Comments Add Comment

रामेछाप महोत्सवमा दर्शक आए तर स्थानीय उत्पादन आएन

१३ फागुन, रामेछाप । रामेछापको कृषि, उद्योग र पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यले मन्थलीमा आयोजना गरिएको रामेछाप महोत्समा दर्शकहरुको राम्रै उपस्थिति देखिए पनि स्थानीय उत्पादन भने शून्य देखिएको छ ।

‘कृषि, पर्यटन प्रवर्द्धन गर्ने हाम्रो सान, कला संस्कृतिको जगेर्ना रामेछापको पहिचान, भ्रमण वर्ष २०२० सफल पार्ने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ फागुन ५ गतेदेखि जिल्ला सदरमुकाममा सुरु भएको १० दिने मेलाबाट स्थानीयले मनोरञ्जन बाहेक अन्य लाभ लिन सकेका छैनन् । मेलामा दैनिक २ हजारदेखि ५ हजारसम्म दर्शकहरु पुग्ने गरेका छन् ।

मेलामा राखिएका ७० भन्दा बढी स्टलमा खासै कृषि उपज र स्थानीय उत्पादन देखिदैन । स्टलहरुमा आयातित सामानहरु मात्र छन् । खाजाका परिकार बनाउने होटलहरु समेत प्रायः बाहिरका छन् ।

सबैभन्दा बढी कमाइ पिङले गरेको छ । एक पटक पिङ खेलको एक सय रुपैयाँ शुल्क लाग्ने गरेको छ । यसैगरी दैनिक जसो राष्ट्रिय कलाकारहरु आएर मनोरञ्जन दिइरहेका छन् । कलाकारहरुमा पनि आयोजकको ठूलै खर्च भएको छ ।

स्थानीय उत्पादनलाई छुटसहित स्टल व्यवस्था गरिएको भए पनि पर्याप्त स्थानीय उत्पादन मेलामा नआएको रामेछाप उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत नविन केसी स्विकार्छन् ।

उनका अनुसार घरेलु उत्पादनका ५ वटा स्टलहरु स्थानीय छन् भने आलु, माछा, चियालगायतका केही कृषि उत्पादनका स्टलहरु छन् ।

कृषि उपजलाई महोत्सवमा ल्याउनको लागि पहल गरेको भए पनि अहिले कृषि उत्पादनको बेसिजन भएकोले पनि पर्याप्त कृषि उपज प्रदर्शनीमा नआएको उनले बताए ।

जिल्लाका पर्यटकीय स्थलहरुको परिचय गराउने समेत उद्देश्य लिएको मेलामा सो कुरा भने ओझेलमा परेको छ । महोत्सवको पहिलो दिन मन्थलीदेखि सैलुङसम्म हेलिकप्टरबाट यात्रा गराइएको भए पनि मौशमी प्रतिकुलता जनाउँदै भोलिपल्टबाट हेलिकप्टर फर्किएको छ । अहिले तामकोसीको र्‍याफ्टीङले मेलामा आउनेहरुलाई मनोरञ्जन दिइ रहेको छ ।

जिल्लाका पर्यटकीय स्थलहरुको परिचय दिने खालका स्टलहरु समेत महोत्सवमा राखिएका छैनन् ।
जिल्लाका पर्यटकीय स्थलहरुको परिचय दिने स्टलहरु तथा मञ्चबाट उद्घोषण गर्दासमेत त्यस्ता स्थानहरुको परिचयात्मक कार्यक्रम राखे जिल्लाको पर्यटकीय क्षेत्रको प्रचारमा सहयोग पुग्ने नेपाल पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment