
७ फागुन, काठमाडौं । समाजवादी पार्टी (सपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मातातीर्थको जग्गासम्बन्धी निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिशोध साधेर जनतामा भ्रम छरेको बताएका छन् ।
आफू प्रधानमन्त्री भएका २०६९ सालमा भएको नीतिगत निर्णयलाई अनावश्यकरुपमा उछालिएको डा. भट्टराईको दाबी छ ।
‘सत्यतथ्य नबुझी राजनीतिक प्रतिशोधको मनसायले देशको प्रधानमन्त्री केपी शर्मा ओलीले २०२६ सालमै राजा महेन्द्रले बिर्ता त्यागी रैकरमा परिणत गरेको मातातीर्थको जोताहा/मोहीको जग्गासम्बन्धी मेरो मन्त्रिपरिषदको नीतिगत निर्णयलाई उछालेर संसद र जनतालाई भ्रम छर्नु आपत्तिजनक छ’, प्रधानमन्त्री ओलीलाई मेन्सन गरिएको ट्विटमा भनिएको छ ।
‘यति होल्डिङ्सलाई सुम्पने दाउ’
प्रधानमन्त्री ओलीले गत शनिबारमा संसदमा सरकारले दुई वर्षमा गरेका कामबारे चर्चा गर्दा नेपाल ट्रस्टको जग्गा कानूनअनुसार नै भाडामा दिएको दाबी गरेका थिए । यती होल्डिङ्सको बचाउ गर्ने क्रममा उनले डा. भट्टराईको नाम उल्लेख नगरी मातातीर्थको जग्गाबारे कारवाही गर्ने चेतावनी दिएका थिए ।
सत्यतथ्य नबुझी राजनीतिक प्रतिशोधको मनसायले देशको प्रम@kpsharmaoli ले २०२६ सालमै राजा महेन्द्रले बिर्ता त्यागी रैकरमा परिणत गरेको मातातिर्थको जोताहा/मोहीको जग्गासम्बन्धी मेरो मन्त्रीपरिषदको नीतिगत निर्णयलाई उछालेर संसद र जनतालाई भ्रम छर्नु आपत्तिजनक छ।अरूमाथि हिलो छ्यापेर आफ्नो .२ https://t.co/MD6f6ed9wp
— Baburam Bhattarai (@brb1954) February 18, 2020
‘मातातीर्थस्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको करिव १७४ रोपनी जग्गामा भएको कानून विपरीत मोही काण्डको तथ्य पनि सार्वजनिक भइसकेको छ । केही ब्यक्तिलाई लाभ पुर्याउने नियतका साथ ‘नीतिगत निर्णय लिनुपर्ने अवस्था भयो’ भन्दै २०६९ साल कात्तिक २ गते यस सम्बन्धमा नेपाल ट्रस्ट ऐन २०६४ को दफा (४)को उपदफा ९२० र ९३० बिपरीत निर्णय भएको देखिन्छ’ प्रधानमन्त्रीले ओलीले संसदमा भनेका थिए, ‘जसरी ललिता निवास प्रकरणमा राज्यको सम्पत्तिमा भएको अवाञ्छित दोहनको छानविन गरी कारवाही अघि बढाइएको छ, यस काण्डको पनि सोही अनुरुप छानविन हुन्छ ।’
प्रधानमन्त्री ओलीको यो भनाइलाई डा. भट्टराईले अरुमाथि हिलो छ्यापेर आफ्नो आंगको फोहर पखाल्ने प्रयास भनेका छन् । ‘मन्त्रिपरिषदको विधिसम्मत नीतिगत निर्णयलाई काटेर कालीदासले झैं हाँगामा बसेर फेद काट्दा के हविगत हुन्छ, स्मरण गर्नु उचित होला’ भट्टराईले ट्विटमा लेखेका छन्, ‘जोताहा किसानको जमीन फेरि राजाको नाउँमा लगेर ट्रस्ट हुँदै यती होल्डिङस्लाई सुम्पने दाउ हो भने भन्नु केही छैन ।’
२०७० सालमा मालपोत कार्यालय, कलंकीले नेपाल ट्रस्ट जग्गाधनी रहेको काठमाडौंको मातातीर्थ, महादेवस्थान, थानकोट, सतुंंगल र इचंगुनारायणको १७३ रोपनी पाँच पैसा बराबरको जग्गा व्यक्ति (मोही) का नाममा कायम गरेको देखिन्छ ।
प्रतिक्रिया 4