Comments Add Comment

अभिनयमा प्रशंसा पाउने विपिनको चलचित्र हेर्न किन हल पुग्दैनन् दर्शक ?

अभिनेता विपिन कार्कीलाई भर्सटाइल अभिनेताको रुपमा चिनिन्छ । हरेक चलचित्रमा आफूलाई फरक अवतारमा प्रस्तुत गर्न सफल छन्, विपिन ।

उनको डेब्यु चलत्रित्र ‘छड्के’देखि ‘पशुपति प्रसाद’, ‘जात्रा’, ‘हरि’, ‘नाका’, ‘प्रसाद’, ‘गोपी’ हुदैँ ‘सेल्फी किंग’सम्म आइपुग्दा विपिनका धेरै अवतारहरु दर्शकले देखिसकेका छन् । धेरैले उनको लुक्स र अभिनयको तारिफ गर्छन् ।

तर, विपिनको कामको प्रशंसक धेरै भएपनि हलमा पुग्ने दर्शक भने कमै छन् । धेरैले आफू विपिनको कामको फ्यान भएको बोल्छन् । तर, हलसम्म पुगेर टिकट काट्ने दर्शक न्युन छन् । जसको नतिजा, एकाध चलचित्रलाई बिर्सिँदा उनका चलचित्रहरु असफल छन् ।

पछिल्लो समय रिलिज भएको चलचित्र ‘सेल्फी किंग’मा पनि विपिनको कामले तारिफ पायो । धेरैले विपिनको कामलाई उत्कृष्ट भएको प्रतिकृया दिए । तर, चलचित्रले हलमा दर्शक पाएन । प्रदर्शनरत यस चलचित्रको व्यापारिक हालत निकै कमजोर छ ।

त्यसै फरक प्रयोगमा बनेको चलचित्र हरि, नाका जस्ता चलचित्रमा विपिनको लुक्स फरक थियो । आर्ट चलचित्रमा विपिनको कामको धेरैले प्रशंसा गरे । तर, यी दुबै चलचित्रले हलमा पानी समेत भन्न पाएको थिएन । गोपी चलचित्रबाट पनि विपिनको हालत उस्तै भयो ।

किन हलसम्म पुग्दैनन प्रशंसक ?

विपिनलाई भने आफ्नो चलचित्रले दर्शक नपाएको कुरालाई खासै मतलब गर्दैनन् । उनी भन्छन्, ‘मलाई त त्यस्तो लाग्दैन । पुगिरहनु पनि भएको छ जस्तो लाग्छ मलाई छ । उहाँहरुले मेरो कामलाई हेरेर नै मलाई प्रशंसा गर्नुभएको हो ।’

विपिन आफूलाई कति दर्शक आए भन्ने पक्षमा कुनै जानकारी नहुने बताउँछन् । उनले थपे, ‘मेरो काम भनेको छायांकनको समयमा मेहनत गरेर राम्रो काम गर्ने हो । रिलिजअघि प्रचार–प्रसारमा हिँड्ने हो । त्यसपछि कति दर्शक आए, के भयो भन्ने विषयमा मलाई उत्ति चासो हुन्न ।’

आफूले गरेको कामलाई धेरै दर्शकले हेरोस् भन्ने चाहाना विपिनमा पनि नभएको होइन । तर, दर्शकलाई जवरजस्ती तानेर हलमा लाने काम विपिनको होइन । युट्युबमा ट्रेलर वा पूराना चलचित्रहरु हेरेर पनि विपिनको प्रशंसा गर्नेहरु धेरै छन् ।

विपिन यस कुरालाई स्वीकार्छन् पनि । उनले भने, ‘अब युट्युबमा मात्रै हेर्ने दर्शकहरु पनि हुनुहुन्छ । त्यहीँबाट मेरो कामलाई मन पराउनेहरु हल पुग्नु हुन्न होला । त्यसको लागि युट्युब नै बन्द गर्ने भन्ने त नहोला नि ।’

निर्देशक प्रदीप भट्टराई अहिले कलाकारले भन्दा पनि चलचित्रको विषयबस्तुले दर्शकलाई हलसम्म तान्ने अवस्था रहेको बताउँछन् । उनले भने, ‘अहिले कलाकारलाई मात्रै हेर्छु भनेर हल पुग्ने दर्शक कमै हुनुहुन्छ । चलचित्रको विषयबस्तु राम्रो छ भने मात्र दर्शकले उक्त चलचित्र हेर्नुहुन्छ । त्यसैले दर्शक हल नपुग्नुमा कलाकारको दोष हुन्न ।’

अभिनय र आफूले पाएको भूमिकालाई न्याय गर्न विपिन ‘नम्बर १’ नै भएको प्रदीप बताउँछन् । जात्रा र जात्रै जात्रामा सहकार्य गरेका प्रदीप भन्छन्, ‘उहाँलाई दिएको भूमिकालाई न्याय गर्न उहाँले कुनै कसुर बाँकी राख्नु हुन्न । नेचुरल एक्टिङको लागि त उहाँ नम्बर १ नै हो ।’

दर्शक हल नआउनुको कारण निर्माण पक्ष पनि भएको उनको बुझाई छ । ‘मैले विपिनलाई के कामको लागि चलचित्रमा लिए भन्ने कुरामा निर्माण पक्षले निधो गर्नुपर्छ । अनि चलचित्रको प्रचार–प्रसारमा पनि ध्यान दिनुपर्छ । अनि मात्र दर्शक हल पुग्नेछन् ।’

त्यस्तै चलचित्र ‘गोपी’मा सहकार्य गरेका निर्देशक दीपेन्द्र लामा विपिनले फरक जनराको चलचित्रका काम गर्ने भएकाले दर्शक पाएका छैनन् । उनले भने, ‘विपिनले काम गर्ने चलचित्र चलिरहेका चलचित्र भन्दा फरक हुन्छन् । त्यस्तो चलचित्रमा मास दर्शक हुदैँनन । त्यनसैले दर्शक कम भएका हुन् ।’

यदि यस्तो चलचित्रलाई राम्रोसँग प्रचार गर्न सके राम्रै दर्शक पाउने दीपेन्द्रको बुझाई छ । उनले थपे, ‘चलचित्र जस्तो भए पनि त्यसको प्रचार प्रसार भएन भने सफल हुन्न । त्यसैले चलिरहेको चलचित्रभन्दा फरक धारमा रहेर चलचित्र बनाइन्छ भने सोही अनुसारको प्रचार जरुरी हुन्छ । राम्रो प्रचार भए दर्शक पाउनेमा शंका छैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment