Comments Add Comment

‘नेपाल स्टार’ विजेतालाई ३५ लाख, मुख्य प्रायोजक वाइवाइ

नेपाल टेलिभिजनले उत्पादन गर्न लागेको नयाँ गायन रियालिटी शो ‘नेपाल स्टार’लाई वाइवाइले मुख्य प्रायोजन गरेको छ । आइतबार नेपाल टेलिभिजनका लागि ‘कि एडभरटिजमेन्ट’का रविन्द्र कुमार रिजाल र वाइवाइको तर्फबाट चौधरी ग्रुपमा मेनेजर निर्वाण चौधरीबीच सम्झौता भएको छ ।

स्वदेशमा नै उत्पादन भएको रियालिटी शोमा स्पोन्सर गर्न पाउँदा खुसी लागेको चौधरी ग्रुपमा मेनेजर निर्वाण चौधरीले बताए । उनले भने, ‘युवालाई प्रोत्साहित गर्न हाम्रो ग्रुप सधै नै तयार छ । कोही कसैलाई पनि प्लेटफार्मको सिर्जना गर्न हामी पछि हट्ने छैनौँ । आशा छ, यस रियालिटी शोबाट पनि धेरै राम्रो–राम्रो संगीत प्रेमीहरुले आफूलाई स्थापित गर्नुहुनेछ ।’

कि इन्टरटेन्टमेन्टका रवीन्द्रकुमार रिजालले पनि वाइवाइले विश्वास गरेर धेरै कामहरुमा सहयोग गर्दै आएकोमा धन्यवाद व्यक्त गरे ।

यस रियालिटी शोको लागि आलोक श्री, रामकृष्ण ढकाल र अन्जु पन्त निर्णायकको रुपमा रहेका छन् । नेपाल स्टारको पहिलो चरणको अडिसन सकिएको छ । सातवटै प्रदेश र काठमाडौं गरेर ८ वटा शहरमा अडिसन लिइएको थियो ।

प्रतियोगिताको निर्णायक ढकालले फ्रेन्चाइज रियालिटी शो भन्दा नेपाल स्टार कमजोर नभएको बताए । उनले भने, ‘दर्शकले फ्रेन्चाइज शो कै लेभलमा नेपालमा नै तयार रियालिटी शो खोजिरहनु भएको थियो । त्यो अपेक्षालाई यस रियालिटी शोले पूरा गर्नेछ ।’

अन्जु पन्त र आलोक श्रीले पनि नयाँ रियालिटी शोमा निर्णायकको रुपमा रहन पाएकोमा खुसी व्यक्त गरे । अन्जु पन्तले त यो नेपालको उत्कृष्ट रियालिटी शो भएको पनि दावी गरिन् ।

यस रियालिटी शोमा ५० लाख पुरस्कार राखिएको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले बताए । उनले भने, ‘हामीले उत्कृष्ट ४ मा परेका सबैलाई पुरस्कार दिनेछौं । उत्कृष्ट चार जनाले नै जनही ५ लाख पुरस्कार पाउनु हुनेछ र, टाइटल विजेताले थप ३० लाख पुरस्कार जित्नुहुनेछ ।’

यस रियालिटी शोको प्रशारण मिति भने सार्वजनिक गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment