Comments Add Comment

भारतको हिंसामा मृत्यु हुनेको संख्या १३ पुग्यो

१४ फागुन, काठमाडौं । नागरिकता विधेयकलाई लिएर भारतमा दुई पक्षबीच मच्चिएको हिंसामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

उत्तर–पूर्वी दिल्लीमा आइतबारदेखि फैलिएको हिंसामा परी मंगलबारसम्ममा १३ जनाको मृत्यु भएको भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले पुष्टि गरेका छन् । अस्पतालमा उपचाररत केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।

स्वास्थ्यमन्त्री हर्षवर्धनका अनुसार, सोमबार ८१ र मंगलबार ६९ जना प्रदर्शनकारी घाइते भएका छन् । अस्पताल लगिएका यीमध्ये केहीको अवस्था गम्भीर छ । ४० जना भने उपचारपछि घर फर्किएको स्वास्थ्यमन्त्री हर्षवर्धनलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

भारत सरकारले ल्याएको नागरिकतासंशोधन कानुनपछि उत्तर–पूर्वी दिल्लीका बासिन्दा विभाजित भएका छन् । उनीहरू त्यसका सवल र दुर्वल पाटोको वकालत गर्दै सडकमा निस्किएका छन् । दुई समूह पक्ष र विपक्षमा उभिएपछि यसले हिंसात्मक स्वरूप ग्रहण गरेको हो । समाचार अनुसार, हिन्दू र मस्मिल समूदायबीच झडपका घटना भइरहेका छन् ।

संशोधित कानुनमा भारतसँग सीमा जोडिएका अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट धार्मिकरुपमा प्रताडित भएर भारतमा शरण लिँदै आएका हिन्दु, बौद्ध, शिख, जैन, फारसी र क्रिश्चियनलाई भारतको नागरिकता दिने उल्लेख छ । तर, यसमा मुस्लिम उल्लेख छैन । त्यसैले यो व्यवस्था विभेदकारी भएको भन्दै भारतमा विरोध भइरहेको छ । यो कानुनको पक्षमा रहेकाहरुले भने अफगानिस्तान, बंगलादेश र पाकिस्तानमा मुस्लिम समुदाय अल्पसंख्यक नभएको र सरकारबाट प्रताडित हुन पनि नपरेकाले उनीहरुलाई भारतीय नागरिकता नदिइएको तर्क गर्दै आएका छन् ।

यो कानुनको विरोध बीचमा केही मत्थरजस्तो देखिए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणको पूर्वसन्ध्यादेखि चर्किएको हो ।

भारत सरकारको नागरिकतासम्बन्धी संशोधित कानुन विभेदकारी भएको भन्दै मुस्लिम बहुल देशहरुले संयुक्त राष्ट्रसंघको ध्यानाकर्षणसमेत गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment