Comments Add Comment

सडक अतिक्रमण गरी बनाइएका टहरा हटाउन सुरु

१३ फागुन, विराटनगर । विराटनगर महानगरपालिकाले सडकको जमिन अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन सुरु गरेको छ ।

विराटनगर– १ परोपकार घाटमा बस्दै आएका ८ परिवारको घरटहरा मंगलबार महानगरपालिकाले डोजरको प्रयोग गरेर हटाएको हो ।

मंगलबार टहरा भत्काउने क्रममा स्थानीय बासिन्दा र टहरा भत्काउन पुगेको टोलीबीच विवाद भएको थियो । विवादका क्रममा मोरङ प्रहरीको टोली पुगेपछि टहरा भत्काइएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले महानगरको आग्रह अनुसार घर–टहरा भत्काउन प्रहरीले सुरक्षा दिएको बताए ।

उक्त स्थानको ऐलानी जमिनमा एक सय भन्दा बढी घर परिवार बसोबास गर्दै आइरहेका छन् । तर सडकभित्र बसोबास गर्दै आएका ८ परिवारलाई विराटनगर महानगरपालिकाले तीन पटकसम्म सडक खाली गराउन सूचना निकालेको थियो ।

स्थानीयले अटेर गरेपछि मंगलबार डोजर प्रयोग गरेर घर टहरा भत्काइएको विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीले जानकारी दिए ।

सो स्थानमा मोहम्मद नसिर, जमिल अन्सारी, जाकिर शेख, जहाँगिर शेख, रियाज उद्धिन शेख, मोहम्मद साहदत शेख र फारुक शेखको परिवार बस्दै आएका थिए । ३५ वर्षयता बस्दै आएको स्थानीयको दाबी छ ।

घर गुमाएकालाई बासको चिन्ता

सडक छेउमा पुराना टहरा भत्काइएपछि सडक भरी घरमा सामाग्री छरिएका छन् । ३५ वर्षयता बसोबास गर्दै आएको घर भत्किएपछि बास बस्ने चिन्ता भएको स्थानीय दसीमा खातुनले बताइन् ।

उनीसहित आठ परिवारका सामाग्री सडकमा थुपारिएका छन् । सूचना जारी गर्दा अटेर गरेको भन्दै महानगरले टहरा भत्काएपछि सुकुम्बासी परिवारको बिचल्ली भएको हो । ‘घर भत्कीयो अब कहाँ बस्नु ?,’ स्थानीय दसीमा खातुनले भनिन\, ‘अब सडकमै बस्छु ।’

उनको घरमा १० जनाको परिवार छ । घर भत्काएर महानगरले सडकमा पूर्याएको उनले बताइन् । महानगरले विकल्प नदिइकन घर भत्काएको उनको गुनासो छ ।

यता विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी बसोबास गर्ने सुकुम्बासी परिवारको बाहिर पनि जग्गा रहेको जानकारी आएको बताए । महानगरले पटक पटक सूचना निकाल्दा अटेर गरेपछि सडकको अतिक्रमित जग्गा खाली गराइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment