिएर खेल्दैनौं । हामीलाई एउटा मौका आएको छ । सदुपयोग गर्न चाहन्छ,’ प्रशिक्षक न्यौपानेले भने ।

आर्मीका कप्तान भरत खवास पनि टोलीलाई ऐतिहासिक उपाधि दिलाउन तयार छन् । त्यसैले उनले मछिन्द्रविरुद्ध जितबाहेक अन्य विकल्प सोचेका छैनन् । ‘लिगको उपाधि जित्न सकेका छैनौं। त्यसैले हाम्रो लागि महत्त्वपूर्ण खेल हो । भोलिको दिन खास हुनेछ । त्यसैमा केन्द्रित छौं,’ भरत भन्छन्, ‘मछिन्द्रसँग अनुभवी र राम्रो विदेशी खेलाडी छ । मछिन्द्र बलियो छ । तर, जितबाहेक अन्य विकल्प छैन । बराबरीबारे सोचेका छैनौं ।’

आर्मीभन्दा बढी मिहिनेत मछिन्द्रले गर्नुपर्नेछ । पहिलोपटक लिग जित्ने लक्ष्यमा रहेको मछिन्द्रको लागि त जितको अर्को विकल्प छैन । प्रशिक्षक प्रवेश कटुवाल र कप्तान विराज महर्जनले पनि यो बुझेका छन् । विराजले त गत सिजन मनाङ मर्स्याङ्दीबाट कप्तानकै रुपमा लिग जितेका थिए । यस पटक उनीसँगै केही खेलाडी मछिन्द्र पुगेका थिए र त्यहाँ पनि लिग जित्न चाहन्छन् ।

मछिन्द्रका प्रशिक्षक प्रवेशले लिगको सुरुवातदेखि च्याम्पियन लक्ष्य राखेकोले आर्मीविरुद्ध पनि जित्नकै लागि खेल्ने बताए । ‘पक्कै पनि लिगमा हाम्रो तयारी च्याम्पियन बन्ने थियो । भोलि जित्नकै लागि खेल्नेछौं,’ प्रवेशले भने, ‘आर्मीविरुद्ध थोरै मौका पाउने छौं । त्यसलाई सदुपयोग गर्नु पर्छ ।’

उनले ट्रफी उचाल्न खेल जित्नै पर्ने बताए । ‘आर्मीसँग जित्नै पर्ने दबाव छ । यसको विकल्प छैन । आर्मीलाई बराबर भए पुग्छ,’ उनले भने, ‘आर्मी राम्रो टिम हो र गोल गर्न गाह्रो छ । तर पनि हामी च्याम्पियनको लागि खेल्छौं । आर्मीलाई बराबरीको अवसर छ । त्यसको फाइदा हामी लिन्छौ ।’

मछिन्द्रका कप्तान विराज महर्जनले पनि जितकै एकमात्र विकल्प रहेको बताए । ‘आर्मीलाई भन्दा हामीलाई महत्त्वपूर्ण खेल छ । जितबाहेक दोस्रो विकल्प हामीलाई छैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment