Comments Add Comment

स्ववियू चुनाव अनिश्चितकालका लागि स्थगित

६ फागुन, काठमाडौं । यही फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन -स्ववियु) निर्वाचन त्रिभुवन विश्वविद्यालयले अनिश्चितकालका लागि स्थगित गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले मंगलबार आफू मातहतका सम्पूर्ण क्याम्पसहरुलाई परिपत्र गरी स्ववियु निर्वाचन स्थगित गरिएको जानकारी दिएको हो ।

त्रिविअन्तर्गत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले गरेको परिपत्रमा ‘विशेष कारणबस’ स्ववियु निर्वाचन कार्यक्रम स्थगित भएको उल्लेख छ ।

हालै नेतृत्व पाएको नेपाल विद्यार्थी संघ (नेबिसंघ) ले स्ववियु निर्वाचन तयारीका लागि त्रिविसँग केही समय माग गरेको थियो । नेकपासम्बद्ध अनेरास्ववियू पनि नेबिसंघको मागमा सकारात्मक थियो । १४ फागुनमा निर्धारित स्ववियु निर्वाचन स्थगित हुनुको कारण त्यही ठानिएको छ ।

यद्यपि नेबिसंघ अध्यक्ष राजिव ढुंगाना भने त्रिविको रेक्टर पद रिक्त रहेकाले स्ववियु निर्वाचनमा विलम्ब भएको दाबी गर्छन् । उनले भने, ‘हामी त स्ववियु निर्वाचनका लागि तयार नै छौं, तर निर्वाचन समितिको अध्यक्ष हुने रेक्टर पद नै रिक्त रहेकाले पहिले त्यो पदपूर्ति हुनुपर्छ ।’ त्रिविमा पदपूर्ति गरी तत्काल सबै विद्यार्थी संघ-संगठनको संयुक्त बैठक बोलाएर नयाँ मिति तय गर्न उनले माग गरे ।

अनेरास्ववियूले पनि तत्काल स्ववियु निर्वाचनको नयाँ मिति तोक्न माग गरेको छ । अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले भने, ‘स्ववियु निर्वाचन अनिश्चितकालका लागि टरेको वा सरेको होइन । फागुन १४ को मिति चाहिँ सरेको छ । अब चाँडै सर्वपक्षीय बैठक बसेर विश्वविद्यालयले नयाँ मिति सार्वजनिक गर्नुपर्छ ।’

हरेक दुई-दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०७३ सालपछि हुन सकेको छैन । २०७३ सालमा भएको स्ववियु निर्वाचनको इतिहासमा पहिलोपटक २८ वर्षे उमेर हद र मिश्रति निर्वाचन प्रणाली अवलम्वन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment