Comments Add Comment

व्यक्तिले हडपेको जग्गामा मन्त्रीले गाडिन् साइन बोर्ड

४ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकामा व्यक्तिले हडपेको सरकारी जग्गा सरकारको मातहत ल्याइएको छ । महानगरको वडा नम्बर ३१ स्थित सहयोगी नगरमा रहेको १७ रोपनी जग्गा सरकारले आफ्नो माताहत ल्याएको हो ।

उक्त जग्गामा आइतबार भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले आइतबार ‘सरकारी जग्गा’ लेखिएको साइनबोर्ड गाडेकी छन् । बोर्ड राख्दै मन्त्री अर्यालले व्यक्तिको जग्गा सरकार मातहत ल्याउने कामकाे थालनीमात्र भएको बताइन् । ।

बोर्ड राख्ने क्रममा केही स्थानीयले विरोध समेत गरेका थिए । स्थानीय बसन्तबहादुर खड्काले उक्त जग्गा आफ्नो नाममा भएको भन्दै लालपूर्जाको प्रतिलिपि समेत मन्त्री अर्याललाई देखाए । मन्त्री अर्यालले पनि नेपाल सरकारको नाममा भएको प्रमाणको फाइल देखाएर सरकारी जग्गा कसैले आफ्नो भनेर नहुने बताइन् ।

‘यो नेपाल सरकारको जग्गा हो, मालतपोतको ढड्डामा नै सरकारी जग्गा छ’ उनले भनिन्, ‘कुनै व्यक्तिले दावी गरेर हुँदैन ।’ मन्त्री अर्यालले सरकारी जग्गा आफ्नो मातहतमा ल्याउन कुनै कसर नराखिने समेत बताइन् ।

मन्त्री अर्यालले काठमाडौंको वडा नम्बर १० र २६ मा समेत त्यस्तो जग्गा रहेको जानकारी दिइन् । उनले आइतबार नै त्यस ठाउँमा समेत सरकारी जग्गा हो भनेर बोर्ड राखिने बताइन् ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment